दिदीबहिनी हो ! यौनमा भुलेर क्रान्तिको बाटो नबिर्स

  • नोना विलिस अरोनोवित्ज

ब्लाइद रबर्सनले भर्खरै विपरीत लिंगी महिलाको पुरानो दुविधाबारे एउटा अत्यन्त रोचक पुस्तक लेखेकी छन्, ‘हाउ टु डेट मेन ह्वेन यु हेट मेन । त्यो दुविधा हो, लैंगिक रूपमा आफैँलाई उत्पीडन गर्ने पुरुषप्रति प्रेमको चाहना । पुस्तकमा हामी धेरैजसोका लागि परिचित एउटा अवस्था चित्रण गरिएको छ । लेखक एउटा मान्छेलाई मन पराउँछिन् । तर, उसले आफूलाई मन पराउँछ कि पराउँदैन, उनी थाहा पाउँदिनन् । महिनौँसम्म यस्तै दुविधाग्रस्त अवस्था रहन्छ ।

त्यसपछि मात्रै उनलाई आफ्नो आशक्ति राजनीतिक रूपले गलत रहेछ भन्ने महसुस हुन्छ । ‘उत्पीडनकारी संस्थाहरूको विरोध गर्दै समाजवादी–मातृसत्तात्मक क्रान्तिमा ध्यान केन्द्रित गर्नुको सट्टा म त्यो व्यक्तिसँगको पछिल्लो भेट डेटिङ थियो कि थिएन, ऊ मलाई चाहन्थ्यो कि चाहँदैनथ्यो भनेर अलमलिइरहेकी थिएँ,’ रबर्सन लेख्छिन् । 

नोना विलिस अरोनोवित्ज

रबर्सन एक सामान्य महिला हुन् । क्रान्तिकारी अलगाववादी होइनन् । तर, उनको निष्कर्षले मलाई छोयो । किनभने यो विलक्षण थियो । नारीवादी आन्दोलनको ‘सेकेन्ड वेभ’का लडाकु महिलाहरूकै प्रतिध्वनि यसमा सुनिन्थ्यो । यी महिलाहरू पुरुषबाट अलग भएर मात्र पितृसत्ताबाट मुक्त हुन सकिन्छ भन्ने मत राख्थे । सानो भए पनि यो समूह प्रभावशाली थियो । 

मेरो विचारमा महिलाले यौन चाहनालाई दमन गर्दा राम्रो परिणाम आउँदैन । तथापि, प्रेमाशक्ति झन् खतरनाक तथा विध्वंसक हुने र त्यसले सही बाटो पहिल्याउनबाट रोक्ने आकर्षक तर्क गरे । यो राजनीतिक र लैंगिक उथलपुथलको युग हो । महिलाहरूका लागि भविष्य सुन्दर देखिन्छ । तर, नारीवादी भविष्यको बाटो प्रेमले छेकिरहेको छ कि छैन, सोच्ने वेला आएको छ । अहिले ती क्रान्तिकारी महिलाका रचना फेरि नपढी बस्न सकिन्न । 

१९६० को दशकमा ‘महिलामुक्ति’बारे सीमितलाई मात्र चासो थियो । यो आमआन्दोलन बनिसकेको थिएन । त्यसैवेला केही कट्टर नारीवादीले यौनलाई राजनीतिक ऊर्जाको अभिशाप मान्न थालेका थिए । यही क्रममा पुरुषबाट आफूलाई अलग गरेर ब्रह्मचार्य पालना गर्ने तथा प्रतिरक्षा कला सिक्न प्रेरित गर्ने अलगाववादी संगठन खुल्यो । सेल १६ नामक सोही समूहकी संस्थापक सदस्य डाना डेन्समोरले यौन मानिसको आधारभूत आवश्यकता हो भन्ने मान्यतालाई चुनौती दिइन् ।

१९६८ मा एउटा जर्नलमा उनले ‘नो मोर फन एन्ड गेम्स’ शीर्षकमा लेख लेखिन् । जसमा उनले आफूहरूलाई ‘गुरिल्ला’ भनेकी थिइन् । कैयौँ महत्वपूर्ण काम गर्न बाँकी रहेकोले आफूहरू यौनमा भूलेर विचलित बन्न नसक्ने तर्क उनले गरेकी थिइन् । उनको विचारमा यौन ‘असुविधाजनक, समय खर्च हुने, ऊर्जा सुकाउने र व्यर्थ’ थियो । 

