‘छोरी जन्मिँदा अनुहार अँध्यारो बनाउनेहरु समाजमा अझै धेरै छन्’

प्रगति राई कवि तथा आख्यानकार हुन् । उहाँको ‘वादी विज्ञप्ती’ कविता संग्र्रह, ‘लेखककी स्वास्नी’ र ‘बिर्सिएको मृत्यु’ उपन्यास प्रकाशित छन् । उहाँ साहित्यसँगै महिला पनि वंश अधिकार पाउनुपर्छ भनेर लागिरहनु भएको छ । उहाँ मुलबाटो प्रतिष्ठान नेपालको नामको संस्थामार्फत विभिन्न जनचेतनाका कार्यक्रम तथा बहस सञ्चालन गर्दे आइरहनु भएको छ । उहाँसँग यसै विषयमा केन्द्रित भएर नयाँपेज डटकमका रविन राईले गरेका कुराकानी  :


१. आजभोलि तपाईको के गर्दै हुनुहुन्छ ?


अहिले तत्काल चाँहि मुलबाटो प्रतिष्ठान नेपाल भनेर एउटा संस्था खोलेका छौं । जसले छोरीलाई वंशको अधिकार भनेर वकालत गर्छ । हामीले विभिन्न कार्यक्रमहरु पनि गरेका छौं । यही विषयलाई लिएर फागुन ४ गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गर्दैछौं । ४ गते लैङ्गिक हिंसाविरुद्ध कविता वाचन तथा चित्रकला प्रदर्शन कार्यक्रम टुँडिखेलमा आयोजना गरेको छौं । ११ गते ‘महिला दिवस र यसको औचित्य’ भन्ने विषयमा विराटनगरमा कार्यक्रम हुँदैछ । १८ गते ‘लैङ्गिक हिंसाविरुद्ध पुरुष भूमिका’ भन्ने कार्यक्रम खुलामञ्चमै गर्दैछौं र २४ गते छोरीलाई ‘वंशको अधिकार’ भन्ने विषयमा पोखरामा बहस कार्यक्रम गर्दैछौं । म अहिले यिनै कार्यक्रमहरुको तयारीमा व्यस्त छु ।

२) धेरै कार्यक्रमहरु आयोजना गर्नु भएको रहेछ, कार्यक्रममा अरुको साथ सहयोग चाँहि कस्तो छ ?


प्रायः हामीलाई भन्ने गर्नुहुन्छ–‘कार्यक्रम हलभित्र गर्नुपर्ने थियो किन बाहिर गर्नुहुन्छ ?’ हामी चााहि सडकमा, खुल्ला मैदानमा गर्न चाहन्छौं । मैले जुन काम गरिरहेको छु हलभित्र पनि मलाई चिन्ने, बुझने मेरा शुभचिन्तक नै आउनु हुन्छ । तर, हामीले चाँहि यी कुराहरु आफन्त र शुभचिन्तकसँगै बाहिरका मान्छेहरुलाई पनि सुनाउनु पर्ने, बुझाउन पर्ने भएकाले बाहिर सडकमा कार्यक्रम गर्ने तयारी गरेका हौं ।

३) यी कार्यक्रमहरु कुन क्षेत्रका मानिसहरुलाई लक्षित गरेर गर्दै हुनुहुन्छ ?

हिंसा भन्ने कुराले कुनै पनि जाति, क्षेत्र छुट्याउँदै । लैङ्गिग हिंसा सबै जाति, क्षेत्रमा विद्यमान छ । यसलाई न्यूनीकरण गर्न यसलाई के–के प्रयत्न गर्नुपर्छ भन्ने विषयमा कार्यक्रमहरु राखेका छौं । यसमा सबै क्षेत्र, वर्ग, लिङ्ग र समुदायका व्यक्तिहरु सहभागी हुनुहुन्छ ।

४) नेपालमा बालबालिका र महिलाहरु विभिन्न किमिका हिंसाबाट प्रताडित भइरहनु परेको एउटा दुःखद अवस्था छ । शिक्षा, स्वास्थ्य, रोजगारी, हिंसालगायत धेरै खालका समस्याहरुसँग महिला बालबालिकाले जुधिरहनु परेको अवस्था पनि छ, तपाईको संस्थाले चाँहि महिलाको कुन क्षेत्रलाई बढी प्राथमिकताका साथ उठाइरहेको छ ?


