निकिता पौडेलले दिइन् चलचित्र विकास बोर्डबाट राजीनामा, मन्त्री रिसाउँदा गुम्यो पद


२३ माघ २०७५, बुधबार
Nikita Paudel Inner

काठमाडौं, २३ माघ । नेपाल चलचित्र विकास बोर्डबाट निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन् । पौडेलले आजै (माघ २३ गते) बाट लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटा समक्ष राजीना पत्र बुझाएकी हुन् ।

Nikita Paudel Inner

आफूले पदबाट राजीनामा दिएको राजीना दिंदै उनले भनेकी छन् , ‘सबै कुरा विज्ञप्तीमै खुलाएकी छु, ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी यो निर्णय लिएकी हुँ ।’

उनले आफ्नो पालामा नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त भएको पनि राजीनामा पत्रमा उल्लेख गरेकी छन् । ‘नेपाल चलचित्र बिकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर भएका छन्’, उनले थपिन्, ‘यस बाहेक, आजसम्म दिइएका सम्पूर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समयसीमाभित्रै सफलतापूर्वक गरिएको रिपोर्टसहितको प्रगति विवरण मन्त्रीज्यू समक्ष बुझाइसकेकी छु ।’

यस्तो थियो कारण

आइतबार बोलाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चौमासिक समीक्षा बैठकमा खबर गरेर पनि अटेर गरी अनुपस्थित भएको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बासकोटाले पौडेलसँग स्पष्टिकरण सोध्न निर्देशन दिएका थिए ।

उक्त बैठकमा चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेण्डा राखिएको थियो । तर निकितालाई बोलाउँदा पनि उनी अनुपस्थित भएपछि मन्त्री बास्कोटा रुष्ट भएका थिए । त्यसपछि मन्त्री बास्कोटाले मन्त्रालयका अधिकारीलाई जानकारी गराउँदा पनि अटेर गरी अनुपस्थित हुने पौडेलमाथि स्पष्टिकरण सोधेर बर्खास्तसम्म गर्न निर्देशन दिएका थिए ।

यस्तो प्रेस वक्तब्य

भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यु समक्ष राजिनामा पेश गरेकी छु। ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हु।खुल्ला प्रतिस्पर्धा गरि लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसगै, म मङ्सिर २५,२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु।

योसगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर भएका छन् । यस बाहेक,आजसम्म दिइएका सम्पूर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय सीमाभित्रै सफलतापूर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु ।उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठूलो उपलब्धि भएको छ ।

सम्पूर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु । बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन, चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा, सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, ,बिशिस्ट चलचित्रकर्मीकालागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाती, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन् ।

यो छोटो कार्यकाललाई उपलब्धिपूर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सञ्चार तथा सूचना प्रबिधिमन्त्री श्री गोकुल बास्कोटा ज्यू, संचार सचिव ज्यूलगायत सम्पूर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पूर्ण परिवारप्रति कृतज्ञता व्यक्त गर्दछु । मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानीय प्रधानमन्त्री ज्यूप्रति आभार प्रकट गर्दछु ।

साथै नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलब बापतको रकम मेरा श्रीमान श्री रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु । योसँगै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु ।

चलचित्र बिकास बोर्डको अध्यक्षको जिम्मेवारीबाट अलग भए पनि, मेरो नाभीसँगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितका लागि म सदैव क्रियाशील रहिरहने छु । यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन । मलाई सदैव प्रोत्साहित गर्नु हुने मेरा परिवार, आदरणीय चलचित्रकर्मी ज्यूहरु तथा संचारकर्मी ज्यूहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७