फेसबुकमा भेटिएकी पाकिस्तानी युवतीसँग बागलुङ्गे युवाको गहिरो प्रेम, गरे बिहे
काठमाडौं, १३ फागुन । सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाको पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएको छ ।
बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालतमा आइतबार विवाह दर्ता गरे । पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनियरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेकी हुन् ।
दुई वर्षअघि देखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दाझैं बोल्न र लेख्न सक्ने भएपछि उनले विवाहका लागि तयारी गरेकी थिइन् । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका थिए ।
केटीका तर्फबाट भने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफारिस लिएर आएका थिए । सफिकले पाकिस्तानी बाबु आमासँग पनि सहमति लिएको बताए ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराई दिनसक्ने व्यवस्था अनुसार यो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताएका छन् ।
‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, ‘फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।’
कानुनी रुपमा बलियो बनेर उनीहरुले गरेको औपचारिक विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्लिम बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उनले प्रशंसा गरे । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।