गाडी र मोटरसाइकल चोरी गर्ने गिरोहलाई एसएसपीले भगाएको आरोप


११ फाल्गुन २०७५, शनिबार
ssp dhanuk 1

ललितपुर, ११ फागुन । प्रहरीले बरामद गरेका अधिकांश चोरीका मोटरसाइकल प्रयोगकर्तालाई सोधपुछ गर्दा प्रायः सबैले दिने उत्तर हुन्छ, चितवनबाट किनेको । यसरी चितवनलाई चोरीको मोटरसाइकल बिक्री केन्द्रका रुपमा बदनाम गर्ने काम दीपेन्द्र श्रेष्ठ ‘दिपु’को मनकामना अटो एण्ड रिकन्डिसन वर्कसप जगतपुरबाट हुँदैआएको छ ।

ssp dhanuk
रविन्द्रसिंह धानुक र दीपु श्रेष्ठ

मोटरसाइकल चोरी गर्ने गिरोहले काठमाडौं र पोखराबाट सबै मोटरसाइकल चितवनको जगतपुरमा रहेको दीपु श्रेष्ठको वर्कसपमा पु¥याउने गरेका छन् । आइजीपी सचिवालयमा चितवनको मनकामना रिकन्डिसन हाउसबाट चोरीका मोटरसाइकलदेखि स्कोरपियो बिक्री हुने गरेका उजुरी थुप्रै उजुरी परेका छन् । तर पनि चितवनका राजनीतिक दलका केही नेता र प्रहरीको संरक्षणमा दीपुले चोरीका मोटरसाइकल र गाडी बिक्रीको धन्दा निर्वाध चलाउँदैआएका छन् ।

केही दिनअघि महानगरीय प्रहरी परिसर ललितपुरले ५ वटा चोरीका मोटरसाइकलसहित तेजबहादुर तामाङलाई पक्राउ ग¥यो । उनले दीपु श्रेष्ठकै रिकन्डिसन हाउसमा बिक्रीका लागि मोटरसाइकल चोरेको बयान दिएका छन् ।

ललितपुर प्रहरीका प्रमुख एसएसपी रविन्द्रसिंह धानुकले तामाङको बयानका आधारमा दीपु श्रेष्ठलाई पक्राउ गर्न एक टोली पठाए । तर उक्त टोली जान लागेको सूचना पहिले नै दीपु श्रेष्ठले थाहा पाए ।

स्रोतका अनुसार दीपुसँग पहिलेदेखि कनेक्सन भएका प्रहरीले एसएसपी धानुकलाई समेत आकर्षक घुस दिएर प्रभावमा पारियो । र, ललितपुर प्रहरीको टोली चोरीका मोटरसाइकल बिक्री गर्ने दीपु श्रेष्ठ नभेटिएको भन्दै फर्कियो ।

motarcikal
मनकामना रिकन्डिसन हाउसमा चोरी गरी लगिएका मोटरसाइकलको चाङ र ललितपुर प्रहरीले पक्राउ गरेका तेजबहादुर तामाङ

एसएसपी धानुकले टोलीलाई जुन उद्देश्यका लागि पठाएका थिए, बीचमा कुरा मिलेपछि त्यो उद्देश्य नै पूरा नगरी फर्काएको आरोप छ । यसबारेमा एसएसपी धानुकले भने–‘दीपु श्रेष्ठ भागेकाले पक्राउ गर्न सकिएन ।’ उनले भने–‘मोटरसाइकल चोरी गरेको आरोपमा तामाङ पक्राउ परेका हुन् ।

त्यसको बयानका आधारमा दीपु श्रेष्ठलाई पक्राउ गर्नुभन्दा अघि अर्को एक जनाको नाम उसले लिएको थियो । त्यसलाई पक्राउ गरिसकेपछि मात्र दीपुलाई पक्राउ गर्दा प्रमाण जुट्ने भएकाले उसको खोजीमा छौं ।’

