कांग्रेस कम्युनिष्टको ‘भाइ पार्टी’ मात्र : कमल थापा


८ माघ २०७५, मंगलवार
Kamal Thapa

हेटौडा, ८ माघ । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Kamal Thapa

कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बने बताए । ‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको विचार व्यक्त गरे ।

मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उनले वाइड बडी विमान काण्ड, सुन काण्ड, विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको बताए । निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पुर्‍याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नुपर्नेमा जोड दिँदै उनले विधिको शासन छैन, मनपरी छ, जसले जे गरे नि हुने अवस्था लोकतन्त्रको निमित्त घातक हुन सक्नेमा अध्यक्ष थापाले जोड दिए ।

राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको चर्चा गर्दै थापाले भने, ‘गरीबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको छ, यो रोकिनु पर्छ ।’ राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरुप्रसाद सापकोटालगायतले उक्त कार्यक्रमलाई सम्बोधान गरेका थिए । सभापछि घरदैलो कार्यक्रम गर्दै वडा परिक्रमा गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७