के पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगाइएको हो ?

गायक शर्मा भन्छन्, 'शब्द परिमार्जनका लागि आफैले हटाएको हुँ'


४ फाल्गुन २०७५, शनिबार
Pashupati Sharma

काठमाडौं, ४ फागुन : गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत हटाएपछि सामाजिक सञ्जालमा सरकारको तिव्र बिरोध भएको छ । सरकार गीतबाट डराएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

गीतमा प्रयोग भएका केही शब्दमा विवादमा आएपछि गायक शर्माले युट्युवमा राखिएको आफनो
‘लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’ बोलको गीत शनिबार हटाएका थिए । तर आलोचकहरुले भने गीतमाथि प्रतिबन्ध लगाइएको भन्दै बिरोध गरेका छन् ।

Pashupati Sharma


तर गायक शर्माले र गीतमा समावेश शब्दहरुलाई परिमार्जनको लागि हटाएको जनाएका छन् । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ति शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।’

शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । एकै दिनमा गीत भाइरल भएपछि यो गीतको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भएको थियो । उनले आफ्नो उद्देश्य देशमा सुशासन कायम होस् भन्नेमात्र रहेको र कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको बताएका छन् ।

गीतमा प्रधानमन्त्री केपी शर्मा ओली ओलीप्रति पनि कडा व्यङ्ग्य गर्दै स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि नेकपा निकट कार्यकर्ताहरुले बिरोध जनाएका थिए । गीतमा राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने हेलिकप्टरको प्रसंग पनि जोडिएको छ ।

शर्माको भनाई :

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरूमा सादर नमस्कार !

हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरूले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। तर सोही गीतमा प्रयोग भएका केही शब्दहरूलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु।

सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिनँ। तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु। मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनीतिक दल या संस्था संग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।

सुझाव दिनुहुने राजनीतिक व्यक्तित्वहरू, मेरा अग्रज एवं समकालिन साथीहरूलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तरहृदयदेखि माफी चाहन्छु। मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो। यसमा म पुन: प्रष्ट पार्न चाहन्छु। अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु।

र, अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु।

पशुपति शर्मा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७