१५ सय घुस लिंदा जागिर जाने, ७८ लाख लिने अख्तियारका आयुक्तमाथि केही नहुने ?


६ फाल्गुन २०७५, सोमबार
raj narayan pathak 8BzM9O4fct

काठमाडौं, ६ फागुन । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले राजीनामा दिइसकेका छन् । आयुक्तले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारको छविमा गम्भीर आघात पुगेको छ ।

raj narayan pathak 8BzM9O4fct

अख्तियारमा नियुक्ति हुने आयुक्तहरू उच्च नैतिक चरित्र भएको हुनुपर्ने प्रावधान संविधानको धारा २३८ को दफा ४ (ङ) मा उल्लेख छ । संविधानले परिकल्पना गरेअनुसारको उच्च नैतिक चरित्र भएका व्यक्तिलाई नियुक्ति नगरी विवादित पात्र राजनारायण पाठकलाई नियुक्ति गर्दा अख्तियारकै प्रतिष्ठामा क्षति पुगेको छ । दलीय भागबण्डाका आधारमा पाठक जस्ता पात्र अख्तियारमा पुग्दा संस्थाको छविमा आघात पुगेको हो ।

अख्तियारले २०७५ पुस १७ मा इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत कम्प्युटर अप्रेटर(नासु) तहका राज्य नारायण साहलाई १५ सय घुस लिंदालिंदै पक्राउ गरेको थियो । ३ बर्षअघि कम्पनी रजिष्टार कार्यालयकी शाखा अधिकृत कविता केसी २ हजार घुस लिंदालिंदै पक्राउ परेकी थिइन् ।

१५ सय घुस लिनेलाई पक्राउ गर्न १ लाख रुपैयाँ खर्च गर्र्ने अख्तियारका आयुक्तले ७८ लाख रुपैयाँ घुस मागेको भिडियो सार्वजनिक हुँदा पनि राजीनामा दिएर उन्मुक्ति दिन लागिएको छ । १५ सय घुस लिने साह संभवतः अदालतबाट बर्खास्त हुनेछन् । तर अख्तियारका आयुक्त पाठकमाथि भने कुनै कारबाही हुने संकेत देखिएको छैन । उनले महाभियोग लाग्नसक्ने भएपछि राजीनामा दिएर उन्मुक्ति खोजे । राजीनामा स्वीकृत गरेर उनलाई उन्मुक्ति दिइएको छ ।

अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पाठकमाथि आयोगले नै कारबाही गर्नसक्ने बताउँछन् । उनले राजीनामा दिइसकेकाले अख्तियारले कारबाही गर्नसक्ने उनको तर्क छ ।
‘पदमा भएको भए महाभियोग लगाइसकेपछि मात्र कारबाही अगाडि बढ्छ, तर राजीनामा दिइसकेकाले अख्तियारले कारबाही गर्नसक्छ । गर्नुपर्छ, अख्तियारको छवि जोगाउन पनि कारबाही हुनुपर्छ ।’ उपाध्यायले एक अनलाइन टीभीसँग भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७