धुरीबाट कमरेडको पाप कराएपछि


२९ फाल्गुन २०७५, बुधबार
cover

काठमाडौं, २९ फागुन । राजनीतिक, सामाजिक र व्यावसायिक रूपमा स्थापित र सफल मानिएका व्यक्ति क्षणिक आवेगलाई नियन्त्रणमा राख्न नसक्दा कसरी एकाएक पतन र मतिभ्रष्ट हुन्छन् भन्ने गतिलै उदाहरण मोरङमा फेला परेको छ ।

cover

बेलबारी नगरपालिका–४ मा नेकपा एमालेका पूर्व नगरअध्यक्ष, लोहोन्द्रा साझेदारी वनका अध्यक्ष तथा बेलबारी सामुदायिक नोबेल हस्पिटलका अध्यक्ष योगेन्द्र गुरुङले गरेको एउटा घीनलाग्दो अपराधले उनी सम्भवतः आजीवन जेल जाने भएका छन् ।

काठमाडौं र बेलबारी घर भएका र सधैं कार चढी हिंड्ने गुरुङ यतिबेला एक महिलाको हत्या आरोपमा प्रहरी हिरासतमा छन् । श्रीमती र छोराछोरी हुँदाहुँदै ५ वर्षदेखि एक विवाहित महिलासँग लागेका उनले फागुन १७ गते राति तिनैलाई सप्तकोशी नदीमा हेलिदिएपछि खोरमा पुगेका हुन् ।

१७ गते साँझ योगेन्द्र रमिला बस्ने माइती घरमा पुगे । पति छाडेर बसेकी उनलाई योगेन्द्रले बेला–बेला घुमाउन लैजाने गरेकाले माइतीहरूले विराटचोकस्थित दोहोरी साँझमा पठाए । रमिलासँगै साथी र अर्का युवक पनि सोही कारमा विराटचोकस्थित हवाना होटल गएका थिए । त्यहाँ उनीहरूले राति ११ बजेसम्म खाइपिइ, नाचगान र रमाइलो गरे । राति ११ बजेतिर योगेन्द्र सबैलाई लिएर फर्किए । सँगै गएकी अर्की युवती र युवकलाई भने घर नजिकै छाडिदिए ।

भोलिपल्ट अर्थात् शनिबार उज्यालो भइसक्दा पनि रमिला माइतीघर आइनन् । बहिनीले फोन गरेर सोधिन् । योगेन्द्रले राति साढे ११ बजेतिर घरनजिकै छोडिदिएको जवाफ फर्काए । तर, रातिदेखि बेपत्ता रमिलाको न फोन लाग्थ्यो, न त कुनै पत्तो थियो ।

परिवारले फोन गरेपछि बिहानै योगेन्द्र आफैं रमिलाको माइती गए । उनी अलि अत्तालिएका जस्ता थिए । त्यसैले तीन–चार पटक त्यता पुगे । बेलबारीका प्रहरी प्रमुख रामकुमार राईलाई ‘मेरी गर्लफ्रेण्ड हराइन्, तनाव भयो लौ न खोजी गरिदिनु पर्‍यो’ भन्दै फोन गरे । प्रहरीले माइती पक्षलाई २४ घण्टाभित्र घटनाको जरो पत्ता लगाउने संकेत दिएको थियो ।

२१ गते मंगलबार दुवै पक्षबीच इलाका प्रहरी कार्यालय बेलबारीमा छलफलसमेत भयो । सोही दिन गुरुङले मोरङका केही वकिलसँग परामर्श गरे । इप्रकाले विशेष टोली खटाएर गाउँलेसँगको सहयोगमा बुधबार बेतना सिमसार र आसपासको जंगल क्षेत्रमा खोजी गर्‍यो । बिहीबार गछिया र गोठगाउँ आसपासका खोला किनार र जंगलमा पनि खोजतलास गरियो तर केही भेटिएन ।

