८० हजार किमि सडककोे जिम्मा कसले लिने ?


९ फाल्गुन २०७५, बिहीबार
Pasang Lhamu highway

काठमाडौं, ९ फागुन । देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन ।

Pasang Lhamu highway

देश नयाँ संरचनामा गएपछि कुन–कुन र कस्ता सडक कसले जिम्मेवारी लिने भन्ने टुङ्गो लागि नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । पहिले अधिकांश सडकको जिम्मेवारी सङ्घको भए पनि देशको नयाँ संरचनाअनुसार सडक निर्माण र सुधार प्रदेश र स्थानीय तहको समेत जिम्मेवारी भएको मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले बताए ।

उनका अनुसार कुन–कुन सरकारले कस्ता सडक निर्माण गर्ने भन्ने निर्धारण गर्नका लागि छलफल शुरु भएको छ । राष्ट्रिय गौरवका आयोजनाका सडक निर्माणको ठेक्का सम्झौता सङ्घले नै गरेको उनले बताए । गत सालदेखि यी सडकका लागि बजेट प्रदेशमा गएको छ ।

उनले भने, ‘एउटा तहले ठेक्का सम्झौता गर्ने र अर्काेले बजेट छुट्टाउने हुँदा ठेकेदारलाई समेत अन्योल हुनसक्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत पुस ३ गते बसेको अन्तर प्रदेश परिषद्को बैठकले सङ्घले ठेक्का सम्झौता गरेका राष्ट्रिय गौरवको आयोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पुरानो संरचनाअनुसार सडक विभागले सबै अञ्चलमा रहेका डिभिजन सडक कार्यालय र त्यस मातहतका जिल्लास्थित डिभिजन सडक कार्यालय हुँदै सडक निर्माण र मर्मत गर्दै आएको मन्त्रालयले बताएको छ ।

अहिले अञ्चलस्थित कार्यालय प्रदेशमा हस्तान्तरण भइसकेको प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘हामीसँग फरकफरक नामका सडक भएकाले कुन सडक कसको जिम्मेवारी भनेर स्पष्ट पार्न जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७