काम नगरी भुक्तानी लिनखोज्ने ठेकेदारलाई विप्लव माओवादीको साथ


३ फाल्गुन २०७५, शुक्रबार
biplab

काठमाडौं, ३ फागुन । उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीको घुस खाने काइदा गजबको छ । धोबिखोला करिडोर निर्माणको १ अर्ब रुपैयाँको ठेक्का टुक्रा पार्दै उपभोक्ता समितिलाई दिएर सांसद गगन थापासँग मिलेर करोडौं अनियमितता गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

biplab
नेत्रविक्रम चन्द विप्लव र भाइकाजी तिवारी

तिवारीले उपभोक्ता समिति र ठेकेदारमार्फत् कसरी घुस खान्छन् भन्ने दृष्टान्त कोटेश्वरको शुभकामना मार्ग टोल सुधार समितिमा देखिएको छ । उक्त टोल सुधार उपभोक्ता समितिका अध्यक्ष हुन् भगवान गिरी । तर गिरीले कमिसन नदिएपछि आयुक्त तिवारीले एक ठेकेदारमार्फत् पर्खाल लगाएको फर्जी बिल पेश गर्न लगाई भुक्तानीका लागि दबाब दिइरहेका छन् ।

१ बर्षअघि समितिले शुभकामना मार्ग निर्माणका लागि ६० लाखमा ठेक्का लिएको थियो । तर शुभकामना मार्गमा पर्खाल लगाउनका लागि ठेकेदार नानीबाबु बस्नेतले ठेक्का लिएको भनेर शुभकामना मार्ग टोल सुधार समितिसँग ३३ लाख रुपैयाँ दाबी गरेका छन् । जुन रकम नदिएको भन्दै उनले नेत्रविक्रम चन्दको पार्टीको न्याय विभागमा उजुरी नै दिएका छन् । ठेकेदार बस्नेतले पर्खाल लगाएको दाबी गरे पनि शुभकामना मार्गका सबै घरधनीले आफैं पर्खाल लगाइसकेका थिए ।

सबैले पर्खाल लगाइसकेको अवस्थामा ठेकेदार बस्नेतले ३३ लाखको बिल पेश गरेपछि उपभोक्ता समितिका अध्यक्ष गिरी र कोषाध्यक्ष शिव पराजुली तनावमा परेका छन् । एकाध ठाउँमा पर्खाल लगाएका ठेकेदार बस्नेतलाई समितिका अध्यक्ष बानियाँले ६ लाख रुपैयाँसम्म दिने भने ।

तर ठेकेदार बस्नेतले ३३ लाख नै दिने भनेपछि अध्यक्ष गिरीले दिन नमिल्ने भनेर अडान लिइरहेका छन् । जुन अडानलाई टोलबासीले समेत समर्थन गरेका छन् । गिरीदेखि समितिका सबै पदाधिकारीहरु कामै नगरी कसरी भुक्तानी दिने भन्दैआएका छन् । तर ठेकेदार बस्नेत उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीका मानिस रहेछन् । उनले प्राधिकरणमा घुसबापत १२ लाख रुपैयाँ बुझाउनुपर्ने भन्दै भुक्तानी मागेर हैरान पार्दैआएका छन् ।

समितिलाई ३ लाख दिने र बाँकी १८ लाख कामै नगरी चप्काउने रणनीति अपनाएको खुलेको छ । कामै नगरेको रकम भुक्तानी दिन भाइकाजी तिवारीकै आडमा दबाब दिएको समाचार छ । ठेकेदार बस्नेतलाई भुक्तानी नदिएकोबारेमा शुभकामना मार्ग टोल सुधार समितिका अध्यक्ष भगवान गिरीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले भने–‘समितिले उसलाई ठेक्का नै दिएको छैन भने भुक्तानी कसरी दिने ? पत्रपत्रिकामा उजुरी गर्दैमा भुक्तानी पाइँदैन ।’

भुक्तानी नपाएपछि ठेकेदार बस्नेतले बिप्लव माओवादीको न्याय विभागमा उजुरी दिएका थिए । विप्लव पार्टीको न्याय विभागका आदर्श कमरेडले शुभकामना मार्गका अध्यक्ष गिरीलाई ठेकेदारको पक्ष लिंदै भुक्तानी किन नदिएको भनेर सातो लिने प्रयास गरेका छन् । बिप्लवको पार्टीको न्याय विभागका आदर्शले कामै नगर्ने ठेकेदारको पक्ष लिएपछि उक्त पार्टी कस्ताहरुको चंगुलमा परिसकेको रहेछ भन्ने खुलेको छ ।

न्याय विभागका नाममा उजुरी लिंदै जसले पैसा दिन्छ, त्यसकै पक्षमा काम गरेको आरोप विप्लव माओवादीका आदर्श कमरेडमाथि लाग्दैआएको छ । शुभकामना मार्गमा मात्र होइन, काठमाडौं उपत्यकामा विप्लव माओवादीका न्याय विभागका नाममा यस्तै आतंक मच्चाइएको स्रोतले बताएको छ । आदर्शले सूर्य भूजेललाई समेत परिचालन गरी उजुरी परेकाहरुसँग डिल गर्ने गरेको आरोप छ ।

शुभकामना मार्गका ठेकेदार बस्नेतलाई विप्लव माओवादीमा उजुरी दिन उकास्ने काम भने त्यही टोलका चन्द्रमान श्रेष्ठले गरेको समाचार छ । जीएलटीको जग्गा मिचेकोमा ब्यापारी श्रेष्ठ यसअघि विवादमा परेका हुन् ।

यसरी कामै नगरी भुक्तानी माग्ने, नदिएपछि विप्लव माओवादीमा उजुरी दिने कार्यबाट अध्यक्ष गिरी रुष्ट भएका छन् । भाइकाजी तिवारीलाई घुस दिनका लागि कामै नगरेको भुक्तानी ठेकेदारलाई दिनु भन्दा नेपाल सरकारलाई नै ३३ लाख रुपैयाँ फिर्ता गर्ने मनस्थितिमा पुगेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७