अहिले हामीले महिलालाई प्राथमिकतामा राखेका छौं । महिला भन्नाले बालबालिका पनि पर्छन् । अहिले साना–साना बच्चीहरु पनि यौन दुव्र्यवहारमा परेर पीडित भइरहेका छन् । यो कम गर्नु अहिले विकासोन्मुख देशहरुको लक्ष्य र आवश्यकता पनि हो । देश कुन स्तरमा छ भन्ने कुराको चित्र पनि समाजमा महिला, बालबालिकाको अवस्था कस्तो छ भन्ने कुराले निर्देश गर्छ । हामी के प्रयत्न गरिहेका छौं भने हिंसा गर्नेहरुलाई सजाय दिलाउने त आफ्नो ठाउँमा छ, उसलाई हिंस्रक बन्ने वातावरण सिर्जना हुन नदिने र हिंसात्मक सोंचबाट उसलाई कसरी विमुख गराउन सकिन्छ र यसका लागि के–के प्रत्यन गर्नुपर्छ र गर्न सकिन्छ भन्ने कुरामा हामी क्रियाशिल छौं । यो हाम्रो संस्थाको मान्यता पनि हो ।

५) महिलाको हकहित र अधिकारका लागि संस्थागत रुपमा वकालत गर्दै आइरहनु भएको छ । दीर्घकालीन रुपमा महिलालाई संगठित गर्दै अभियान जारी राख्न संस्था पनि सवल हुन आवश्यक छ । संस्थालाई सक्षम बनाउन त बजेटको कुरा पनि आउँछ कसरी संस्था सञ्चालनको स्रोत जुटाइ रहनु भएको छ ?

यो संस्थामा मलाई सहयोग गर्ने साथीहरु, दिदीबहिनी, दाजुभाइहरु धरै हुनुहुन्छ । देश– विदेशबाट संस्थाको काम र उद्देश्यबाट प्रेरित भएर आर्थिक सहयोग गर्नुहुन्छ । मनोबल पनि बढाउने काम गर्नुहुन्छ । संस्थामा आवद्ध सदस्यहरुको भरपुर सहयोग छ । उहाँहरुको सहयोग र संस्था सदस्यहरुको सक्रिया सहभागिताले आजका दिनसम्म अगाडि बढिरहेका छौँ ।

६) महिलाको क्षेत्रमा काम गर्ने तपाईहरुको जस्तो संस्थालाई सरकारी तहमा चाँहि कस्तो सहयोग छ ? तपाईहरुले पनि सरकारी तहबाट सहयोग पाइरहनु भएको छ ?

हामीले ठूला कार्यक्रमहरु पनि गर्न सकेका छैनौं । हामीले काम शुरुवात गरेको २ वर्ष जति भयो । अहिलेसम्म चाँही संस्थामा आवद्ध कमिटीका सदस्यहरुको खल्तीकै पैसाबाट चलिरहेका छौँ । यसलाई विस्तारै आर्थिक स्थिति सुधार गर्दै महिलाका क्षेत्रमा अलि व्यापक कार्यक्रमहरु बनाएर जानु पर्छ भन्ने सोंच बनिरहेको छ । अहिले चाँही सानो स्किम र गोजीकै स्रोतले काम गरिरहेका छौं ।


७) तपाई त साहित्यकार पनि समाजमा आधा आकाश ओगटेका महिलाका समस्याहरुलाई मिहीन रुपमा बुझ्नु भएको छ, तपाईको नजरमा महिलालाई समाजमा सशक्त बनाउन के–के काम गर्नुपर्ला ?

