दीपक कुँइकेलले जनताको आँखामा छारो हाल्न खोजे छन् : नारायण ढकाल


१८ मंसिर २०७४, सोमबार
narayan dhakal

नारायण ढकाल नेपाली साहित्यमा स्थापित नाम हो । कथा, निबन्ध र उपन्यास विधामा उनका थुप्रै पुस्तक प्रकाशित छन् । साहित्यबाहेक पत्रकारिता र राजनीतिमा पनि उनको सक्रियता छ । उहाँ नेकपा –एमाले) नेता तथा पूर्व सांसद समेत हुन् । काठमाडौँ मुलपानीको स्थानीय वासिन्दा समेत रहनुभएको उहाँको क्षेत्रमा आसन्न प्रतिनिधि सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबनधन एमालेका पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव र काँग्रेसका नेता दीपक कुइकेल उम्मेदवार छन् ।  काठमाडौँ क्षेत्र  नम्बर २ मा भएका विकास निर्माणका काममा कुइकेल आफ्नो धेरै योगदान रहेको भनी गरेको प्रचार बारे उहाँसँग गरिएकाे कुराकानी :

narayan dhakal

१. चुनावी तयारी कहाँ पुगेको छ ?
जनताको बिचमा जाने घर दैलो गर्ने, जनतासँग राजनीतिक संवाद गर्ने, जनताको कुरा सुन्ने र वाम गठबन्धनको एजेन्डा राख्ने काम सकिएको छ । चुनावी प्रचारको उत्कर्षका रूपमा आजै कोटेश्वरमा अन्तिम आमसभा सम्पन्न भएको छ । क्षेत्रका बुद्धिजीवीहरुसँग छुट्टै भेटघाट गरेका छाैं । उहाँहरूको सुझावलाई विशेष ध्यान दिएका छौँ । सबै प्रकारका चुनावी अभियान सन्तोषजनक ढङ्गले सम्पन्न भएका छन् ।
अभियानका क्रममा हामीले जनताको अपार समर्थन पाएका छौँ । एमालेले राष्ट्रियताका विषयमा उठाएको मुद्धामा जनताले साथ दिएका छन् । विकास निर्माण र सामाजिक सुरक्षा तथा जनजीविकाको सवालमा एमालेको मुद्दालाई जनताले समर्थन गरेका छन् । वाम गठबन्धनको एजेण्डालाई समर्थन गर्दै नयाँ शक्तिबाट यस क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार गणेश सिम्खडा एमालेमा प्रवेश गर्नुभएको छ ।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग सहायकमन्त्री रेसम लामाले पनि बाम गठबन्धनलाई समर्थन गर्दै माधव नेपालको पक्षमा मत माग्ने घोषणा गर्नुभएको छ । जनमोर्चा नेपालका उम्मेदवार गणेश कुँवरले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै कमरेड माधवकुमार नेपाललाई समर्थन जनाउनुभएको छ । यसरी हामीसँग एकाकार हुने पंक्ति दिन प्रतिदिन बढ्दो छ । त्यस कारण यति बेला काठमाडौ क्षेत्र नं २ मा बाम गठबन्धनका उम्मेदवारहरुको विजय सुनिश्चित देखिएको छ । भोलीदेखि मौन अवधि सुरु भएकाले हामी मतदाता शिक्षामा केन्द्रित हुनेछौं । मौन अवधिमै पनि हामीलाई समर्थन गर्ने जनताको पंक्ति बढेर जानेछ ।
२. जित सुनिश्चित भन्नुभयो, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जीतका आधारहरु के–के हुन् त ?
पूर्वप्रधानान्त्री माधवकुमार नेपाल असल, स्वाभिमानी र इमानदार व्यक्ति हुनुहुन्छ । सादगी जीवन उहाँको विशेषता हो । ४०/४५ वर्षको राजनीतिक जीवनमा उहाँ कहिल्यै विचलित हुनुभएको छैन । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उहाँले ठुलै जोखिम मोलेर नेपाल र भारतका विभिन्न स्थानहरुमा गएर पहल गरेको विषय कोहीबाट छिपेको छैन । माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न शक्तिकेन्द्रले शान्ति प्रकयालाई गलत विश्लेषण गर्दा उहाँकै पहलकद्मीमा शान्तिप्रकृयाको महत्त्वपूर्ण खुट्किलाहरु (माओवादी लडाकुको नेपाली सेनामा समायोजन जस्ता विषयहरू) पार गरिएको हो । उहाँ नेकपा एमालेको वरिष्ठ नेता मात्रै होइन, पूर्व उपप्रधानमन्त्री, प्रधानमन्त्री भइसक्नु भएको व्यक्तित्व हुनुहुन्छ । राजकीय सत्तामा रहदाँसमेत उहाँको इमानदारिताको विषयमा कहीँ–कतै प्रश्न उठाउने ठाउँ थिएन । उहाँले त्यस बेला सुरु गरेका विकास निर्माणको कामलाई जनताले स्मरण गरिरहेका छन् ।
त्यस्तै, हाम्रो क्षेत्र भनेको एमालेका तत्कालीन महासचिव मदन भण्डारी, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी जस्ता शिखर राजनीतिक व्यक्तित्वले निर्वाचन जितेको क्षेत्र पनि हो । मनमोहन अधिकारी त्यति बेला भन्नुहुन्थ्यो, ‘म सिंहदरवार जादैछु, त्यहाँ साहु–महाजनहरुले मलाई भेट्न पाउने छैनन् । जो किसान मजदुर छन्, उनीहरूले मात्रै भेटन पाउनेछन्, उनीहरूको प्रतिनिधित्व मैले गर्ने हो ।’ त्यस कारण माधवकुमार नेपाल पनि उहाँहरुकै असल परम्पराको निरन्तरता दिने निष्ठावान व्यक्तित्व भएको हुनाले उहाँको विजय सुनिश्चित गर्न यहाँका जनता आतुर छन् ।

