खानेपानीमन्त्री मगरको ११ महिने उपलब्धी : २७ वर्षदेखि सुस्ताएको मेलम्चीको ९६ प्रतिशत भौतिक प्रगति


२९ माघ २०७५, मंगलवार
bina magar 1

काठमाडौं, २९ माघ । खानेपानी मन्त्री बिना मगरको नेतृत्वसँगै खानेपानी मन्त्रालयको गति तीब्र बन्दै गएको छ ।

bina magar 1

मन्त्री मगरको ११ महिने कार्यकालमा विभिन्न आयोजनाको गति द्रुत मात्र भएको छैन देखिने गरी उपलब्धीहरु देखिएका छन् । मन्त्री मगरको नेतृत्वकै कारण २७ वर्षदेखि सुस्त गतिमा रहेको राष्ट्रिय गौरवको आयोजना मेलम्ची आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत पुगेको छ । पछिल्लो ११ महिनाको अवधिमा मेलम्ची खानेपानी आयोजनाको काम तीव्र बनेको खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्री विना मगरले कार्यकाल सम्हालेको ११ महिना बितेको अवसरमा उनको सचिवालयले जारी गरेको विज्ञप्तीमा २७ वर्षदेखि सुस्त बनिरहेको आयोजनाको काममा नसोचेको प्रगति भएको दावी गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘वर्षौं वर्ष लगाएर २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएपछि यसको ढलान अर्थात् फिनिसिङ गर्ने काम अब एक किलोमिटर पनि छैन ।’

एक वर्षको अवधिमा मेलम्ची आयोजना बाहेक खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरी नै साना ठूला गरी ५१८ वटा खानेपानीका आयोजनाहरु पूरा गरेको मन्त्री मगरको सचिवालयले जनाएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित क्रमागत उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी आयोजनामध्ये ११० आयोजना निर्माण भएका छन् ।

नोटमा विभाग अन्तर्गतकै खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना शहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिएको जनाइएको छ । सहलगानी अन्तर्गत नवलपरासीको अमरापुरी, मोरङको मानगढ, उर्लाबारी, झापाको चन्द्रगढी, रुपन्देहीको प्रगतिनगर, नयाँगाउँ, चितवनको रत्ननगर, धनगढा, पर्सामा खानेपानी आयोजनासँगै तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टीकापुर र सुनसरीको महेन्द्रनगरमा खानेपानी आयोजनाहरु सम्पन्न भएको जनाइएको छ ।

यस्तै ११ महिनाको अवधिमा ३५ वटा हरी तथा अर्धशहरी खानेपानी आयोजनाहरु सम्पन्न भई ३ लाख ८७ हजार ५८२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको मन्त्रालयले दाबी गरेको छ । भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरुमध्ये ३६० वटा आयोजनाहरुको पुनर्निर्माण तथा पुनस्र्थापना भएको छ । यस्तै पछिल्लो एक वर्षमा १७ जिल्लाहरु खुला दिसामुक्त घोषणा भएको र हालसम्म ६३ जिल्लाहरु खुला दिसा मुक्त क्षेत्र घोषणा भएको जनाइएको छ ।

एशियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा शहरहरुमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १७८ दशमलव ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौतालाई मन्त्रालयले महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ । काठमाडौं उपत्यकाभित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । राजविराज, लहान र नेपालगंजमा ४५० घनमिटर क्षमताको पानी पोखरीको निर्माण भइसकेको मन्त्री मगरको सचिवालयले जनाएको छ ।

भक्तपुरको महादेवखोला इम्पाउन्डिङ रिजर्भवायर खानेपानी आयोजना, दाङको पातुखोला, सुर्खेत भ्याली बृहत खानेपानी आयोजना, बबई थोक वितरण र नारायणी थोक वितरण खानेपानी आयोजनाहरुमा लगानी जुटाउने सन्दर्भमा मोडालिटीको विषयमा प्रधानमन्त्री कार्यालयले ऐन बनाउने तयारी गरिरहेको सचिवालयको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७