अहिले महिला पनि दुई खेमामा विभाजित भए जस्तो पाइरहेको छु मैले चाँहि । एकखाले चाँहि शोषित छौं, पीडित छौं अहिलेको सामाजिक संरचनालाई ध्वत बनाउनु पर्छ भन्ने पनि छन्, अर्को चाँही खान–लाउन पाएकै छौं, किन हामीले आन्दोलन गरिराख्ने, अन्याय परियो भने पुलिस, प्रशासन छँदैछ नि भन्ने खालका पनि महिलाको ठूलो समूह छ । तर हामी चाँही भएका संरचनालाई भत्काउने पनि होइन । जुन ठाउँमा जे संरचना हुनुपर्छ, त्यो स्थापित नगर्नेहरुलाई पनि जागरुक गराउने र भएका संरचनालाई ध्वस्त गराउने होइन पुनर्विनियोजन गर्दै सुधार गर्नुपर्छ भन्ने पक्षमा हामी छौं ।

८) महिलालाई सशक्त बनाउन, व्यक्ति, समाज, निजी संस्था अनि सरकारले के–कस्ता भूमिका निर्वाह गर्नुपर्ला जस्तो लाग्छ तपाईलाई ?

अहिलेसम्म हामीले सरकारसँग समन्वय गरेका छैनौं तर, पनि हाम्रो काम र सरकारले दिएका अधिकार तादम्यता मिलेको छ । हामी छोरीलाई वंशको अधिकार भन्छौं, छोरीलाई वंशको अधिकार भन्दा महिलाको अधिकार मात्र जस्तो लाग्छ । तर, यो समाजको अधिकार हो । एउटा छोरा, छोरा भएर जमिन्छ, घरमा आफूलाई जति शक्तिशाली महसुस गरिहेको हुन्छ । त्यसपछि बिहे गर्छ, उ छोरी जन्मिएला कि भनेर डराउने गर्छ, छोरी जमिन्छ, फेरि छोरी जमिन्छ, उसको मनोबल गिर्छ, किनभने मेरो अस्तित्व समाप्त हुँदैछ । पुरातन मान्यतामा जस्तो सात–आठ छोराछोरी जमाउने स्थिति पनि छैन् अहिले । आर्थिकरुपमा धान्न पनि कठिन हुन्छ । एकातिर समाजले छोरीलाई सम्मान गर भनिरहेको हुन्छ । अर्कोतिर छोरी भनेको अर्काको लागि हो, उसलाई विहे गरेर पठाउनु पर्छ त्यसपछि वंश नाङ्गो हुन्छ भन्ने अवस्था छ । यो मान्यता भत्काउनु पनि छोरीलाई वंशको अधिकार चाहिन्छ । जबसम्म छोरीलाई वंशको अधिकार हुँदैन् तबसम्म महिला समानता र अधिकार कहिल्यै पूरा हुँदैन् । यस विषयमा हामीले बहस गरिहेका छौँ ।

अहिले महिला पनि दुई खेमामा विभाजित भए जस्तो पाइरहेको छु मैले चाँहि । एकखाले चाँहि शोषित छौं, पीडित छौं अहिलेको सामाजिक संरचनालाई ध्वत बनाउनु पर्छ भन्ने पनि छन्, अर्को चाँही खान–लाउन पाएकै छौं, किन हामीले आन्दोलन गरिराख्ने, अन्याय परियो भने पुलिस, प्रशासन छँदैछ नि भन्ने खालका पनि महिलाको ठूलो समूह छ ।

कानुनी रुपले महिलालाई बंशको अधिकार त दिएको छ तर, स्थानीय सामाजिक संस्कारहरुले स्वीकार नगरिरहेको अवस्था छ । यसमा अगुवाको भूमिका निर्वाह गर्ने महिला छैनन् पुरुषहरु छन् । छोरीलाई वंशको अधिकार भन्नु चाँही पुरुषमा पनि महिला बुहारी भएर गए जस्तै अर्काका घरमा निर्वासित भएर जानुपर्छ । त्यहाँ गएर बुहार्तन खेप्न पर्छ भन्ने मनोदशाले गाँजिएको हुनाले पनि त्यो कुरा होइन भन्ने स्पष्ट पार्नु पर्ने आजको आवश्यकता र चुनौती छ ।

९) तपाईको लेखनले पनि महिला विविध विषयहरुलाई उठाइरहेको पाइन्छन् । यही क्षेत्रमा काम पनि गरिरहनु भएको छ । तपाईको यो अभियानमा महिलाहरुको चाँहि सहभागिता, सक्रियता, चासो र समर्थन कतिको पाउनु भएको छ ?

