गीत हटाएपछि पशुपति शर्मा झन भाइरल


५ फाल्गुन २०७५, आईतवार
pashupati sharma

काठमाडौं, ५ फागुन । गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीत युट्युवबाट हटाएपछि अहिले गायक शर्मा झन भाइरल भएका छन् ।

pashupati sharma

सिंहदरबारको समेत ध्यानाकर्षण गराएको यो गीतलाई लिएर अहिले सामाजिक सञ्जालमा सरकार र सत्ता पक्षको धेरै नै आलोचना भइरहेको छ । सरकार समर्थक गीतको आलोचनामा देखिएका छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ता भने गायक शर्माको पक्षमा देखिएका छन् ।

गायक शर्माले तीन दिनअघि मात्र ‘लुट्न सके लुट’’ बोलको गीत सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन् । शर्माले शनिबार साँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए । उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ ।

नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसङ्ग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाइरहेका छन् । सरकारी कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई लयमा ढालिएको छ ।

सामाजिक सञ्जालमा गायक पशुपति शर्माको गीतलाई दिएर धेरैखालका प्रतिक्रियाहरु सामाजिक सञ्जालमा आएका छन् । नेकपा निकट विद्यार्थी नेता सुरेन्द्र बस्नेतले शर्माको गीतमाथि प्रतिबन्ध लगाउनु पर्ने स्ट्याटस फेसवुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘पशुपति शर्माको पछिल्लो गीत वहिष्कार गरौं ।

सार्वजनिक संचारको माध्यमवाट मनपरी गर्न पाइन्न । लुट्नलाई खुल्ला आह्वान गर्ने, मुलुकमा यमराजको शासन देख्ने, सम्मानित राष्ट्रपतिलाई विवादमा तान्ने, राजनीतिक कार्यकर्तालाई कुकुर भन्ने, भिडियोमा नियोजित रुपमा पटक पटक कम्युनिष्ट पार्टीको झण्डा देखाउने यो प्रायोजित गीतलाई प्रतिवन्ध लगाउनुपर्छ ।’।

नेकपा निकट युवा संगठनका नेता रामप्रसाद सापकोटाले भने यस गीतको बारेमा सन्तुलित प्रतिक्रिया व्यक्त गरेका छन् । उनले शर्माको आलोचनात्मक चेतसँग आफू सहमत भए पनि उनको भाषासँग असहमत भएको लेखेका छन् । तर आलोचनाकै आधारमा उनको गीतमाथि प्रतिवन्ध लगाउने सोच्नु गलत हुने उनको भनाई छ ।

‘गायक पशुपति शर्माको आलोचनात्मक चेतसँग म पनि सहमत छु । कलाकारले अलिकति आक्रोश, अलिकति व्यांग्य र राजनीतिक सत्तामा देखिने विकृतिलाई खबरदारी गर्नैपर्छ तर उनको भाषा शैलीसँग सहमत हुन सकिन्न । कार्यकर्ता सुबै कुकुर होइनन्, नेता सबै भ्रष्टचारी हुँदैनन्, शाषक सबै यमराज होइनन् । राष्ट्रियस्तर र चर्चित कलाकारले यस्तो असभ्य भाषा प्रयोग गरेको सुहाएन । तर सरकारले उनको गीतमाथि आलोचनाकै आधारमा प्रतिबन्ध लगाउने सोच्नु निरकुंशता हुन्छ ! मैले बुझेको कुरो यत्ति !

संगीतकार चेतन सापकोटाले बस्नेतको स्ट्याटसमा कमेन्ट गर्दै भनेका छन्, ‘गणतन्त्रमा बोल्न चै पाइने गीत गाउन नपाइने हो ? लुट्न पाइने लुटेछन भन्न न पाइने हो त्यसो भय कम्युनिष्ट शासन हैन यो ।’ सञ्चारकर्मी दिल निसानी मगरले एउटा स्थापित गायक–सर्जकलाई शब्द चयन गर्न सिकाई हाल्नु पर्ने, गीत सुन्न पनि नपाइने, सधैभरी उखान–टुक्का मात्रै सुनिदिनु पर्ने । यो कस्तो शासन हो ? भन्दै प्रश्न जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७