रोनाल्डोको ह्याट्रिकमा क्वार्टरफाइनलमा युभेन्ट्स


२९ फाल्गुन २०७५, बुधबार
ronaldo juventus 20190313004145

काठमाडौं, २९ फागुन । दुई बलिया बलिया क्लब युभेन्ट्स र म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छन् ।

ronaldo juventus 20190313004145

इटालियन ‘लिग लिडर’ युभेन्ट्स बुधबार बिहान खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा युभेन्ट्सले प्रभावशाली स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई ३–० गोलले हरायो । उक्त नतिजापछि युभेन्ट्स ३–२ कुल गोल भिन्नताका आधारमा अघि बढ्यो । यसअघि एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा युभेन्ट्स २–० गोलले पराजित भएको थियो ।

म्यानचेस्टर सिटीले भने घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा जर्मन प्रतिद्वन्द्वी साल्केलाई ७(० गोलको विशालअन्तरले पाखा लगायो । उक्त नतिजापछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी १०-२ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुग्यो । यसअघि साल्केको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा पनि म्यानचेस्टर सिटी ३–२ गोलले विजयी भएको थियो।

Juventus Atletico Madrid 20190313004243

एट्लेटिको म्याड्रिडविरुद्ध महत्वपूर्ण खेलमा युभेन्ट्सका लागि तीनवटै गोल पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गरेका थिए । पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पनि दुई गोल थपेका थिए ।

यसैगरी खेल सुरु भएको २७ औं मिनेटमै उनले टोलीका लागि पहिलो गोल गरे । ४८औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि पेनाल्टीमार्फत अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे ।

रोनाल्डो यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्ट्समा आबद्ध भएका हुन् । उनले च्याम्पियन्स लिगमा गरेको गोल सँख्या एक सय २४ पुगेको छ । रोनाल्डोले च्याम्पियन्स लिगमा गरेको यो आठौं ह्याट्रिक हो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको खेल तालिका आगामी शुक्रबार सार्वजनिक गरिने छ ।

पहिलो लेग खेलमा पराजित भएर पनि युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको यो सन् २००५–६ पछि पहिलो पटक हो । सन् २००५र६ सिजनमा पहिलो लेग खेलमा पराजित भएको युभेन्ट्स दोस्रो लेग खेलमा जर्मन क्लब वेर्डर ब्रेमेनलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

एट्लेटिको म्याड्रिड भने घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा २–० गोलले विजयी भएर पनि क्वार्टरफाइनलमा पुग्न नसक्ने विश्वकै चौथो क्लब बनेको छ ।

यसैगरी साल्केविरुद्घको खेलमा म्यानचेस्टर सिटीका लागि सर्जियो एग्वेरोले दुई गोल गरे । उनले दुबै गोल चार मिनेटको बीचमा गरेका थिए । खेल सुरु भएको ३५औं मिनेटमै पेनाल्टीमार्फत पहिलो गोल गरेका एग्वेरोले ३८औं मिनेटमा टोलीको अग्रता २–० बनाएका थिए ।

पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि म्यानचेस्टर सिटीका लागि लेरोय सानेले तेस्रो गोल गरे । ५६औं मिनेटमा रहिम स्टर्लिङले टोलीको अग्रतालाई ४–० बनाए भने ७१औं मिनेटमा बेनार्डो सिल्भाले पाँचौं गोल गरेका थिए।

यसैगरी ७८औं मिनेटमा फिल फोडेनले छैटौं गोल थपे भने ८४औं मिनेटमा ग्याब्रियल जिससले सातौं गोल गरेका थिए । कुनै पनि टोली १०–२ वा सोभन्दा ठुलो गोल अन्तरले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको यो दोस्रो पटक हो । यसअघि सन् २००८–९ सिजनमा जर्मन क्लब बायर्न म्युनिखले स्पोर्टिङ सीपीलाई १२-१ कुल गोल भिन्नताका आधारमा हराएको थियो ।

जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने म्यानचेस्टर सिटी तेस्रो इङ्लिस क्लब हो । म्यानचेस्टर युनाइटेड र टोट्टनहाम यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् । सन् २०१०–११ सिजनपछि पहिलो पटक तीनवटा इङ्लिस क्लब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका हुन् ।

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको पछिल्ला सात खेलमा कम्तिमा दुई गोल गरेको छ । एग्वेरोले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीका लागि लगातार चौथो खेलमा गोल गरेका हुन् भने सानेले ब्यवसायिक प्रतियोगितामा ५०औं गोल गरेका हुन् । सानेले म्यानचेस्टर सिटीका लागि ३७ र पूर्वक्लब साल्केका लागि १३ गोल गरेका छन् ।

यसैगरी फोडेन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीका लागि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । साल्केविरुद्घको खेलमा गोल गर्दा उनको उमेर १८ वर्ष दुई सय ८८ दिन मात्र पुगेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७