सुमन श्रेष्ठ स्टाफ कलेजको ३३ औँ ब्याचका उत्कृष्ट शाखा अधिकृत


५ फाल्गुन २०७५, आईतवार
Section Officers

काठमाडौं, ५ फागुन । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)को ३३ औँ ब्याचमा सुमन श्रेष्ठ उत्कृष्ट अधिकृत भएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्ने नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औं आधारभूत प्रशासन प्रशिक्षणमा उत्कृष्ट ठहरिएका हुन् ।

उनी राजश्व, लेखा, न्याय, कानुन र सरकारी बकिल समुह तथा लेखापरीक्षण र परराष्ट्र सेवाको समुहको उत्कृष्ट भएका हुन् । यसअघि सबै समुहका उत्कृष्ट एक–एक गरी ६ जना छनौट गरिएको थियो ।

छ वटा समुहहरूमा पाथिभरा समुहबाट रविन्द्र राज भण्डारी(परराष्ट्र सेवासमुह), स्वयम्भू समुहबाट सुमन श्रेष्ठ (राजस्व सेवासमुह), नारायणी समुहबाट विमल पाैडेल (राजस्व सेवासमुह), लुम्बिनी समुहबाट सीता अधिकारी (सरकारी वकिल सेवा समुह), खप्तड समुहबाट गजेन्द्र भट्टराई (राजस्व सेवा समुह), रारा समुहबाट स्वेता शर्मा (न्याय सेवा समूह) उत्कृष्ट भएका थिए ।

३३ औँ ब्याचका सामान्य प्रशासनका अधिकृतहरुकाे भने प्रतिष्ठानमै प्रशिक्षण जारी नै छ ।

lalababu pandit
उत्कृष्ट ठहरिएका नवनियुक्त शाखा अधिकृत सुमन श्रेष्ठलार्इ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित माया चिनाे हस्तान्तरण गर्दे । तस्बिर: राजन विक

शनिबार प्रतिष्ठानले आयोजना गरेको समापन समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नवनियुक्त अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । उत्कृष्ट श्रेष्ठलाई मायाको चिनो समेत प्रदान गरिएको थिए ।

प्रशिक्षणमा १७२ जनालाई नवनियुक्त अधिकृत सहभागी रहेका थिए ।

उनले नव नियुक्त कर्मचारीलाई हँसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न समेत आग्रह गरे । उनले राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताए । मन्त्री पण्डितले कर्मचारीलाई अनुशासन र जिम्मेवारी बनाउने गरी नयाँ कानूनमा प्रस्ताव ल्याएको समेत जानकारी गराए ।

section officer
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित प्रमाणपत्र लिँदै नवनियुक्त शाखा अधिकृतहरू ।

कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक ईश्वर नेपालले तालीममा सिकेका आचरण र व्यवहार आफनो कार्यक्षेत्रमा राम्रोसँग लागू गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले तीन महिनामा सिकेका कुरालाई व्यवहारमा उतारेर जनतालाई सेवा दिनुपर्ने बताए ।

‘२० हजार नयाँ कर्मचारी भर्ना तत्काल खुल्दैछ ’
समारोहमा मन्त्री पण्डितले कर्मचारीको समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना शुरु गरिने बताए ।

lalbabu

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित । फाइल तस्बिर

‘लोकसेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ’, उनले भने, ‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना शुरु हुनेछ ।’ मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसद्बाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने बताए ।

उनले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाउने समेत बताए । उनले मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने बताए । ‘यस पटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु’, उनले भने, ‘सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७