गोर्खाका विषयमा छिट्टै घोषणा, सहयोग नघटाउने बेलायती प्रतिबद्धता


११ फाल्गुन २०७५, शनिबार
lang kaster

काठमाडौं, ११ फागुन । बेलायतले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगमा कमि नआउने आश्वस्त पारेको छ ।

lang kaster

नेपालको चार दिने भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरले उच्च तहको राजनीतिक भेटघाटामा भनेका छन्, ‘बेलायतले नेपाललाई सक्दो सहयोग गर्दै पुरानो सम्बन्धलाई थप उचाईमा लैजाने छ ।’

दिगो शान्ति कायम गर्दै समृद्धिको मार्गमा नेपाल अघि बढेको स्पष्ट पार्दै उनले समृद्धि यात्रामा सहयोग गर्ने बताए।उनले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेको छुट्टाछुट्टै भेटमा सहयोगबारे बेलायली सरकारको धारणा राखेका थिए । उनले भनेका थिए, ‘हामी नेपालको विकासका लागि ठूलो दुईपक्षीय साझेदार हौं। अनुदान कर्ता पनि हौं। यो सहयोग निरन्तर रहने छ । हाम्रो चाहना यो क्षेत्रको पुरानो मुलक र हाम्रो मित्रको समृद्धि नै हो ।’

द्विपक्षीय भेटमा अपसी सम्बन्ध, हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानन्त्रीका परराष्ट्रमामिला सल्लहाकार डा.राजन भट्टराईले बेलायती सहयोगको निरन्तरताका विषयमा भएको छलफल र लगानी सम्मेलनमा उनीहरूको उपस्थितिको प्रतिवद्धता भएको बताए ।

रक्षा राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र राजनीतिक दलका नेतासँग शिष्टाचार भेट गरेका थिए । ‘नेपालको विकासको विश्वासिलो साझेदार र सुख दुःखको साथीको रूपमा हामीले बेलायतलाई लिएका छौं’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘पुरानो सम्बन्धको विषयमा हामीले खुलेर छलफल गर्‍यौं ।’

दुई पक्षीय भेटमा भूकम्पपछिको पुनःनिर्माण, नेपालको मौलिक शान्तिप्रक्रियाको निकास, बाँकी रहेका द्वन्द्वकालीन मुद्दालगायतका विषयमा पनि छलफल भएको ज्ञवालीले जानकारी दिए ।
मन्त्री ल्याङकास्टरलाई परराष्ट्रमन्त्रीले भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधनमा जोड दिएका थिए। यस्ता विषयको निरूपरण आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्यांकन गर्न आफूले सुझाएको पनि मन्त्री ज्ञवालीले बताए ।

भूपू गोर्खाका विषयमा छिट्टै घोषणा
भूतपूर्व गोर्खा सैनिकका गुनासा र समस्या सम्बोधनमा बेलायत सरकारले निकट भविष्यमा घोषणा गर्ने तयारी गरेको छ । रक्षा राज्यमन्त्री ल्याङकास्टरले यो विषयमा छिट्टै घोषणा गर्दै समस्यालाई टुंगो लगाउने जानकारी परराष्ट्रमन्त्री ज्ञवालीलाई गराएका थिए ।

भूपू गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन परराष्ट्रमन्त्रीको सुझावमा राज्यमन्त्री ल्याङकास्टरले सकारात्मक जवाफ दिएका थिए । उनीहरूका समस्या समाधान गर्नुपर्ने आफ्नो सुझावलाई पनि राज्यमन्त्रीले सकारात्मक रुपमा लिएको जानकारी परराष्ट्रमन्त्रीले दिए ।

ल्याङकास्टरले प्रधानमन्त्रीसँग पनि आफ्नो संयोजकत्वमा बनेको टोलीले गोर्खा सैन्यको समस्याबारे तयार गरेको प्याकेज छिट्टै घोषणा हुने बताएका थिए । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका थिए । रक्षा राज्यमन्त्रीसँग दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । दाहाल निवास खुमलटारमा भएको भेटमा राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताएका थिए ।

नेपालको शान्तिप्रक्रिया विश्वको उदाहरणीय
बेलायती राज्यमन्त्रीले नेपालको शान्ति प्रक्रिया विश्वको उदाहरणीय भएको भन्दै यसको प्रवद्र्धन गर्नपर्ने बताए । उनले द्वन्दकालीन मुद्दा केही बाँकी रहेको भएपनि यसलाई समाधान गरेर नेपाल विकासको चरणामा अघि बढ्ने विश्वास आफूहरूको रहेको बताएका थिए । द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर नै उनले दाहालसँग विशेष भेटघाट गरेको हुन् ।

उनीसँगको भेटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसको उपस्थिति थियो । कर्णेल लामालाई बेलायतमा पक्राउ गरिँदा श्रेष्ठले कडा वक्तव्य जारी गर्दै बेलायती रबैयाको उपचार खोज्नुपर्ने बताएका थिए ।

द्वन्दकालीन त्यही विषयलाई लिएर भूकम्पपछिको पुनर्निर्माणको समयमा बेलायती चिनुक हेलिकप्टरलाई नेपाल प्रवेश समेत नदिएर प्रतिशोध देखाइएको थियो। प्रधानमन्त्री स्तरमा फोनवार्ता हुँदा समेत नेपाल त्यसमा अडिक थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा पनि आपसी हित र सहकार्यको विषमया छलफल भएको थियो । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७