सहभागिता भन्दाखेरी ठिक उल्टो तरिकाले बुझनु पर्छ । किनभने हामीले जे काम गरिरहेका छौं ती आवाजविहीनहरुको, चेतनाविहीनहरुका लागि हो । उनीहरुलाई यो कुरामा सर्पोट गर्नुपर्छ भन्ने चेतना नै हुँदैन् । कोही मान्छेहरु एक्लै बोलिरहेको छ भने चेतनाबिहीनहरुको आवाज बोलिरहेको छ भने उसले आवाजबिहीनहरु आवाज बोलिरहेको छ भनेर बुझनुपर्छ । महिलाहरुमा पनि विस्तारै विस्तारै चेतना आउने क्रम जारी छ । विस्तारै सहभागिता बढ्नेछ भन्ने अपेक्षा लिएका छौँ । अहिले त्यस्तो धेरै अपेक्षामा पनि छैनौ हामी ।

हामीले कुनै एउटा वर्गलाई मात्र लिन मिल्दैन । पुरुषहरुले पनि हामीलाई धेरै सर्पोट गर्नुभएको छ । कतिपय शिक्षित र बुझेका पुरुषहरुले विरोध पनि गर्नु भएको छ । ‘विहे गरेर श्रीमानसँग बस्नु कहाँ सुख छ । कतिले छोरीलाई अगाडि सारेर वंशको अधिकार खोज्दा सम्भव छ र ? पनि भन्छन् । कतिपय छोरी जन्माएरै हेला भएका महिलाहरुको पनि यस्तो प्रश्न गर्छन् । त्यसकारण वर्गको अपेक्षा गर्नु हुन्न । महिलाको विषय लिएर महिलाले सर्पोट गर्नुपर्छ भन्ने अपेक्षा गर्नुहुन्न । जोमा चेतना छ । समानताका लागि छ भनेर बुझनुहुन्छ । महिला–पुरुष सबैले सर्पोट गर्नुभएको छ ।

१२) तपाई एउटा साहित्यकार, संस्थाको अगुवा यी सब कामका लागि समय कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

म घरको मुली, लेख्नेमा पनि र यतातिर पनि । धेरैतिर हुँदा अलिअलि बिग्रन्छ, अलिअलि सप्रिन्छ । यस्तै गरेर जीवन चलिरहेको छ । कार्यक्रमहरु गर्ने भएपछि दुई–तीन महिना अघिदेखि लेखनलाई बन्द गर्छु र कार्यक्रमलाई नै महत्व दिन्छु । मैले लेख्न छोडेको दुई महिना भयो । अझै एक महिना यसै कार्यक्रमलाई दिन्छु । त्यसपछि लेखनलाई समय दिनुपर्ला भन्ने योजना छ ।

१४) तपाईका केहि सिर्जनाहरु बजारमा आइसकेका छन्, अबको साहित्यीक योजनाहरु चाँहि के छन्, के योजना बनाइरहनु भएको छ ?

अब ‘लेखकको स्वास्नी’ फेरि रिप्रिन्ट गर्ने । अहिले यो पुस्तकको स्टक सकिएको अवस्था छ । पाठकहरुले मन पराइ रहनुभएको छ । र, मलाई अहिलेसम्म साथ समर्थन पनि दिइरहनु भएको छ । त्यसपछि ‘बिर्सिएको मृत्यु’ तेस्रो संस्करण प्रकाशित भइसकेको छ । ‘वादी विज्ञप्ती’ कविता संग्रह केही नयाँ कविताहरु थपेर पुनः प्रकाशन गरौं कि भन्ने सोंचमा छु । चैतभित्रमा दुई कृति प्रकाशति गर्दैछु । ‘थाङग्रा’ शीर्षकको नयाँ कृति लेखन बैशाख महिनासम्ममा सक्छु भनेर कठोट लिएको छु ।


पर डाँडामा बसेर बजारमा किताब धेरै आए भनेर गुनासो गरेर नबसौँ । भन्न चाहन्छु । जति धेरै हामीसँग विषयवस्तु हुन्छ । त्यति धेरै खारिएका नयाँ कृतिहरु आउँछन् ।

