नेता अधिकारीको पार्थिव शरीर ९ बजेपछि नेकपा मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिंदै
काठमाडौं, १९ फागुन । दिवंगत पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा मुख्यालय धुम्बाराहीमा राखिंदैछ ।
पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । अधिकारीको अन्त्येष्टिको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक पनि बस्दैछ ।
नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो । २०४७ सालको संविधानको मस्यौदाकार अधिकारी २०५१ मा बनेको तत्कालीन एमालेको नौ महिने अल्पमतको सरकारमा अर्थमन्त्री थिए ।
त्यतिबेला वृद्धभत्ता वितरण र आफ्नो गाउँ आफैँ बनाऔंलगायतका कार्यक्रम लागू गरेर उनले लोकप्रिय अर्थमन्त्रीको छवि बनाएका थिए । उनी चार पटक अर्थमन्त्री, एक पटक यातायात तथा निर्माणमन्त्री, चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसकेका छन् । दिवंगत नेता अधिकारीले २०७१ को महाधिवेशनबाट पार्टीको कुनै पनि जिम्मेवारी नलिने गरी स्वेच्छिक अवकाशको घोषणा गरेका थिए ।