काभ्रे इन्चार्जमाथि गोली प्रहारप्रति वाइसीएलको बिरोध


९ माघ २०७५, बुधबार
shripali

काठमाडौं, ९ माघ । प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले मंगलबार दिउँसो गोंगबुको एक होटलमा हतियार कारोबारी भनेर गोली हानिएका अभिलाश तामाङ वाइसीएल काभ्रेका इन्चार्ज रहेको खुलासा भएको छ । उनलाई आफ्नै साथीले होटलमा बोलाएर प्रहरीलाई खबर गरी पक्राउ गराएको खुलेको छ । गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो ।

shripali

उनी १० बर्षे जनयुद्धमा जनमुक्ति सेनाका लडाकू थिए ।स्रोतका अनुसार उनकी आमा गम्भीर बिरामी भएकाले उपचारका लागि जनयुद्धताका लुकाएर राखेको हतियार बिक्री गर्नका लागि गाेंगबुको होटलमा गएका थिए । आमाको उपचारका लागि रकम अभाव भएको कुरा आफ्ना निकट एक साथीसँग गरेका थिए । उनका साथीले उक्त हतियार किन्ने ग्राहकलाई भेट गराइदिन्छु भनी होटलमा बोलाएर प्रहरीलाई खबर गरी पक्राउ गराएको वाइसीएलकै एक नेताले बताएका छन् । अभिलाश तामाङ विगतमा कुनै पनि अपराधिक घटनामा मुछिएका थिएनन् । आमाको उपचारका लागि उनले हतियार बिक्री गर्न साथीको विश्वासमा पर्दा प्रहरी पुगेको थियो । प्रहरीले पनि उनलाई सामान्य भेषभूषामा देखेपछि खुट्टामा गोली हानेर हतियार बरामद गरेको बताएको छ । अभिलाश प्रहरीको सुराकी पनि रहेको र उनले चिनेका अर्का सुराकीले हतियार किन्न बोलाएर उनलाई पक्राउ गराएको स्रोतको दाबी छ ।
अभिलाषको पृष्ठभूमि अपराधिक नभए पनि उनले गैरकानुनी हतियार राखेकाले उनी कानुनी कारबाहीको भागिदार हुने भएका छन् ।

अभिलाशलाई प्रहरीले हतियारसहित पक्राउ गरिसकेपछि वाइसीएलका महासचिव सुबोध श्रीपालीले बिरोध गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–पूर्वजनमुक्ति सेना नेपालका योद्धा तथा वाइसीएल काभ्रेका इन्चार्ज अभिलाशको गिरफ्तारी धेरै हिसाबले शंकास्पद छ । जबर्जस्त बयान घटनास्थलमै लिएर भिडियो सार्वजनिक हुनुले प्रहरीको हतारोपन सोचनीय छ । यससम्बन्धमा वाइसीएल अत्यन्त गम्भीर बनेको कुरा प्रहरी प्रमुखसम्म पुगोस् । एउटा घटना लुकाउन अर्को नियोजित घटना गराउने तरिकाले निर्दोषलाई दोषी नबनाइयोस्् । यदि अभिलाश हतियार कारोबारमा संलग्न भएको पाइए वाइसीएलले पनि कारबाही गर्नेछ । प्रहरीको अनुसन्धानमा सहयोग गर्ने नै छ । अन्यथा शृंखलाबद्ध रुपमा पटक पटक वाइसीएलमाथि हुँदैआएका यस्तो खाले प्रहरी रबैयाको कानुनी रुपमा राजनीतिक तवरले निकास खोज्न हामी तयार छौं । गृहमन्त्रालय सम्हालेको हाम्रो पार्टी नेतृत्वको उचित कदमको आशा राख्दछौं ।’ बुधबार बिहान हालेको यो स्टाटस श्रीपालीले केहीबेरपछि आफ्नो वालबाट अहिले हटाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७