प्रेममा पनि समस्या त थियो नै । कट्टर नारीवादी दार्शनिक टी ग्रेस अट्किन्सनले प्रेमलाई स्वतन्त्रताको दुस्मन र असुरक्षाको कारण भनेकी छन् । ‘प्रेम आवश्यकता हो ?’ १९६८ मा उनले लेखिन्, ‘कि प्रेम डर हो ? न्यायपूर्ण समाजमा हामीलाई प्रेम आवश्यक छ ?’ सुरुवातका अरू नारीवादीहरू प्रेमको विपक्षमा थिएनन् । तर, त्यसका लागि संसार बदलिन आवश्यक थियो । उनीहरूको तर्कमा अवस्थामा सुधार नआउन्जेल विपरीतलिंगका बीच हुने प्रेम विवाहसँग र महिलाप्रतिको सामाजिक अपेक्षासँग जोडिएर आउँथ्यो । 

सुलामिथ फायरस्टोनले २५ वर्षको उमेरमा ‘द डायलेक्टिक अफ सेक्स’ नामक पुस्तक लेखेकी थिइन् । सो चर्चित पुस्तकमा उनले प्रेमलाई ‘महिलालाई आफ्नै अवस्था थाहा नदिई राख्ने पितृसत्ताको सांस्कृतिक औजार’ भनेकी छन् । ‘लेस्बियन नेसन’जस्ता पुस्तकका लेखक जिल जोनसनलगायतले पुरुषको सट्टा महिलालाई प्रेम गर्नु आवश्यक रहेको बताएका छन् । 

प्रेम क्रान्तिको दुस्मन हो भने निश्चय नै यो ब्रह्मचार्यजस्ता कठोर परम्पराको पनि शत्रु हो । इतिहासलाई हेर्ने हो भने अन्तत्वगत्वा यौन पक्षधर नारीवादीहरूको जित भएको देखिन्छ । यतिवेला नारीवादको पुनरोदय भइरहेको छ । तर, कसैले पनि हामीलाई यौनसम्पर्क गर्न रोक्ने सुझाब दिएका छैनन् । लिल किमसँगै जवानीमा प्रवेश गरेको र ‘सेक्स इन द सिटी’ हेर्दै हुर्केकी मलाई ब्रह्मचर्य उचित लाग्दैन । यो अरूको रिसले आफैँलाई चोट लगाउनुजस्तै हो ।

कामुकता आनन्दको दबाउनै नसकिने स्रोत हो । ‘मानवीय अनुभवमा प्रेम साह्रै साँघुरो गल्ली हो । यो गल्ली भेट्टाउन मुस्किल छ । र, पनि सारा आनन्द, उत्साह किन यही गल्लीमा खोज्नुप-यो ?’ फायरस्टोनले प्रश्न गरेकी थिइन् । यद्यपि प्रेमको खोजीमा हराउनु कस्तो हुन्छ, उनलाई राम्रोसँग थाहा थियो । फायरस्टोनको मृत्युपछि सन् २०१२ मा नारीवादी एक्टिभिस्ट रोजालिन ब्याक्सेन्डलसँग मैले अन्तर्वार्ता लिएकी थिएँ । उनका अनुसार फायरस्टोन ‘ब्रह्मचारी’ थिइनन् । बरु ६० को दशकको अन्त्यतिर उनी ‘केटाप्रति पागल’ रहेको ब्याक्सेन्डललाई सम्झना छ । 

‘केटाप्रति पागल’ भन्ने शब्दको छनोटले धेरै कुरा संकेत गर्छ । प्रेममा परेको जोसुकैलाई राम्ररी थाहा छ, यसले गम्भीर रोगले झैँ मानिसलाई कमजोर पार्छ । मनोवेत्ता डोरोथी तेनोवले सन् १९७९ मा पहिलोपटक ‘लाइमरेन्स’ शब्दको प्रयोग गरेकी थिइन् । यसको अर्थ हुन्छ, प्रेमको पहिलो चरणमा कसैप्रति हुने सम्मोहन, चर्को आकर्षण । खासगरी एकतर्फी र अतृप्त प्रेमका वेला यस्तो आकर्षण हुन्छ । तेनोवले पत्ता लगाएअनुसार यसका लक्षणमा नचाहेरै कसैप्रतिको सोच दिमागमा आउने र ‘मुटु दुख्ने’ हुन्छ ।