३. तर काँग्रेसका उम्मेदवार दीपक कुँइकेलले त काठमाडौँ –२ को विकासमा मेरो योगदान बढी भएकाले जित सुनिश्चित छ भन्ने दाबी गरिरहेका छन् नि ?
म उहाँलाई नजिकबाट चिन्दछु । किनभने म उहाँकै छिमेकी पनि हुँ । उहाँ क्याम्पसको असल शिक्षक पनि हो । उहाँले बेलाबेलामा भन्दै आउनु भएको छ–मलाई चिठ्ठा प¥यो । हो, उहाँलाई चिठ्ठा प¥यो तर त्यसलाई सही सदुपयोग गर्न सक्नुभएन । यसो भनेर मैले उहाँलाई हेपेको होइन । भूकम्प आउँदा उहाँ कहाँ जानु भएको थियो ? त्यति बेला संसद्मा उहाँको भूमिका के थियो ? जनता कति दिन पालमूनी बसे ? उहाँका यी सबै भूमिकाका बारेमा क्षेत्र नम्बर २ का जनताले मूल्याङ्कन गरेका छन् ।
मैले सुने–उहाँलाई नमस्ते गर्नैपर्छ रे ! नमस्ते नगरेका कारण कतिपय सन्दर्भमा जनाताले गाली खाएका थुप्रै घटना पनि छन् । उहाँले एउटा स्रोत पुस्तिका निकाल्नु भएको रहेछ । वास्तवमा एमालले जे–जे काम गरेको छ, तिनै कामको फेहरिस्त राखेर उहाँले स्रोत पुस्तिका निकाल्नु भएछ । वास्तविकतालाई एकातिर पन्छाएर उक्त पुुस्तिका मार्फत कुँइकेलले जनताको आँखामा छारो हाल्न खोज्नुभएछ । उहाँले अलिअलि सोच्नु पर्ने हो । अरूले गरेको कामलाई आफूले गरेको भन्दै जनताको आखाँमा किन छारो हाल्नु ? यो कुरा मैले भन्ने भन्दा पनि जनताले बुझेका छन् । कसले विकासका योजना ल्याएको हो ? भन्ने बारेमा जनता जानकार छन् ।
४. के–के कुराले वाम गठबन्धन जीतको नजिक छ ?
पहिलो आधार एमालको सङ्गठन हो । लोकतन्त्रप्रति एमालेको विश्वास, राष्ट्रियताप्रति लिएको अडान, विकास निर्माण र सामाजिक सुरक्षामा पु¥याउँदै आएको योगदानबाट जनाताले एमाले पार्टीमाथि धेरै भरोसा गरेका छन् । त्यसमाथि अहिले बाम गठबन्धनको स्थायी सरकार बन्नुपर्छ भन्ने आम नेपालीहरूको धारणाले पनि काठमााडौ २ मा बाम गठबन्धनका उम्मेदवारहरुले चुनाव जित्नेछन् । उम्मेद्वारका हिसाबले पनि निष्ठावान नेता माधवकुमार नेपालले यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएपछि जनतामा उत्साह आएको छ ।
५. अन्तमा केही भन्नु छ कि ?
म त आफै पनि २०५३ सालमा जनताको अपार माया पाएर यस क्षेत्रबाट विजयी भएको व्यक्ति हुँ । राजनीतिबाट केही पर रहेर साहित्यमा केन्द्रित छु । म एउटा साहित्यकार भएको नाताले पनि मुलुकमा स्थायी सरकारको आवश्यकता छ । त्यसको पूर्ति वाम गठबन्धनको सरकारबाट मात्रै हुने भएकाले देशभरबाट बाम गठबन्धनले चुनाव जित्नुपर्छ । स्थायीत्व एवम् विकास र समृद्धिका लागि बाम गठबन्धनको सरकार आवश्यक छ । यो गठबन्धन चुनावसम्मका लागि मात्र होइन, चुनावपछि पार्टी एकिकरण गरी मुलुकलाई समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । एउटा प्रगतिशील साहित्यकारको नाताले काठमाडौँ–२ लगायत देशभरिका जनातलाइ म के भन्छु भने–वाम गठबन्धनलाई दुई तिहाई मत दिनुपर्छ । यो क्षेत्रका जनताले पनि यो स्प्रिटलाई बझिसकेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७