बार एशोसिएसनको अध्यक्षमा नेकपाबाट चण्डेश्वर श्रेष्ठ उम्मेदवार


३ फाल्गुन २०७५, शुक्रबार
surendra thapa 1 1

काठमाडौं, ३ फागुन । नेपाल बार एशोसिएसनको आगामी चैत १३ मा हुन गइरहेको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट कानुन ब्यवसायी समूहले बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

surendra thapa 1
चण्डेश्वर श्रेष्ठ र सुरेन्द्र थापा

पूर्व एमालेबाट बिजयकान्त मैनाली र हरिप्रसाद उप्रेती तथा पूर्वमाओवादीबाट रमणकुमार श्रेष्ठको तानातानमा तेस्रो ब्यक्तिका रुपमा चण्डेश्वर श्रेष्ठले बाजी मारेका छन् । अघिल्लो पटक एमाले–माओवादी तालमेल हुँदा माओवादी निकट कानुन गणतान्त्रिक कानुन ब्यवसायी समूहलाई अध्यक्ष दिने सहमति भएको थियो ।

त्यही सहमतिअनुसार रमणकुमार श्रेष्ठले दाबी गरेका थिए । तर माओवादीबाट रमणकुमारलाई नदिई चण्डेश्वर श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । उमेरले पाका श्रेष्ठ बारको अध्यक्ष उम्मेदवारको चर्चामै थिएनन् । तर बरिष्ठ अधिवक्ता शम्भु थापाहरुले रमणकुमार श्रेष्ठलाई कुनै हालतमा स्वीकार नगर्ने अड्डी कसेपछि विवादरहित चण्डेश्वर श्रेष्ठलाई नेपाल कानुन ब्यवसायी समूह(एनएलए)ले उम्मेदवार बनाएको छ ।

एनएलएका एक पदाधिकारीका अनुसार उपाध्यक्ष र महासचिवमा पूर्वएमालेनिकट कानुन ब्यवसायी इश्वरी भट्टराई र सुरेन्द्र थापालाई उम्मेदवार बनाउन लागिएको छ ।
त्यसैगरी नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएसनमा उम्मेदवार चयन गर्न बैठक बसिरहेको छ ।

कांग्रेसमा अध्यक्षका लागि माधव बास्कोटा, सुनिल पोखरेल, यदु खनालको नाम छ । यसअघि शेरबहादुर केसी बारको अध्यक्ष उम्मेदवार भइरहँदा बाँस्कोटालाई यो निर्वाचनमा अध्यक्ष बनाउने सहमति भएकाले उनको संभावना छ । डीएलएसमा महासचिवका लागि मेघराज पोखरेल, अरुण ज्ञवाली, एघराज पोखरेल, सागर बिष्ट लगायतको नाम चर्चामा छ ।

बार एशोसिएसनको निर्वाचनका लागि २०७५ फागुन ६ मा उम्मेदवार दर्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७