राजस्वका तत्कालिन अधिकृत रिजालविरुद्ध तीन करोडको अकुत मुद्दा


६ फाल्गुन २०७५, सोमबार
specialcourt

काठमाडौं, ६ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध करिब तीन करोडको अकुत सम्पत्ति जोडेको भन्दै मुद्धा दायर गरेको छ ।

सोमबार अख्तियारले विभिन्न कार्यालयहरुमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति कमाएर अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्दै विशेष अदालतमा दुई करोड ९७ लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीसँग विगो जफत गर्न, विगो बराबर जरिवाना गर्न र २ वर्षसम्म कैद गर्न अख्तियारले माग गरेको छ ।

अख्तियारका अनुसार रिजाल र उनको परिवारको नाममा रहेको जम्मा सम्पत्ति चार करोड ९४ लाख २४ हजार थियो । त्योमध्ये उनको वैध आय एक करोड ९६ लाख ८६ हजार मात्र रहेको अख्तियारको ठहर छ ।

रिजालले २०४० मा सरकारी सेवा प्रवेश गरेका थिए । सुरूमा उनी खानेपानी तथा ढल विकासमा अस्थायी कर्मचारी थिए । ०४१ सालमा खरिदार भएर उनी भूमिसुधार विभागमा गए । २०७५ सालमा उनी राजस्व विभाग कार्यालय ललितपुरको शाखा अधिकृत पदबाट अनिवार्य अवकास लिएका थिए ।

३५ वर्षको जागिरे जीवनमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफतसमेत गराउन पनि अख्तियारले माग दाबी गरेको छ । उनले जागीरे जीवनमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, मोटेल डि बटुवा प्रालि एवम् सञ्जीवनी आयुर्वे्दिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स प्रालिहरुमा लगानी, विभिन्न बैंक तथा वितीय संस्था र कम्पनीमा सेयर लगानी, शैक्षिक खर्च, सुन चाँदी खरिद एवँ विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दातसहित चार करोड ९४ लाख २४ हजार आठ सय १९ खर्च तथा लगानी गरेको देखिएको छ ।

उनको वैध आय एक करोड ९६ हजारको तुलनामा दुई करोड ९७ लाख ३८ हजार तीन सय १० बराबरको सम्पत्तीको स्रोत नखुलेको पाइएको छ । सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएकोले वैध आयको तुलनामा दुई करोड ९७ लाख ३८ हजार तीन सय १० रुपैयाँको स्रोत खुल्न नसकेको हो । उनले सरकारी सेवामा प्रवेश गरेपछि त्यो परिमाणको सम्पत्ती श्रोत खुलाउन नसकेकाले अवैधरुपमा कमाएको देखिएको हो ।

रिजालविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन अनुसार गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति जफतसमेत गरी पाउन मागदाबी लिइ आरोप पत्र दायर गरिएको छ । श्रीमती स्वस्थानीसमेतको नाममा राखेको देखिन आएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७