आजबाट कोलकाता बन्दरगाहमा ‘इसिटिएस’ लागू हुँदै, नेपाललाई के फाइदा ?


३ फाल्गुन २०७५, शुक्रबार
Colkata bandargah

काठमाडौं, ३ फागुन । कोलकाता बन्दरगाहले आज शुक्रबारदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस) लागू गर्दैछ ।

Colkata bandargah

यो प्रणली लागू भएसँगै अब तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने सामानलाई विनाझण्झट ल्याउन सकिनेछ । यो प्रणालीले विद्युतीय माध्यमबाट काम गर्ने हुँदा कागजपत्रको झण्झट हट्ने बताइएको छ ।

कोलकाता बन्दगरगाहबाट तत्कालका लागि आजदेखि रेलको कन्टेनरमा आउने सामानमा मात्र इसिटिएस सुविधा लागू गर्ने जनाइएको छ । केही महिनापछि नै ट्रकमार्फत ढुवानी हुने कन्टेनरमा समेत सो सुविधा लागू गरिने बताइएको छ । नेपालले प्रयोग गर्दै आएको अर्को बन्दरगाह विशाखापट्टनममा ८ महिनायता इसिटिएस प्रणाली कार्यान्वयनमा छ ।

नेपाललाई के फाइदा ?
इसिटिएस प्रणाली लागू भएपछि नेपाली आयातकर्ताहरुलाई समेत प्रत्यक्ष फाइदा पुग्ने भएको छ । हाल यसरी सामान आयात गर्दा क्लियरिङ एजेन्टमार्फत विभिन्न ८ वटा कागजपत्र करिब २२ ठाउँमा दस्तखत प्रमाणित गराउनुपर्ने गराउनुपर्ने झन्झटिलो व्यवस्था छ । इसिटिएस लागू भएपछि भने यो झण्झट हट्नेछ ।

यसको अर्को फाइदा भनेको कन्टेनर बुझाएको समयावधि छोटिने छ । तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने सामान पानीजहाजबाट कोलकाता बन्दरगाहमा झार्ने बित्तिकै कन्टेनर बुझाएको समय शुरु हुने साविकको व्यवस्था रहेकोमा अब भने शिपिङ लाइनले नेपाल–भारत नाका वीरगञ्ज भन्सारसम्म कन्टेनर पुर्याएपछि मात्र उक्त समय गणना हुनेछ ।

सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता पठाइसक्नुपर्ने प्रावधान रहेको छ, जसले गर्दा कन्टेनर बुझाएको समय सुरु भएदेखि वीरगञ्जसम्म सामान ल्याउन ढिलाइ भएमा र कन्टेर फिर्ता पठाउन २१ दिन नाघेमा प्रतिदिन ४५ देखि १०५ डलरका हिसाबले प्रतिकन्टेनर ‘डिटेन्सन शुल्क’ लाग्ने गथ्र्यो । सो समय छोटिने भएपछि नेपाली आयातकर्तालाई फाइदा हुने भएको छ ।

कोलकाता बन्दरगाहबाट नेपाल सामान ल्याउनका लागि पहिलोपटक इसिटिएस
प्रणाली लागु गर्न लागिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए । उनका अनुसार सो प्रणाली लागु भएपछि कोलकातामा अहिलेसम्मका सबै कागजी र एजेन्टले दिने झन्झट सबै समाप्त हुनेछ ।

यसका साथै ठाउँ ठाउँ राख्नुपर्ने क्लियरिङ एजेन्टहरुले हस्ताक्षर गराउनुपर्ने लगायतका निहुँमा अनियमितता गर्दै आएको पाइन्छ । सामान जाँचपासलगायतका कामका लागि आयातकर्ता व्यवासायीहरुले एजेन्टहरुलाई भनेजति नै पैसा बुझाउनुपर्ने, जाँचपास गराउनमा ढिलाइ र झण्झट व्यहोर्नुपर्ने अवस्था थियो ।

महावाणिज्यदूत अर्यालका अनुसार इसिटिएस प्रणाली कार्यान्वयनमा आएपछि भने आयातकर्ताहरुको सामान अनलाइन प्रणालीमार्फत वीरगञ्जसम्मका लागि जाँचपास भई आउने हुँदा यो झञ्झटबाट व्यवसायीहरु मुक्त हुनेछन् । तर सुविधाका लागि नेपाली आयातकर्ता व्यवसायीले ३ हजार ३ सय भारु कोलकाता बन्दरगाहलाई शुल्क तिर्नुपर्ने जनाइएको छ । त्यो शुल्क कन्टेनरमा जडान हुने एक प्रकारको इलेक्ट्रोनिक डिभाइसका लागि प्रतिडिभाइसका हिसाबले तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७