निर्मलाका बलात्कारी भेटिएनन्, खाल्डोभित्र सुन भेटियो


३ फाल्गुन २०७५, शुक्रबार
gold 3

कन्चनपुर, ३ फागुन । नेपाल प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्याराहरुको खोजी गर्न पठाएको टोलीले बिहीबार कन्चनपुरको पुनर्वाबासबाट १८ किलो सुन बरामद गरेको छ । पन्तका हत्यारा खोज्नका लागि नेपाल प्रहरीले सीआइबीका सुदिप गिरी र महानगरीय अपराध अनुसन्धान महाशाखाका डीएसपी रुगम कुँवरको टोली खटाएको थियो ।

गिरी र कुँवरको नेतृत्वमा अपराध महाशाखा र सीआइबीका प्रहरी पन्तका हत्यारा खोज्नका लागि कन्चनपुर खटिएका थिए । तर उनीहरुले पन्तको बलात्कारी पत्तो लगाउनेतिर भन्दा सुनतिर बढी ध्यान केन्द्रित गरेको देखिन्छ । त्यसो त सुन बरामद हुनु नराम्रो होइन । तर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो भएको छ । प्रहरी टोलीले पन्तको बलात्कार र हत्याका बारेमा छेउटुप्पो केही फेलापार्न सकेको छैन ।

सुन बरामदमा कैलालीका एसपी आभूषण तिम्सिना पनि मिसिएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाबाहिर गएर सुन बरामद गर्नुलाई पनि कार्यक्षेत्रसँग जोडेर हेर्ने गरिएको छ ।

कञ्चनपुरको पुनर्वासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा सादा पोशाकका प्रहरी र उनका भाइ पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सादा पोशाकका प्रहरी कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा भएको खुलेको छ ।

सुन तस्करहरुले भारतबाहेक तेस्रो मुलुकबाट सुन नेपालको बाटो हुँदै भारत लैजाने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । त्यो सुन पनि नेपाल हुँदै भारत गएको र भारतबाट लक्ष्मणले नेपाल ल्याएको हुनसक्ने अनुसन्धानले देखाएको एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७