चार–पाँच दिनसम्म पनि नभेटिएपछि प्रहरीले गुरुङमाथि निगरानी बढायो । त्यतिबेलासम्म प्रहरीले के निश्कर्ष निकालेको थियो भने रमिला या त कतै बन्धक बनाएर राखिएकी छन् नत्र जीवित छैनन् ।
हल्ला चलेपछि योगेन्द्रकी श्रीमती पनि सोमबार काठमाडाैंबाट बेलबारी आएकी थिइन् । तर, तनावमा रहेका योगेन्द्रले उनलाई लामो समय राख्न चाहेनन् । तेस्रो दिन बुधबार श्रीमतीलाई प्लेनमार्फत विराटनगरबाट काठमाडांै पठाउन भनी निस्के ।

एयरपोर्ट पु¥याउन निस्केका योगेन्द्रको त्यतिबेलासम्म नेपाल टेलिकमको पोस्टपेड मोबाइल चालु थियो तर त्यसपछि स्विच अफ भयो र उनी बेपत्ता भए । एकजना घुमुवा प्रहरीले ट्रिक लगाएर परिवारमार्फत अर्काे मोबाइल नम्बर पत्ता लगाए । पशुपतिनगर गएर बसेको थाहा लाग्यो । त्यसपछि इलाम प्रहरीको सहयोगमा एक होटलबाट पक्राउ गरियो ।

अनुसन्धानमा दबाब र प्रभाव नपरोस् भनेर प्रहरीले गुरुङलाई सिधै विराटनगर अर्थात् जिल्ला प्रहरी कार्यालय पु¥यायो । त्यहीं उनले आफूले हत्या गरेको स्विकारे । ‘सिसिटिभी फुटेज’ मा पनि योगेन्द्रको गाडी राति साढे १२ बजे इटहरीबाट पश्चिमतिर लागेको र शनिबार बिहान साढे ४ बजे गोठगाउँबाट पूर्व लागेको देखाउँछ ।

रमिलालाई फागुन १७ गते राति साढे ११ बजे उनले आफ्नै घरमा लगेका रहेछन् । मातेर टिल्ल भएपछि झगडा परेको र जथाभावी गाली गरेकोमा मुख थुन्दा मृत्यु भएको योगेन्द्रले प्रहरीलाई बयान दिएका छन् । रमिला हराएको एक–दुई दिनपछि बेलबारी प्रहरी परिसरमा भएको छलफलमा आउँदा उनको काननेर चिथोरे जस्तो घाउ थियो ।

घरमै रमिलाको प्राण गएपछि फसादमा परेका योगेन्द्रले केही साथीभाइलाई फोनमा हारगुहार गर्न खोजेका थिए । तर, कसैको फोन नउठेपछि राति नै सप्तकोशीमा लगेर हेलिदिएको बयान दिएका छन् । स्रोतका अनुसार त्यसदिन योगेन्द्रले सप्तकोशी ब्यारेजका एक कर्मचारीसँग कुन–कुन ढोका खुला छन् भन्ने जानकारी लिएका थिए । अघिल्लो दिन फालेको लाश निस्कियो कि भनेर हेर्न भोलिपल्टसमेत घुम्न जाने बहानामा एक–दुई जनालाई लिएर सप्तकोशी पुगेका थिए ।

योगेन्द्र पहिले दुई–चार वर्ष जापान बसेर आई बल्ल विवाह गरेका थिए । दुवै छोरा हुर्केका छन् । विदेशमा भएका रमिलाका श्रीमान्ले पनि सम्बन्ध तोडिसकेका थिए । रमिलाकी पनि एउटी छोरी छन् । सोमबारसम्म दैनिकजसो बगेर आउने केही बेवारिसे लास भेटिएका छन् तर तीमध्ये कुनै पनि रमिलाको नभएको प्रहरीले जनाएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

लास भेटिए ठोस प्रमाण जुट्छ तर नभेटिए बलात्कारपछिको हत्या, अपहरण र बेपत्ता वा के मुद्दा झेल्ने हुन्, सर्वसाधारणले अनेक अनुमान गरेका छन् । कतिपयले निर्मला काण्डसँग यो घटनालाई तुलना गरे पनि प्रहरीले रमिला हराएको एघारौं दिन र योगेन्द्र पक्राउ परेको चौथो दिन अर्थात् सोमबारसम्म पनि औपचारिक रूपमा केही सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७