अमेरिकाले सिङ्गापुरका १४ हजार एचआइभी पीडितको गोप्य विवरण सार्वजनिक गर्दिएपछि…


२७ माघ २०७५, आईतवार
hiv ads

सिङ्गापुर, २७ माघ । रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिङ्गापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए ।

hiv ads

रिको एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै एचआईभी भएका १४ हजार २०० जनाको स्थिति, नाम र ठेगाना एक जना अमेरिकीले इन्टरनेटमा राखिदिएको पत्ता लागेको छ । सिङ्गापुरका एक जना वरिष्ठ चिकित्सक साथीबाट प्राप्त गरेको गोप्य विवरण ती अमेरिकीले अनलाइनमा राखेको विश्वास गरिएको छ ।

‘यो कार्यबाट एलजीबीटी समुदायका व्यक्तिहरु सबैभन्दा बढी क्रुद्ध भएका छन्,’ ३१ वर्षीय रिकोले बताए । उनी आफ्नो पूरा नाम भन्न चाहन्नन् । अनलाइनमा गोप्य विवरण राखिएपछि आत्तिएका उनले भने, ‘मलाई हेर्ने अरु मानिसको दृष्टिकोणमा अब परिवर्तन आउन सक्छ ।’ उनले आफ्ना सबै साथीलाई आफू एचआईभी–पोजेटिभ भएको बताएका थिएनन् ।

’एलजीबीटी भएका व्यक्तिहरुमाथि समुदाय सहिष्णु पनि हुनसक्ला तर यहाँको समुदाय एचआईभी–पोजेटिभ भएका व्यक्ति र समलिङ्गीलाई स्वीकार्न तयार हुँदैन । कम्तीमा मेरो जीवनकालमा यो सम्भव छैन,’ उनले दुःखेसो पोखे । सिङ्गापुर धेरै रुपमा आधुनिक छ, तर यहाँको सामाजिक परिदृष्य आर्थिक विकासझैं त्यही गतिमा परिवर्तन भएको छैन र कतिपय अवस्थामा ज्यादै रुढीबादी धारणाबाट आक्रान्त छ । एसियाका अरु देश जस्तै अवस्था यहाँको छ ।

सिङ्गापुरमा एचआईभी भएकाहरुले पटक पटक आफ्ना गोप्य विवरण सार्वजनिक हुने खतरा औंल्याउँदै आएका थिए । सिङ्गापुरको प्रभावशाली अखबार स्ट्रेट टाइम्समा दिएको प्रतिक्रियामा एक कामदारले आफूलाई पनि एचआईभी भएको विवरण सार्वजनिक भए जागीरबाट हटाउने व्यवस्थापनले धम्की दिएको बताइन् ।

एचआईभी भएका कुनै पनि विदेशीलाई सिङ्गापुरमा धेरै वर्षअघिसम्म पाइला टेक्न पनि दिइन्नथ्यो । सन् २०१५ मा विदेशीमाथिको त्यस्तो प्रतिबन्ध फुकुवा गरियो तर भ्रमणको अवधि छोटो बनाइन्थ्यो । सिङ्गापुरमा काम गर्न चाहने सबै विदेशीले स्वास्थ्य परीक्षणमा सफल हुनै पर्ने व्यवस्था थियो ।
करिब ५६ लाख जनसंख्या रहेको सिङ्गापुरमा धेरै विदेशी काम गर्दछन् । यी कामदारमा धनाढ्य बैंकर्सदेखि निर्माण साइटमा काम गर्ने मजदूरसम्म रहेका छन् ।

इन्टरनेटबाट सार्वजनिक भएको एचआईभी सम्बन्धी विवरणमा पाँच हजार ४०० सिङ्गापुरका बासिन्दा र आठ हजार ८०० जना विदेशी रहेका छन् । सिङ्गापुरको एनजीओ एक्सन फर एड्स (एएफए) की कार्यकारी निर्देशक सुमिता बनर्जीले पीडितहरुले रुँदै आफ्नो संस्थामा सम्पर्क गरिरहेको बताइन् । ‘’एउटा मुख्य सरोकारको विषय नै यसअघि एचआईभी भएको बारेमा जानकारी नपाएका रोजगारदाता, साथीभाइ र परिवारको हो जसले यो समाचार आएलगत्तै क्रुद्ध प्रतिक्रिया दिने सम्भावना छ,’ उनले भनिन् । केहीले यही कारण जागीर नै गुमाउनुपर्ने खतरा बढेको छ, उनको भनाइ छ ।

तर स्वास्थ्य अधिकारीहरुले जारी गरेको निर्दे्शिका बमोजिम कुनै पनि रोजगारदाताले एचआईभी–पोजेटिभ भएका व्यक्तिलाई रोजगारबाट हटाउन पाइन्न । सिङ्गापुरका अधिकारीहरुले इन्टरनेटमा राखिएका व्यक्तिका गोपनीय जानकारीको पहुँच नदिन काम थालिसकेको जनाएका छन् । अधिकारीहरुले एक शंकास्पद व्यक्ति मिखी फरेरा ब्रोचेजले गोप्य विवरण अनलाइनमा राखेको बताएका छन्। ती व्यक्तिसँग गोपनीय रेकर्ड अझै हुनसक्ने बताएका छन् ।

स्थानीय सञ्चार माध्यमले ब्रोचेजलाई संयुक्तराज्य अमेरिकामा पक्राउ गरिएको जनाएका छन् । तर उनले गोप्य विवरण इन्टरनेटमा नराखेको दाबी गरेका छन् । एचआईभी–पोजेटिभ मनोविज्ञानवेत्ता ब्रोचेज सन् २००८ मा पहिलोपटक सिङ्गापुर आएका थिए । उनले आफ्ना साथी चिकित्सक लर टेक सियाङको रगत लिएर रक्त परीक्षणमा सफल देखाएका थिए । त्यही आधारमा उनी सिंगापुरमा बस्न पाएका थिए। तिनै साथीबाट ब्रोचेजले एचआईभी पीडित व्यक्तिका गोप्य विवरण प्राप्त गरेका थिए ।

सन् २०१६ मा प्रहरीले गोप्य सूचनाका आधारमा ब्रोचेज र लरको निबासमा छापा मारेर कागजातहरु, एउटा ल्यापटप र मोबाइल फोन बरामद गरेको थियो । ब्रोचेजलाई अन्ततः आफ्नो एचआईभी विवरणबारे झुटो विवरण दिएको, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको, गैरकानुनी रुपमा रोजगारीमा प्रवेश गरेको तथा लागूऔषध सेवन गरेको आरोपमा जेलमा समेत राखिएको थियो ।

सिङ्गापुर सरकारले सन् २०१८ मा ब्रोचेजलाई स्वदेश फर्काएको थियो, तर उनीबारे अधिकारीहरु अनभिज्ञ थिए। अहिले तिनै ब्रोचेजले सबै विवरण इन्टरनेटमा राखिदिए । यद्यपी अधिकारीले ब्रोचेजले किन गोप्य विवरण इन्टरनेटमा राखे भन्ने कुनै विवरण दिन अस्वीकार गरेका छन् । सिङ्गापुर सरकारले एचआईभी–पीडितलाई सहयोग गर्न पूर्ण सहयोग गर्ने स्पष्ट गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७