बेलायती मन्त्री लङ्कास्टरले नेपाललाई ‘महान’ मुलुकको उपमा दिंदै भने, गोर्खासँगै नेपालसँग धेरै कुरामा निकट सम्बन्ध छ’


२१ फाल्गुन २०७५, मंगलवार
Britist nepal

काठमाडौं, २१ फागुन । बेलायती रक्षा राज्यमन्त्री मार्क लङ्कास्टरले नेपाललाई महान मुलुकको संज्ञा दिएका छन् ।

Britist nepal

नेपाल–बेलायतबीचको सम्बन्ध २०० वर्षभन्दा पूरानो रहेको बताउँदै उनले गोर्खा सैनिक बाहेक अरु क्षेत्रमा पनि नेपाल–बेलायतको निकट सम्बन्ध रहेको बताए । लण्डनस्थित नेपाली दूतावासद्वारा नेपाली सेना दिवसको अवसरमा सोमबार आयोजित समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

बेलायती सेनाका भूतपूर्व कर्णेल समेत रहेको लङकास्टरले ३१ वर्षअघि हङकङमा ब्रिटिस गोर्खा इन्जिनियर्समा भर्ती भएपछि आफूले गोर्खा सैनिकसँगै काम गरिरहेको बताउँदै नेपाली सेनाको समेत प्रशंसा गरे । एक साताअघि मात्र भूतपूर्व गोर्खा सैनिकहरुको समस्याबारे नेपालबाट जानकारी लिएर स्वदेश फर्किएका उनले सम्वोधनमा भूतपूर्व गोर्खाहरुका मागबारे भने केही बोलेनन् ।

१४ पटक नेपालको भ्रमण गरिसकेका लङ्कास्टरले गत साता मात्रै नेपाल गरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए ।

ब्रिटिश सेनाका लेफ्टिनेन्ट जेनरल निकोलस आर्थर विलिअम पोपले संयुक्त राष्ट्रसंघ शान्ति सेनामा सबै भन्दा बढी सैनिकहरु पठाउने मुलुकमा नेपाल पाँचौं स्थानमा रहेको जानकारी गराएका छन् । उनले नेपालमा पूर्वाधार, प्रकृति संरक्षण तथा विपद व्यबस्थापनमा नेपाली सेनाले गरिरहेको कामको पनि प्रशंसा गरेका थिए ।

लण्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल कुमारबहादुर थापाले नेपाल राज्यको एकीकरणदेखि नै नेपाली सेनाले देशको एकता र अखण्डताको जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको बताएका थिए ।

उनले नेपाली सेनाका ५ हजार ११३ जना सैनिकहरुले संयुक्त राष्ट्र संघ शान्ति सेनामा काम गरिसकेको बताउँदै तीमध्ये ६३ जनाको शान्ति सेनामा खटिईरहेकै बेला निधन भएको जानकारी गराए । नेपाली सेना र ब्रिटिश सेनाबीच एतिहसिक सम्बन्ध रहेको बताउँदै कर्णेल थापाले दुवै सेना बीच संयुक्त सैनिक अभ्यास, तालिमलगायतका क्षेत्रमा सहकार्य भइरहेको बताएका थिए ।

बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुबेदीले नेपाल तथा बेलायतबीच निकट तथा घनिष्ट सम्वन्ध रहेको बताउँदै नेपालको विकास अभियानमा बेलायती सरकार तथा जनताले पुर्‍याएको सहयोगको प्रशंसा गरेका छन् । उनले दुई सेनाबीच पनि सुमधुर सम्वन्ध रहेको बताए ।

ब्रिटिश राजकुमार ह्यारीलाई उद्धृत गर्दै उनले गोरखा सैनिकहरु दुई देशबीचको सम्वन्धको आधारको रुपमा रहेको पनि बताए । राजदूत सुवेदीले सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागिरहेको बताउँदै भ्रमण गर्न निम्तो पनि दिएका थिए । कार्यक्रममा ब्रिगेड अफ गुर्खाजका युवा सैनिकहरुले खुकुरी नृत्य प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७