रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध


१० फाल्गुन २०७५, शुक्रबार
Shyam 3

बाँके, १० फागुन । श्याम गिरी, उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन संवाद कार्यक्रममा उनी संवाद गर्न भ्याइहाल्छन् । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रेमी वान’ जोडिहाल्ने ४८ वर्षीय श्याम नेपाल आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी हुन् ।

Shyam 3

साथीभाइसँग सहजै निकटता बनाउनसक्ने उनको खुबी हो । उनी नयाँ साथीसँग छिट्टै नजिक बन्छन् र सक्ने सहयोग गर्न तयार हुन्छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्याम यहाँका विभिन्न एफएम स्टेशनले चलाउने फोन संवाद कार्यक्रममा फोन गरेर अन्तरक्रिया गरिरहन्छन् ।

नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रेमीको परिचय बनाएका छन् । रेडियोमा प्रसारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन संवाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उनले ‘मितिनी’ को नाता गाँसे ।

बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियोमोह पनि उस्तै छ । उनी पनि रेडियो हिमालका सबै कार्यक्रममा फोन संवाद गरिरहन्छिन् । राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी स्नातकसम्मको पढाइ पूरा गरेकी २९ वर्षीया श्यामकुमारी गाउँकै अगुवा महिला मात्रै नभई शिक्षितमध्येमा गनिन्छिन् । सामाजिक विभेदविरुद्धका अभियानमा उनको सहभागिता छुट्दैन । गाउँ, समाजमा हुने विभिन्न विभेद विरुद्धका अभियानकर्मीका रुपमा परिचय बनाएकी श्यामकुमारी सोच सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्छिन् ।

श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करीब १९ वर्ष छ । थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा एउटै नामका दुई पात्रले फोन संवाद गरिरहन्थे । रेडियोमा हुने फोन संवादले श्याम र श्यामकुमारीलाई नजिक बनायो र अन्ततः उनीहरुले मितेरी लगाए ।

सायद महिला र पुरुषबीचको यो मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ । रेडियोका कार्यक्रममा हुने फोन संवादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उनीहरु दुवैका परिवारलाई एउटै परिवार जस्तो बनाई दिएको छ, अर्थात् दुवै परिवार एक भए जस्तो बनाई दिएको छ ।

‘नाम मिलेपछि रेडियो संवादकै क्रममा फोन नं आदान प्रदान भयो’, उनीहरु भन्छन्, ‘हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन गर्‍यौँ । यो सम्बन्ध पारिवारिक रूपमा पनि निकट भयो ।’ उनीहरु आफूलाई भाग्यमानी ठान्छन् । सबैले समान लिङ्गबीच मितेरी लगाउँछन्, तर उनीहरुबीचको मितेरीको सम्बन्ध बिल्कुलै नौलो छ ।

श्याम भन्छन्, ‘रेडियोमा नाम सुनँे, मेरै नाम रहेछ, मात्रै जात र लिङ्ग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाएँ । केहीले शङ्का गरे । मैले त्यो शङ्कालाई प्रष्ट्याएँ । हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।’ दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन् ।

श्यामकुमारी भन्छिन्, ‘सकारात्मकरूपमा हामी दुई परिवार एक भएका छौँ । मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिकरूपमा एउटा परिवार भएका छौँ । महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो ।’

नकारात्मक विकारले भरिएका सोचहरुले अरुलाई राम्रो होइन, शङ्काको दृष्टिले हेर्ने उल्लेख गर्दै उनले भनिन्, ‘हाम्रा सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको छ, हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रूपमा मानिरहेकी छु ।’

सङ्गीत सुन्दै शौच गर्नुस्
तपाईं नेपालगञ्जवासी हो वा यहाँ आएको पाहुना ? यदि तपाईं नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै अत्याधुनिक डिजिटल शौचालय नेपालगञ्जमा स्थापना गर्दैछ ।

नेपालगञ्जको केन्द्र धम्बोझी चोक नजिक स्थापना हुन लागेको डिजिटल शौचालयमा सङ्गीतको आनन्द लिँदै आरामका साथ शौच गर्न पाउने व्यवस्था उपमहानगरपालिकाले ल्याएको छ । धम्बोझी चोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा शौचालय स्थापना हुनेछ ।

एकै पटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि जडान भएको डिजिटल शौचालय १०–१५ दिनमै सर्वसाधरणका लागि खुला गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ । उपमहानगरपालिका र एसएनभीको संयुक्त पहलमा डिजिटल शौचालय निर्माण गरिँदैछ ।

केही महिनाअघि शौचालय स्थापना गरिने सो क्षेत्रमा ‘फाउण्डेसन’को काम सम्पन्न गरिसकेको उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिए । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने डिजिटल शौचालयको निर्माणकार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

‘जमीनमाथिको फाउण्डेसन निर्माण अन्तिम चरणमा पुगेको छ’, प्रमुख डा. राणाले भने, ‘काठमाडौँमा निर्माण भइरहेको शौचालयको फाउण्डेसनको स्थलगत अनुगमन गरेका छौँ ।’ उपमहानगरपालिकाको रु पाँच लाख तथा एसएनभीको रु ४५ लाख लागतमा बन्ने डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिनेछ ।

अपाङ्गता भएका व्यक्ति तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकै पटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता भएका व्यक्ति) भएका व्यक्तिले शौच गर्न सक्नेछन् । उपमहानगरपालिकाका सरसफाइ संयोजक ओविराज आचार्यले भने, ‘पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी र साबुन नभए शौचालयको ढोका खुल्दैन । यो शौचालय देशकै पहिलो हुनेछ ।’

उनका अनुसार शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्छ । जो कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउने छन् । शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्ने निर्णय भएको छैन । यसअघि नेपालगञ्जमा शौचालय अभावको समस्यालाई समाधान गर्न चार घुम्ती शौचालय सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७