एसएसपी बढुवा रोक्न नेताहरुको ढोका ढोकामा दौड


९ माघ २०७५, बुधबार
ashok sing

काठमाडौं, ९ माघ । सरकारले एसपी दीपक थापाको स्वार्थका लागि प्रहरी नियमावलीको छैटौं संशोधन गरि अधिकृतहरुको बढुवाका लागि ४ बर्षको अवधि घटाएर ३ बर्ष कायम गरिसकेको छ । गृहमन्त्री रामबहादुर थापादेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लबिङ गरी ४ बर्षे प्र्रावधान संशोधन गर्न एसपी थापा सफल भएका छन् ।

ashok sing
दीपक थापा र अशोक सिंह

उनी डीएसपीबाट एसपी बढुवामा आफ्नो समूहका गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दिप भण्डारी, वसन्त कुँवर, रामदत्त जोशी, भरत बोहरा, मीरा चौधरी, किरण बज्राचार्यभन्दा पछि परेका थिए । बढुवामा नपरेपछि तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालविरुद्ध उनले सामाजिक संजाल फेसबुकमा आक्रोस पोखेका थिए । तर अहिले नेकपाको सरकारमा उनी यति शक्तिशाली भएका छन् कि गृहमन्त्रीदेखि नेकपा अध्यक्ष दाहालले उनका लागि प्रहरी नियमावली २०७१ मा संशोधन गरी ४ बर्ष अवधि नै घटाएर ३ बर्ष कायम गरिदिएका छन् । ४ बर्ष अवधि आगामी २०७५ फागुनमा पुग्न लागेका श्याम ज्ञवाली, सन्दीप भण्डारी र वसन्त कुँवरहरु नियमावली संशोधन हुन नदिन लागे पनि असफल भएका छन् ।

दीपक थापाले नेकपा अध्यक्ष दाहालकी छोरी रेनुलाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन गरेको सहयोगदेखि चुनावमा खेलेको भूमिका कारण पनि उनको लागि नियमावली संशोधन नै गराइएको छ । श्याम ज्ञवाली र गणेश रेग्मीभन्दा ४ महिनापछि दीपक थापा र अर्जुन चन्द एसपी बढुवा भएका हुन् ।

त्यसैगरी, एसपीबाट एसएसपी हुनका लागि नियमावली संशोधन भइसकेपछि आगामी फागुन १९ सम्म बढुवा रोक्ने र त्यसपछि आफू पनि बढुवा हुने खेलमा अशोक सिंह, सुरेन्द्र मैनाली, हृदय थापाहरुको समूह लागेको छ । २०७२ फागुन १९ मा एसपी बढुवा भएका १७ जनामा अशोक सिंह, सुरेन्द्र मैनाली, राजकुमार बैदवार, जनकराज पाण्डेय, मुकेशकुमार सिंह, हृदय थापा र यज्ञबिनोद पोखरेल, गोरखसिंह भण्डारी, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह,भोलाबहादुर रावल र सुदिप भण्डारी छन् ।

२०७५ फागुन १९ सम्म बढुवा रोक्नका लागि काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंह नेकपा अध्यक्ष दाहालकोमा धाइरहेका छन् । बर्दियाका एसपी सुरेन्द्र मैनाली लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई भनसुन गरिरहेका छन् । रुपन्देहीका एसपी हृदय थापा एक महिनासम्म बढुवा रोक्न आफ्नी दिदी प्रहरी अस्पतालका दुर्गा थापा पुनमार्फत् गृहमन्त्री थापादेखि सचिव प्रेम राईसम्म लबिङ गरिरहेका छन् । नेपाल प्रहरीमा एसएसपीका १५ पद रिक्त छन् ।

यी एसपीमध्ये गोरखसिंह भण्डारीले जागिरबाटै राजीनामा दिएर विदेश पलायन भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७