बेलायती सेनामा तेस्रो गोर्खा बटालियन बन्दै


२८ फाल्गुन २०७५, मंगलवार
gorkha

काठमाडौं, २८ फागुन । बेलायत सरकारले गोर्खा सैनिकका लागि एकलौटी रुपमा घोषणा गरेको प्याकेजप्रति गोर्खा सैनिकहरुले आपति जनाइरहेका बेला बेलायत सरकारले गोर्खा सैनिकको तेस्रो बटालियन बनाउने भएको छ ।

gorkha

बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०१९ बाट भर्ती शुरु गरी निर्माण गरिने बटालियन विशेष इन्फेन्ट्री हुनेछ । बेलायतले २०१५ मा प्रकाशित गरेको रक्षा पुनरावलोकन प्रतिवेदनले ५ वटासम्म विशेष बटालियन बनाउन दिएको सुझावअनुसार नयाँ बटालियन स्थापना गर्न लागिएको हो ।
गएको वर्ष नेशनल अडिट अफिसले करिब ८ हजार २ सय सैनिक नपुग भएको प्रतिवेदन पेस गरेको थियो ।

‘दुई सय वर्षदेखि सेवा र बलिदानबाट आफ्नो सीप र बहादुरीका लागि गोर्खा सैनिकले अरु कसैले हासिल गर्न नसकेको इज्जत कमाएका छन्’, बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टरले नयाँ बटालियन स्थापनाको घोषणा गर्दै विज्ञप्तिमा भनेका छन्, ‘गोर्खाहरुको दक्षता र बेलायतप्रति उनीहरुको दृष्टिकोणका कारण विशिष्ट तेस्रो बटालियन बनाउन उनीहरु नै आदर्श ठहरिएका हुन् ।’

रोयल गोर्खा राइफल्स कर्णेल मेजर जेनेरल गेज स्ट्रिकल्यान्डले भने, ‘तेस्रो बटालियन खडा गर्न सेनालाई सहयोग गर्न पाएकोमा रोयल गोर्खा राइफल्स् निकै खुशी छ । विशेष इन्फेन्ट्रीको भूमिका उत्साहप्रद र चुनौतिपूर्ण हुनेछ । यो जिम्मेवारी बहन गर्न सेनाले हामीलाई विश्वास गरेकामा हामी निकै गौरवान्वित छौं ।’

नयाँ युनिटले गोर्खाहरुलाई करिअरमा थप अवसरको पहुँच, पदोन्नतिसहित ‘ब्रिगेड अफ गोर्खाज’ मा २४ वर्ष आर्मी सेवा गर्न मौका मिल्ने विश्वास गरिएको छ । गोर्खाहरु विगत २ सय वर्षभन्दा बढी समयदेखि बेलायती सेनामा अभिन्न अंग बन्दै आएका छन् ।

२०१९ इन्टेकका लागि गत महिना नेपालबाट करिब ४ सय युवा छानिइसकेका छन् । यस अलावा बेलायतले ’ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिला पनि सामेल हुन सक्ने गरी बाटो खोलिदिएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई बेलायती सेनामा अवसर प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ ।

बेलायत सरकारले गत सातामात्र भूतपूर्व गोर्खा सैनिकका माग सम्बोधन गर्न बृहत् गोर्खा प्याकेज सार्वजनिक गरेको थियो । प्याकेजमा भूतपूर्व गोर्खा सैनिकलाई सन् २०१६ को १ जनवरीदेखि नै ३४ प्रतिशतसम्मका दरले पेन्सन वृद्धि गरी गुडवील प्याकेजका रुपमा वृद्धि एकमुष्ट उपलब्ध गराउन ४६ मिलियन पाउन्ड (६ अर्ब ७० करोड रुपैयाँ) व्यवस्था गरिएको उल्लेख छ ।

त्यस्तै, सन् २०१९ को अप्रिलदेखि ३४ प्रतिशतसम्मको पेन्सनवृद्धि अलावा नेपालको मुद्रास्फ्रिति अनुसार थप ३.७ प्रतिशत वृद्धि हुने र सोका लागि प्रतिवर्ष १५ मिलियन पाउन्ड (ने.रु २ अर्ब २५ करोड) छुट्टयाइएको छ ।

हालको वृद्धिले सबैभन्दा कम पेन्सन पाउने भूतपूर्व गोर्खाले समेत वार्षिक रु ७ लाख ३० हजार पाउने प्याकेजमा उल्लेख छ । त्यसैगरी भूतपूर्व गोर्खा सैनिक तथा उनीहरुका परिवारलगायतलाई सहज तवरले औषधोपचारको व्यवस्था गर्न १० वर्षको अवधिमा दमक, धरान, पोखरा, बुटवल र काठमाडौंमा स्वास्थ्य केन्द्र स्थापना गर्न समेत बजेट व्यवस्था गरिएको छ ।

भर्खर बेलायत सरकारले गोर्खाका सैनिकका लागि घोषणा गरेको प्याकेजमा गोर्खा सैनिकले आपति जनाइसकेका छन् । उनीहरुले तलव र पेन्सनमा प्रतिशत वृद्धि मात्र गोर्खाहरुको माग नभएको प्रष्ट पार्दै समानता र विभेद अन्त्यका लागि गोर्खाहरुको आन्दोलन जारी रहने जनाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७