कोटेश्वरको जाम जापानले हटाई दिने, विज्ञ टोली थाल्यो अध्ययन्


५ फाल्गुन २०७५, आईतवार
kathmandu koteshwor

काठमाडौं, ५ फागुन । विभिन्न खालका उपाय लगाउँदा पनि व्यवस्थापन हुन नसकेको काठमाडौंको कोटेश्वरमा हुने जाम हटाउन जापानले सहयोग गर्ने भएको छ ।

kathmandu koteshwor

काठमाडौंको कोटेश्वरमा हुने ट्राफिक जामको समस्या दीर्घकालीन रुपमा हटाउनेबारे जापानी विज्ञको टोलीले अध्ययन अगाडि बढाइसकेको छ । यहाँको जाम हटाउनका लागि सुरुङमार्गसहित अन्य धेरै विकल्पहरुका बारेमा अध्ययन शुरु भइसकेको जनाइएको छ ।

सडक विभागको अगुवाइमा जापानी नियोग जाइकले कोटेश्वरका जाम हटाउनेबारेमा अध्ययन अगाडि बढाइसकेको जनाइएको छ । सात जना जापानी विज्ञहरुको टोलीले सम्भावित विकल्पहरुबारे अध्ययन शुरु गरिसकेको विभागको वैदेशिक समन्वय महाशाखाका प्रमुख केशव शर्माले जानकारी दिएका छन् ।

विज्ञहरुको टोलीले एक महिना लगाएर त्यसक्षेत्रमा अपनाउन सकिने सम्भावित विकल्प र रायसहितको प्रतिवेदन सडक विभागलाई दिने बताइएको छ । प्रारम्भिक अध्ययनबाट आएका विभिन्न विकल्पमाथि छलफल गरी उपयुक्त निर्णय गरिने महाशाखा प्रमुख शर्माले बताएका छन् । तीनकुने–कोटेश्वर–जडिबुटी सडकखण्डमा अण्डरपास, फ्लाइओभर वा अन्य के उपयुक्त हुन्छ त्यो अध्ययनबाट सुझाव आउने र त्यहि अनुसार डीपीआर निर्माण हुने उनले बताए ।

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष ०७५–७६ को बजेटमा कोटेश्वरमा अण्डरपास निर्माण गर्ने उल्लेख गरेका थिए । अघिल्लो बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर अण्डरपास बनाइने उल्लेख थियो । तर, सडक विभागले अन्य विकल्प खुट्याउन विज्ञहरुमार्फत अध्ययन अघि बढाएको हो । कोटेश्वरबाट पूर्वी क्षेत्रका बासिन्दा काठमाडौं छिर्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ ।

काठमाडौंबाट बाहिरिने सवारी साधन कोटेश्वर चोकमा पुगेर यात्रु ओराल्ने र पर्खेर बस्ने गर्छन् । त्यस कारण पनि कोटेश्वर चोक अघोषित बसपार्क बनेको छ । भक्तपुर नगरपालिकाले पनि कोटेश्वर–जडिबुटी खण्डको जामको समस्या कम गर्न विभिन्न योजनाहरु अगाडि बढाएको छ । यसका लागि अन्इ रुट निर्माण गरी सवारीको संख्या घटाउने विषयमा विभिन्न चरणको छलफल भक्तपुरले अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७