नेपाललाई हवाई रुट दिन भारत सहमत

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्याको गाँठो बल्ल फुक्यो


८ माघ २०७५, मंगलवार
airport 2

काठमाडौं, ८ माघ । लामो समयको विलम्वपछि भारतले नेपाललाई महत्वपूर्ण हवाइ रुट दिन सहमति जनाएको छ ।

airport 2

भारतले गौतम बुद्ध विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन सहमति जनाएको हो । आउँदो वर्षदेखि सञ्चालनको लागि तयारी भइरहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट समस्या हुने ठानिएका बेला लामो कसरतपछि हवाई रुट दिन भारत तयार बनेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्ती रविन्द्र अधिकारीले जानकारी दिएका छन् । एक मात्र हवाई प्रवेश विन्दु (एयर इन्ट्री प्वाइन्ट) हुँदा भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालनमा समस्या हुने बताइएको छ ।

भैरहवा विमानस्थलमा उडान तथा अवतरण गर्नलाई भैरहवा नजिकैबाट जहाज प्रवेश गर्नसक्ने गरी हवाई रुट बनाउने काम भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्ती रविन्द्र अधिकारीले बताए ।

ग्लोबल एभिएसन समिटमा सहभागी हुन मुम्बई गएका पर्यटन मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यन मन्त्री सुरेश प्रभुसँगको छलफलबाट उक्त रुटका बारेमा सहमति भएको जानकारी दिएका छन् । भारत नेपाललाई थप हवाइ रूट दिन पनि सकरात्मक रहेको मन्त्री अधिकारी बताउँछन् ।

Gautam budhha bimanstal

गत असारमा थप तीन हवाइ रुट दिन सहमति जनाए पनि भारतले पछि आनाकानी गर्दै आएको थियो । यद्यपी अहिले पनि तत्कालका लागि भैरहवामा मात्र रुट दिन भारत सकारात्मक भएको हो ।
‘भैरहवा विमानस्थल सञ्चालनको सम्मुखमा पुगेको बेला हामीले रूटको गाँठो फुकाउनेका लागि प्रयास गरेका छौं, हाम्रो आग्रहमा भारत सहमत भएर पनि काम अघि बढीसकेको छ’ अधिकारीले भने, ‘अहिले भैरहवाबाट प्रवेश विन्दु दिनका लागि रूटको डिजाइनको काम भइरहेको छ ।’

भारतीय आकाशबाट आएका कुनै पनि जहाज अहिले सिमरा बिन्दुबाटमात्र प्रवेश हुन्छन् । महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगञ्जबाट पनि आउन दिन नेपालले माग गर्दै आएको छ ।

यसमा भारतले सहमति दिए पनि काम भने अघि बढ्न सकेको छैन । माघ २ गते भारतीय मन्त्रीसँग भएको छलफलपछि अन्य रुटका बारेमा पनि निरन्तर छलफल गर्दै अघि बढ्ने सहमति भएको मन्त्री अधिकारीले जानकारी दिएका छन् । सन् २०१६ मै भएको वार्तामा प्राविधिक तहमा छलफल गरी रुटबारे टुंगो लगाउने सहमति भएको थियो ।

भैरहवा रुटबाट हाल जहाज बाहिर जान भने पाउँछन् । यो रुटबाट नेपाल प्रवेश गर्न रुट निर्धारण भएपछि त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसिसमेन्ट) हुनेछ । यो काम करिब एक वर्ष लाग्ने जनाइएको छ ।

भैरहवा रुटबाट जहाजले प्रवेश विन्दु पाएपछि भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो पर्नेछ । काठमाडौं विमानसथल आउनलाई पनि त्यहाँबाट आएका जहाजलाई छोटो दूरी पर्नेछ ।

airroute

धमाधम निर्माण भइरहेको भैरहवा विमानस्थलको अहिले धावनमार्ग कालोपत्रे गर्ने काम भइरहको छ । बेशाखसम्म धावनमार्ग र ट्याक्सी वे को कालोपत्रे सकिने आयोजनाले जानकारी दिएको छ । टर्मिनल भवन र टावरको काम पनि असारभित्रै सकिने अयोजना प्रमुख प्रवेश अधिकारीको दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७