नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी


११ फाल्गुन २०७५, शनिबार
satelite hAosUjIq4Z

काठमाडौं, ११ फागुन । सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।

satelite hAosUjIq4Z

त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदै छ । जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट–१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ ।

यसको निर्माण र प्रक्षेपणमा नेपालले झण्डै दुई करोड रुपैयाँ खर्चेको छ । स्याटलाइटले अन्तरिक्षबाट पठाएको तस्बिरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपद्सम्बन्धी पूर्व जानकारी पाइने छ ।

प्रक्षेपण गर्ने अमेरिकी कम्पनी
जापानी क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले करिब डेढ वर्ष लगाएर नानो स्याटलाइट तयार गरेका हुन् । एक किलो तीन सय ग्राम तौल रहेको स्याटलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर मात्रै छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठका अनुसार यसलाई बनाउन नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । २८ असोज ०७४ मा अर्थ मन्त्रीस्तरीय निर्णयबाट नास्टले जापानी विश्वविद्यालयसँग भूउपग्रह निर्माणका लागि सम्झौता गरेको थियो ।

नेपाल, श्रीलंका र भुटानको गरी तीनवटा भूउपग्रहको प्रक्षेपण अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले एकैपटक गर्ने भएको छ । सो कम्पनीसँग प्रक्षेपणका लागि सम्झौता भई स्याटलाइट समेत हस्तान्तरण भइसकेको उपकुलपति श्रेष्ठले बताए । उनका अनुसार सो कम्पनीको सिग्नस रकेटले स्याटलाइट उडाउने छ ।
अन्तरिक्षमा पुगेपछि एक महिनाको अवधिसम्म इन्टरनेसनल स्पेस स्टेसनमा स्याटलाइटको पुनः परीक्षण हुनेछ । त्यसपछि मात्रै स्पेस स्टेसनबाट तिनलाई पृथ्वीको कक्षमा छाडिनेछ । र, तिनले तथ्यांक पठाउन सुरु गर्नेछन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७