तपाईं कुनै आन्दोलन सुरु गर्दै हुनुहुन्छ भने यस्तो प्रेमरोगलाई पन्छाउनु नै उपयुक्त हुन्छ । अस्थिर र भ्रमको स्थितिमा आफ्नो लक्ष्यमा निरन्तर अघि बढ्न सकिन्न । त्यसमाथि तपाईंको हालत यस्तो बनाउने व्यक्ति त तपाईंलाई उत्पीडन गरिरहेकै समूहको सदस्य हो । अनि यो उत्पीडनले प्रायः महिलालाई विवाहसम्म पुरायाउँछ । सायद प्रेमले हामीलाई तर्कसंगत रूपमा सोच्नबाट रोक्छ भनेर स्वीकार्न आवश्यक छ ।

अलगाववादी महिलाका लागि प्रेम अवरोध नै बनेको थियो । थुप्रै सेकेन्ड वेभ नारीवादीहरूले आन्दोलन छोडे । कतिपयले लोग्नेसँग बस्नका लागि आन्दोलन र साथी त्यागे भने कतिपय आफ्ना छोरालाई बैठकमा लैजानुपर्ने अवस्थाका कारणले पन्छिए । सनकको भरमा जथाभावी हठ गरेको आरोप लाग्ने गरे पनि यी महिलाले अपनाएको शैली कुनै न कुनै रूपमा प्रेरणादायी छ । ब्रह्मचर्य र पुरुषसँगको अलगावलाई जीवनशैलीकै रूपमा अपनाउनु कतिपय महिलाका लागि असम्भव थियो । खासगरी आफ्ना लोग्नेसँग आर्थिक रूपले निर्भर महिलालाई अप्ठ्यारो थियो । अझ जाति वा लिंगमध्ये एकप्रति बफादार हुन बाध्य बनाइएका अश्वेत महिलाका लागि यस्तो जीवनशैली व्यवहारिक थिएन । 

धेरैजसो विपरीतलिंगी महिलाले समेत आन्दोलनका लागि आफ्ना पुरुष प्रेमीको साथ छोडेनन् । तथापि पुरुषप्रति आक्रोशित बन्न सक्ने उनीहरूको क्षमताले आन्दोलनलाई डो-याइराखेको थियो । १९९२ मा प्रकाशित आफ्नो पुस्तक ‘माइ एनिमी, माइ लभ’मा जुडिथ लेविन लेख्छिन्, ‘थुप्रै महिलाका लागि पुरुषलाई घृणा गर्नु आवश्यक थियो । यसले उन्मुक्तिको आभाष दिन्थ्यो र कार्यक्षमता बढाउँथ्यो । त्यो घृणालाई दमन गर्न सम्भव पनि त थिएन ।’ यस्तै अकारण आक्रोश आफूमा पनि भइदिए हुन्थ्यो भन्ने मलाई कहिलेकाहीँ लाग्छ । लोग्नेमान्छेहरूलाई म रुचिकर लागुँ वा सेक्सी, त्यसको चिन्ता नगरी रिसाउन पाए ! मैले आफ्नो विचारलाई त्यसरी मुक्त पार्न सके कति गज्जब हुन्थ्यो !

रबर्सन बारम्बार रोलाँ बार्थलाई सम्झिरहन्छिन् । पुस्तकमा एक ठाउँ उनी प्रेमाशक्तको पीडा र परमानन्दबारे बार्थको भनाइ उधृत गर्छिन्ः ‘प्रेमले उसलाई समाजको नजरमा बर्बाद बनाएको थियो । तर, ऊ आनन्दित थियो ।’ समाजको आँखामा बर्बाद हुनु पनि कहिलेकाहीँ राम्रै हुन्छ । कडा सामाजिक नियमलाई मानेर भन्दा अनियन्त्रित शक्तिको इसारामा निर्णय लिनु पनि कहिलेकाहीँ ठीकै हुन्छ । यसले तर्क र रणनीतिलाई प्रबल तुल्याउँछ । म यौनलाई छिटै त्याग्ने पक्षमा छैन । तर व्यक्तिगत र सार्वजनिक रूपमा स्त्रीद्वेषसँग जुधिरहँदा म कट्टर ब्रह्मचारी नारीवादीहरूको आक्रोशलाई प्रवाहित गरिरहेकी हुनेछु, त्यसको सहारा लिइरहेकी हुनेछु । 

(नोना विलिस अरोनोवित्ज अमेरिकी लेखक तथा सम्पादक हुन् । यो आलेख न्युयोर्क टाइम्सबाट नयाँ पत्रिका दैनिकले साभार गरेको हो)

प्रतिक्रिया दिनुहोस्