यसैका लागि महिलाहरुको स्थिति बुझ्न पश्चिमी जिल्ला भ्रमणमा पनि गएको थिएँ । बैतडी, बाजुरातिर महिलाको अवस्था निक्कै भिन्न र फरक पाएँ । अर्कै देश जस्तो लाग्ने । हाम्रो देशको कानून भन्दा पनि धार्मिक रीतिरिवाजले समाज र महिला निर्देशित हुने । त्यो देखेर अझै त्यो ठाउँमा गएर दुई–चार वर्ष बसेर त्यो समाज र महिलाको अवस्था गहन रुपमा अध्ययन गरौं, केहि सिर्जना गरौं जस्तो मन भएर आएको छ । तर, विभिन्न कामहरुले गर्दा अल्झिइरहेको छु म । यहि समाजको चित्र उतार्ने जमर्कोले उपन्यास ‘थाङग्रा’ बैशाखभरमा नसके भदौसम्ममा चाँहि पक्कै सक्ने गरी लाग्ने छु ।

१५) एउटा साहित्यकारको आँखाले अहिले बजारमा आइरहेका साहित्यीक सिर्जनाहरुलाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ ?

दुई–चार जना समीक्षकहरुको आरोप छ, बजारमा नचाहिँदा धेरै किताबहरु आए भन्ने । जसले केही पनि लेख्दैन उसले बढी आलोचना गर्छ । लेख्नेहरुको पनि प्रोत्साहन नगर्ने । म चाँहि सबैलाई प्रोत्साहन नै गर्छु । जानेको लेख्नुहोस् । त्यसले तपाईलाई बजारमा स्थापित गर्न सक्छ । तपाईको विचार स्थापित गर्ने हो । पर डाँडामा बसेर बजारमा किताब धेरै आए भनेर गुनासो गरेर नबसौँ । भन्न चाहन्छु । जति धेरै हामीसँग विषयवस्तु हुन्छ । त्यति धेरै खारिएका नयाँ कृतिहरु आउँछन् ।

१६) अहिले त साहित्यका विभिन्न विधामा युवाहरुको आशलाग्दो प्रवेश देखिइरहेको पनि छ, उहाँहरुको साहित्यप्रतिको झुकावका बारेमा तपाईको धारणा ?

म चाँहि अध्ययन गरेर भन्दा पनि आफूले महसुस गरेको विषयमा लेख्ने गर्छु । अहिलेका युवाहरुमा पनि त्यस्तै देख्छु । मैले पनि नयाँ विषयहरुमा लेख्न सकिरहेको छैन् । युवाहरुमा लेखनमा आउनु हामी साहित्यकारहरुका लागि एकदमै ठूलो कुरा हो ।

अन्त्यमा के भन्नु हुन्छ ?

मेरो सिर्जना पढेर सर्पोट गरिरहनु भएको छ । उहाँहरुलाई धेरै धेरै धन्यवाद । लेखनसँगै कामहरु पनि बढाइरहेका छौं । यो चाँहि नितान्त महिलाको विषय नभएर सिङ्गो समाजको विषय हो । छोरी जन्मिएको घरमा खुशीयाली हुनुपर्नेमा अन्धकार छाउँछ । पहिलो जन्मिँदा लक्ष्मी भने पनि दोस्रो, तेस्रो जन्मिँदा विभिन्न संज्ञा दिइन्छ । हुर्काएर, बढाएर आफूलाई पाल्ने उमेर भएपछि अर्कालाई दान दिनुपर्छ, यो अवस्थाले महिलाहरुको अवस्था नाजुक छ । कानुनले दिइसके पनि स्थानीय सँस्कार, सँस्कृतिले रोकिरहेको छ । यदि कसैलाई त्यो परेमा हामीलाई जानकारी गराई दिनुहोस् । हामी सहयोग गछौँ । र हाम्रो मुलबाटोले गरेको कार्यक्रममा के गर्दा राम्रो हुन्छ सुझाव सल्लाह दिनुहोस्, कार्यक्रमहरुमा सहभागी भई दिनुहोस् भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्