आह्वान


१६ माघ २०७५, बुधबार
sahid gate

-अटल क्रान्तिकारी


ए सालिकहरू हो
उत्र सडकमा , लगाऊ जुलुस
अभिशप्त युगमा
बिरामी सडक को छातीले
खोजिरहेको छ
बलियो सङ्ग बज्रने
तिमीहरूको पाइतालाको छाप ।

कति बन्छौ मुकदर्शक
निर्धा सन्ततिहरूको
कति सुन्छौ
स्वार्थले भरिएका
मुर्दावाद ! र जिन्दाबाद ।
उत्र आफै अब सडकमा
लगाऊ अदभुत जुलुस
खोज अस्तित्व
शकुनीहरूले कुल्चिएको
माटोभित्र आफ्नो रगतको
गन्ध ।

चन्द्र शमशेरको उदारता र
श्री ५ महेन्द्रको राष्ट्रभक्ति
खोजिरहेका छन् अखबारहरू
लुटेर तिम्रा सपना
बिलगेट्स बन्दैछ्न
सुदामाहरू
भद्रकालीमा सेतो घोडा चढेर
देशको लगाम तान्दै
मसानघाटमा पनि
हाँसिरहेको छ-जङ्गबहादुर
ए सहिदहरू हो
उत्र
फ्याकिदेउ घोडामाथि चढिरहेको शासक

बुझाउदेउ दुनियाँलाई
मालिक र सालिक बिचको
भिन्नता को इतिहास ।

शुकराज झुन्ड्याइएको खरीको बोट
जहाँ डाम बसेको थियो
बलिदानिको
बनाएका टेर शासकहरू ले
खुट्टा अड्याउने तलुवा ।
यहाँ बर्षौ वर्ष बाचिरहेका हुन्छन्
दशरथको हड्डीको सुप पिएर
जाडो कटाउनेहरू
गङ्गालालको इन्द्रचोकमा
अचेल दिनदाहाडै
हराउँछन् सेता हात्तीहरू
कति गरुङ्गो थियो त्याग
तिम्रो छातीको चौडाइमा
कति विशाल थियो न्यायको आवाज
तिम्रो ओठमा

जबकि
निरङ्कुशतामा हुर्किएको
बकैनाको हाँगाले पनि
एक पटक तिमीसँग
आत्मसमर्पण गरेको थियो ।
ओर्ल माथेमा ओर्ल
सडकमा एक पटक
देखाइदेऊ
श्रीपेच नओढेका
श्री ३ जुद्दशमसेरका प्रेतहरूलाई
कालोझण्डा ।

भङ्ग गरेर निस्क
सरकारले बेबारिसेहरू
थक्याउन बनाएको
कथितहरूको जम्बो
सङ्ग्रहालय
चुपचाप सह्यौ भने
अस्तित्व तिम्रो पनि मेटिन्छ
खोज तिम्रो सुवास त
माटोमा पनि भेटिन्छ ।

खबरदारी नामेट नहुन
बलिदानिका धर्का ,
फैलाउन तिम्रो
महानताको कथा
ए सालिकहरू हो
आफ्नो इतिहासको अस्तित्व बचाउन
विगत निल्न खोज्ने बर्तमानको
पुत्ला जलाऊ
आऊ ओर्ल सडकमा
एक फेर जुलुस लगाऊ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७