मुस्लिम आयोगका अध्यक्ष अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नै नक्कली !

नेपालमा नक्कली बुबा–आमा बनाएर नागरिकता लिएको आरोप


६ फाल्गुन २०७५, सोमबार
mushlim

काठमाडौं, ६ फागुन । संसदीय सुनुवाइ विशेष समितिमा मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबीसहित उजुरी परेको छ ।

mushlim

सुनुवाइ विशेष समितिको आइतबारको बैठकले विभिन्न संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षहरूविरुद्ध उजुरी खोल्दा यस्तो उजुरी पनि भेटिएको छ । समितिमा अन्सारीविरुद्ध मात्र ४ वटा उजुरी परेको र ती गम्भीर प्रकृतिका रहेको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

समिति स्रोतका अनुसार अन्सारीको जन्म भारतमा भएको तर उनले नेपालमा नक्कली आमा–बुबा बनाएर काठमाडौंबाट नागरिकता लिएको उजुरीमा दाबी गरिएको छ । भारतको विहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको पहाडपुर थानाग्राममा अन्सारीको जन्म भएको उजुरीकर्ताको दाबी छ । समितिले उजुरीकर्ताको नाम गोप्य राखेको छ । अन्सारीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको समाचार स्रोतले जानकारी दिएको छ ।

न्सारीले काठमाडौंस्थित मुस्लिम मदरसाबाट ९ कक्षा मात्र उत्तीर्ण गरेको तर, भारतको बिहारस्थित मगध विश्वविद्यालयबाट स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र लिएको उजुरीमा दाबी गरिएको छ । काठमाडौं मदरसाबाट ९ कक्षा उत्तीर्ण गरेका अन्सारीको प्रमाणपत्र तहको सर्टिफिकेटको अवस्था नखुलेको, सन् २००४ मा स्नातकको सर्टिफिकेट लिएका अन्सारीले १४ वर्षपछि (सन् २०१८) मा मात्र नेपालबाट इक्विभ्यालेन्ट गराएको उजुरी उल्लेख गरिएको छ ।

राजनीतिक दलको सदस्यसम्बद्ध व्यक्ति आयोगमा योग्य नहुने भए पनि अन्सारी सत्तासीन नेकपाकै केन्द्रीय सदस्य रहेकाले आयोग अध्यक्षका लागि अयोग्य रहेको उजुरीकर्ताको दाबी छ । सत्तासीन नेकपाको केन्द्रीय सदस्यबाट राजीनामा दिए पनि अन्सारीको नाम केन्द्रीय सदस्यबाट पार्टीले आयोगमा पत्र पठाएको छैन । एक निजी बैंकको चेक बाउन्स काण्डमा अन्सारीलाई पक्राउ गर्न प्रहरीले पुर्जी जारी गरेको पनि समिति स्रोतले जानकारी दिएको छ ।

अन्सारीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि समितिमा रहेका नेकपाका सांसद पार्टी नेतृत्वसँग सल्लाह गर्ने तयारीमा रहेको बताउँछन् । ‘उहाँ (अन्सारी) विरुद्ध गम्भीर प्रकृतिका उजुरी परेकाले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग पनि सल्लाह गर्ने तयारीमा छौं,’ समितिमा रहेका नेकपाका एक सांसदले भने, ‘सरकार र पार्टीको आलोचना हुने काम नहोस् भन्नेमा हामी सचेत छौं ।’

माघ ७ को संवैधानिक परिषदको बैठकले मुस्लिम आयोगमा अन्सारीसहित प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरी सुनुवाइ समितिमा पठाएको थियो ।

सुनुवाइ समितिले १० दिनको समय दिएर प्रस्तावित अध्यक्षहरूविरुद्ध उजुरी आह्वान गरेको थियो । समिति सभापति लक्ष्मणलाल कर्णले उजुरीहरू अध्ययनका लागि सांसदहरूलाई वितरण गरिएको बताए । कांग्रेसले प्रक्रिया नपु¥याई आयोगमा सिफारिस गरिएको भन्दै बैठक बहिष्कार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७