विभिन्न् मन्त्रालयका ५६ सचिवको संघमा समायोजन, अब ६ सय सहसचिवको पालो


९ माघ २०७५, बुधबार
karmachari sarkari psc

काठमाडौं, ९ माघ । सरकारले समायोजनप्रति तल्ला तहका कर्मचारीको गुनासो रोक्न उच्च कर्मचारीबाट समायोजनको काम थालेको छ ।

karmachari sarkari psc 768x390 1

सरकारले मंगलबार विभिन्न मन्त्रालयमा कार्यरत ५६ सचिवलाई पत्र थमाउँदै संघमा समायोजन गरेको छ । उनीहरुको नाम सामान्य प्रशासन मन्त्रालयले स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पठाएको थियो । अब सहसचिवको समायोजन गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषदले सचिव समायोजनका लागि अनुमति दिएपछि मुख्य सचिव लोकदर्शन रेग्मीले सचिवहरूलाई समायोजन भएको पत्र थमाएका हुन् । ‘सचिवलाई समायोजन भएको पत्र दिइसकियो,’ मन्त्रालयका सहसचिव केदार पनेरुले भने, ‘अब सहसचिवलाई समायोजन गर्छौं ।’

सचिवलाई ज्येष्ठताको आधारमा समायोजनको पत्र दिइएको हो । समायोजनका लागि अनलाइनबाट आवेदन दिएका ६ सय भन्दा बढी सहसचिवलाई छिट्टै समायोजन भएको पत्र दिने उनले बताए ।

सहसचिव समायोजनको पत्रलाई मन्त्रिपरिषदले स्वीकृति दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले सहसचिवलाई समायोजन भएको पत्र थमाउने छन् ।
सरकारले पुस ११ गते २१ दिने सूचना निकालेर कर्मचारीलाई समायोजनमा जान आवेदन मागेको थियो ।

७७ हजार निजामती कर्मचारी र अन्य सेवाका कर्मचारीले समायोजन प्रक्रिया रोजेका छन् भने १३ हजार हाराहारी कर्मचारीले समायोजनका लागि आवेदन दिएनन् । समायोजनका लागि फारम नभर्ने कर्मचारीको विवरण निजामती किताबखानाबाट झिकाएर ती कर्मचारीलाई पनि तीनै तहमा समायोजन प्रक्रियामा सामेल गराउने मन्त्रालयले जनाएको छ ।

फागुन ३ गतेभित्र संघ, प्रदेश र स्थानीय तहमा रहेका सबै दरबन्दीमा कर्मचारी खटाइसक्ने गरी मन्त्रालयले कर्मचारी समायोजनको कामलाई तीव्रता दिएको हो । कर्मचारी अभावले प्रदेश र स्थानीय तहमा कार्यसम्पादन प्रभावकारी हुन नसकेको जनप्रतिनिधिको गुनासो छ ।

परराष्ट्र, न्यायलगायत संघमा मात्रै दरबन्दी भएका सेवामा पनि कर्मचारी समायोजनको काम थालिएको छ । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम गरेको छ । कर्मचारी समायोजन गरेपछि पनि कर्मचारी पदपूर्ति बाँकी रहे प्रदेश लोक सेवामार्फत् कर्मचारी भर्ना गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७