गोदाम नहुँदा १२ हजार क्विन्टल धान त्रिपालमुनि


९ माघ २०७५, बुधबार
dhan

बाँके, ९ माघ । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारण कक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करीब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो ।

dhan

संस्थानका तीन गोदाम चामलले भरिएका कारण अहिले खरिद गरिएको केही धान बाहिरै राख्नुपरेको खाद्य संस्थान नेपालगञ्जका प्रमुख हरि जोशी बताए । अहिले संस्थानमा बाहिर राखिएकोसहित ३२ हजार क्विन्टल धान–चामल ‘स्टक’ रहेको छ । यसरी खुला मैदानमा त्रिपालमुनि राखिएकामध्ये आठ हजार क्विन्टल धानको मात्रै बिमा गरिएको जोशी बताए ।

संस्थानले खरिद गरेको धान र कुटाएको चामल राख्न भाडामा गोदाम खोजी गरे पनि हालसम्म पाउन नसकेको जोशीले बताए । उक्त चामल र धान पहाडी तथा हिमाली जिल्लामा पठाउन संस्थानमा राखिएको हो । गोदाममा रहेको करीब पाँच हजार क्विन्टल चामल जुम्ला र कालिकोटमा पठाइसकिएको छ ।

प्रमुख जोशीले मुगु, जाजरकोट र डोल्पामा पठाउने तयारी भइरहेको बताउँदै अहिले करीब १५ हजार क्विन्टल जापानी चामल आएको जानकारी दिए । उक्त चामल राख्न दुई गोदाम प्रयोग भएका छन् । एउटामा १० हजार र अर्कोमा पाँच हजार क्विन्टल जापानी चामल राखिएको छ ।

उनले भने, ‘यसले पनि यहाँ खरिद गरिएको धान राख्न समस्या भएको हो ।’ संस्थानका तीन गोदाममध्ये दुईमा जापानी चामल छ भने बाँकी एउटा गोदाममा यहाँ खरिद गरिएको केही क्विन्टल धान र कार्यालयका सामग्री थुपारिएको छ । ‘गोदाम अभावमा खरिद गरिएको धान र चामल गोदाम बाहिरै त्रिपालमुनि राख्नुको विकल्प छैन’, उनले भने, ‘दिउँसो त्रिपाल निकाल्ने र रातमा त्रिपालले छोप्ने काम चलिरहेको छ ।’

नेपालगञ्जमा धान राख्ने स्थानको समेत अभाव देखिएको छ । यहाँबाट खाद्यान्न पठाउनुपर्ने कर्णाली प्रदेशका विभिन्न जिल्लामा भने चामलको अभाव भइरहेको छ । कर्णालीका विभिन्न जिल्ला पठाउनुपर्ने चामल समेत नेपालगञ्जमै थुपारिएको छ । संस्थानका कार्यालय प्रमुख जोशीले भने, ‘समस्यै समस्याबीच कर्णालीका केही जिल्लामा थोरै भए पनि चामल ढुवानी भइरहेको छ ।’

उहाँका अनुसार कर्णाली प्रदेशको मागबमोजिम सबै जिल्लामा चामल ढुवानी भने गर्न सकिएको छैन । संस्थानमा रहेको मौज्दात चामल ढुवानी गर्ने र संस्थान परिसरमा त्रिपालमुनि रहेको धान कुटाई सुरक्षित भण्डारणका लागि साल्ट ट्रेडिङको गोदाम माग गरिरहेको कार्यालय प्रमुख जोशीले जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७