तीन राजदूत अनुमोदित


८ माघ २०७५, मंगलवार
rajdoot

काठमाडौं, ८ माघ । संघीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिस भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ ।

rajdoot

समिति बैठकले राजदूतमा सिफारिस भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो । बैठकमा तीनै जनाले आ–आफ्नो कार्यानुभव र भावी कार्ययोजनाका बारेमा प्रस्तुति दिएका थिए । समिति सदस्यले प्रस्तावित राजदूतका योजनामाथि जिज्ञासा राख्दै गर्नुपर्ने थप कामका बारेमा सुझाव दिएका थिए ।

बैठकले सरकारले राजदूत सिफारिस गर्दा संविधानको समावेशिताको भावना र मर्म बमोजिम नभएको भन्दै आगामी दिनमा त्यस विषयलाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ । सो विषयमा आगामी बैठकमा परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गरिने समिति सभापति लक्ष्मर्णलाल कर्णले जानकारी दिए ।

समितिबाट अनुमोदित तीनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । मन्त्रिपरिषद्को गत पुस ६ र ९ गते बसेको बैठकले भट्टराईलाई संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय तथा इटाली, सानमारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको थियो ।

सोही बैठकले ढुङ्गानालाई क्यानडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय राजदूत तथा भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७