शिक्षक हुन अब विषयगत लाइसेन्स अनिवार्य


२८ माघ २०७५, सोमबार
teacher aayog

काठमाडौं, २८ माघ । के तपाई शिक्षक बन्ने लक्ष्यका साथ तयारीमा हुनुहुन्छ ? अनि शिक्षक बन्नका लागि लाइसेन्स लिने तयारीमा हुनुहुन्छ ? अब शिक्षक बन्नलाई लाइसेन्स मात्र लिएर नहुने भएको छ । अब विद्यालय तहको शिक्षक हुनका लागि अनिवार्य रूपमा विषयगत शिक्षण अनुमति पत्र (लाइसेन्स) लिनुपर्ने भएको छ ।

teacher aayog 768x278

शिक्षक सेवा आयोगले यसअघि तहगत रूपमा लिंदै आएको लाइसेन्स परीक्षालाई सुधार गरी विषयगत परीक्षा लिन लागेको हो । विषयगत लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने मात्रै शिक्षक बन्न योग्य हुने आयोगले जनाएको छ ।

विद्यालय शिक्षाको गुणस्तर उकास्न र विषयगत विज्ञता भएका शिक्षक भर्ना गर्न आयोगले परीक्षाको तयारी गरेको हो । फागुनभित्रै विषयगत लाइसेन्स परीक्षा गर्ने गरी तयारी गरेको आयोगका सहसचिव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए ।

‘आफूले जुन विषय पढाउने हो त्यहीअनुसार परीक्षा दिएर लाइसेन्स लिनुपर्छ,’ थपलियाले भने, ‘यसअघि तहगत रूपमा लिएको लाइसेन्स परीक्षा अबदेखि विषयगत बनाइएको छ ।’ विषयगत रूपमा लाइसेन्स परीक्षा हुने भएकोले पाठ्यक्रम आयोगको वेबसाइटमा राखिसकेको उनले बताएका छन् ।

‘परीक्षाको तयारी गरे हुन्छ । स्वीकृत पाठ्यक्रम वेबसाइटमा छ,’ उनले भने, ’छिट्टै विज्ञापन खुलाउँछौं ।’ पढाइरहेका शिक्षक र शिक्षाशास्त्र संकाय पढेका विद्यार्थीले लाइसेन्स परीक्षामा भाग लिन पाउँछन् ।

प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका लागि विषयगत परीक्षा हुने आयोगको तयारी छ । ‘तहगत लाइसेन्स परीक्षाले शिक्षकको विज्ञता र क्षमता कुन विषयमा हो यकिन भएन,’ उनले भने, ’गणित पढाउने र नेपाली पढाउनेलाई सोध्ने प्रश्न पनि एकै प्रकृतिको थियो।

अब विषयगत प्रश्न नै सोध्ने र उत्तीर्ण हुनेलाई मात्र लाइसेन्स दिन्छौं ।’ तहगत परीक्षा लिँदा प्रश्नपत्र बनाउनसमेत झन्झट भएको उनले बताए । ‘विषयगत ज्ञान मापन गर्न विषयगत परीक्षा नै उपयुक्त हुने आयोगको निर्णय हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७