चितवनको प्रहरी प्रमुख जो भए पनि मासिक घुस दिई दीपुले चोरीका मोटरसाइकल किन्ने र नक्कली ब्लूबुक बनाएर बिक्री गर्ने गर्दैआएका छन् । यसअघिका एसपी दीपक थापाका घुमुवा असई कमल क्षेत्री भन्ने कमल परियार र सिपाही सुरेन्द्र कार्की अहिले पनि दीपुसँग कनेक्सन छ ।

चितवनमा घुमुवा भएर मोटरसाइकल चोरदेखि तस्करहरुसँग कनेक्सन बनाएका परियारको बारेमा ब्यापक बिरोधपछि उनलाई सरुवा गरियो । तर हालै एसएसपी बढुवा भएका दीपक थापाले उनलाई अपराध अनुसन्धान महाशाखामा राख्न दबाब दिए । उनको काम अहिले पनि दीपु श्रेष्ठदेखि विभिन्न धन्दा गर्ने ब्यक्तिहरुबाट रकम उठाएर दीपक थापालाई दिने हुँदैआएको छ ।

पछिल्लो पटक ललितपुरका एसएसपी धानुक पनि मोटरसाइकल चोर दीपुको प्रभावमा परेका छन् । तेजबहादुर तामाङको बयानका आधारमा उनले चितवन पठाएको टोलीलाई बीचबाटै फर्काउनुले उनी दीपुको प्रभावमा परेको कुरालाई पुष्टी गरेको छ ।

यसरी प्रहरीकै संरक्षणमा चोरीका मोटरसाइकल र गाडी कारोबार भइरहेको छ । चितवनको रत्ननगर नगरपालिका जयमंगलाका दीपु श्रेष्ठको उक्त वर्कसपमा काठमाडौंबाट चोरी गरी लगेका सबै मोटरसाइकलहरू एकै रातमा फोरफार गरि अप्रेसन गरिन्छ ।

चोरीका मोटरसाइकलको पार्टपूर्जा झिक्ने कामलाई ‘अप्रेसन’ भनिन्छ । उक्त वर्कसपमा एकैरातमा अप्रेसन गरी अर्कै रङ लगाएर बेचबिखन गरिन्छ । एउटा मोटरसाइकलको पार्टपूर्जा, च्यासिस अर्कोमा लगाउने काम दीपु श्रेष्ठ समूहले गर्दैआएको छ । उनको वर्कसपमा एकै रातमा ‘अप्रेसन’ गरिएका मोटरसाइकलको साइलेन्सरको थुप्रो नै देखिन्छ ।

स्कोरपियो, टाटासुमो, बलेरोदेखि लिलामीमा गाडी उठाउने र त्यसको च्यासिस भारतबाट ल्याएका चोरीका गाडीमा प्रयोग गर्दैआएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । यस्तो धन्दा गर्ने दीपुलाई सहयोग गर्ने काम अपराध महाशाखामा कार्यरत प्रहरी जवान सुरेन्द्र कार्कीले गर्दैआएका छन् । कार्कीको मोटरसाइकल चोरी गर्ने गिरोहसँग कनेक्सन भएकाले उनले दीपु श्रेष्ठलाई सहयोग गर्दैआएको प्रहरी स्रोत बताउछ ।

दीपुले मनकामना रिकन्डिसन हाउस वरिपरि निकै टाढासम्म देखिने सीसीटीभी क्यामरा राखेका छन् । उनको वर्कसप नजिकका रुखमा समेत सीसीटीभी छ । सीसीटीभी राखेर उनले चोरीका मोटरसाइकल किनबेच गर्दैआएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत उनले मासिक रुपमा नजराना दिएर सूचनाबाहक बनाएका छन् । यसरी निर्वाध रुपमा चोरीका गाडी र मोटरसाइकल बिक्री गर्ने काम गर्ने श्रेष्ठले आफूलाई चितवनका पूर्वमाओवादी नेताको समर्थन रहेको भन्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७