उपत्यकामा हर्न कार्वाही : एकैदिन १७१ सवारीसाधन कार्वाहीमा


१३ फाल्गुन २०७५, सोमबार
Traffic

काठमाडौं, १३ फागुन । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कार्वाही बढाएको छ ।

Traffic

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कार्वाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कार्वाही गरेको छ ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कार्वाहीलाई तीव्रता दिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए ।

‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोध समेत गरेका छौं’, उनले भने । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरैमात्रामा लागू भए पनि पूर्णरुपमा भने लागू भएको छैन ।

महाशाखाले हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ३० हजार ४६८ सवारीसाधनलाई कार्वाही गरिसकेको छ । महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारीसाधनबाट रु ५०० कार्वाहीस्वरुप लिँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७