चन्द कार्यकर्तालाई के हुन्छ ?


३० फाल्गुन २०७५, बिहीबार
biplaw

काठमाडौं, ३० फागुन । प्रहरीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि निगरानी बढाउने र शान्तिपूर्ण भेला वा कार्यक्रम भए पनि पक्राउ गर्ने नीति लिएको छ । सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएपछि उसका सबै गतिविधि निस्तेज बनाउन प्रहरीले कारबाही अगाडि बढाउने भएको हो ।

biplaw

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शान्तिपूर्ण भेला हुन पाउने नागरिकको संवैधानिक हक भए पनि सरकारको नीतिअनुसार चन्द समूहलाई त्यस्तो गतिविधि गर्ने छुट नभएको बताए । ‘आपराधिक क्रियाकलापमा संलग्नले शान्तिपूर्ण भेला हुन पनि पाउँदैनन्,’ उनले भने ।

प्रहरीले चन्द समूहमा आबद्ध हुनेजतिलाई पक्राउ गर्ने र हिंसात्मक तथा आपराधिक गतिविधिमा संलग्न भेटिए फौजदारी अपराधको मुद्दा चलाउने र सामान्य गतिविधि वा भेला मात्रै गरेको भए सार्वजनिक सुरक्षा ऐनअनुसार कारबाही गर्ने नीति अख्तियार गर्ने देखिन्छ । ‘हिजोसम्म चन्द समूहलाई कसरी हेर्ने भन्नेमा अस्पष्टता थियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सरकारको निर्देशनले कस्तो कारबाही अगाडि बढाउने भन्ने प्रस्ट भएको छ ।’

ती उच्च अधिकारीले सरकारी निर्णयले प्रस्टता भएको बताए पनि शान्तिपूर्ण भेलालाई कसरी निस्तेज पार्ने भन्नेमा कानुनी प्रस्टताको अभाव देखिन्छ । निर्वाचन आयोगमा दर्ता नभएकाले चन्द समूहलाई दलको हैसियतमा हेर्न मिल्ने कानुनी आधार छैन । ‘त्यही भएर हामीले विप्लव समूह भन्ने गरेका छौं,’ प्रवक्ता सुवेदीले भने ।

chanda 1432019023613

प्रवक्ता सुवेदीले राज्यले चन्द समूहमाथि प्रतिबन्ध लागेकाले त्यसको सदस्यता लिनेहरू पनि कारबाहीको दायरामा आउने बताए । ‘समूहको निर्माण आपराधिक फाइदा लिनका लागि भएको देखिन्छ,’ उनले भने, ‘आपराधिक गतिविधिमा संलग्नलाई खोजीखोजी कारबाही गर्छौं ।’ प्रहरीले हिंसात्मक र राजनीतिक गतिविधि समानान्तर अगाडि बढाइरहेकाले कारबाही गर्न अप्ठ्यारो परेको बताइरहेका बेला सरकारले चन्द समूहलाई प्रतिबन्ध गर्ने निर्णय लिएको हो ।

‘प्रतिबन्ध समाधान होइन’
प्रहरी अधिकारीहरूले औपचारिक रूपमा चन्द समूहमाथि कडा रूपमा प्रस्तुत हुने बताइरहे पनि प्रहरीका उच्च अधिकारी यसबाट मात्रै समस्या समाधान नहुने बताउँछन् । सम्पर्कमा आएका केही उच्च अधिकारीले सरकारी निर्णय कार्यान्वयनबाट चन्द समूहलाई पुरै निस्तेज पार्न नसकिने बताए ।

एक उच्च अधिकारीले भने, ‘मान्छे पक्राउ परे पनि कानुनी जटिलताका कारण कार्यकर्ता छुट्ने सम्भावना हुन्छ । जस्केलोबाट छिरेर गरिएका कानुनी कारबाहीले नतिजा निकाल्दैन ।’ उनले ‘हिट एन्ड रन’ प्रकृतिका घटनालाई पुरै निस्तेज गर्न गाह्रो हुने र उच्च सुरक्षा कारबाही सुरु गर्दा आम जनजीवन प्रभावित हुन सक्ने बताए ।

चन्द समूहका शक्ति र संगठनात्मक संरचनाबारे प्रहरी र सेनाका आआफ्नै अनुमान छन् । प्रादेशिक चुनावताका गुप्तचरी संयन्त्रले गृह मन्त्रालयलाई चन्द समूहमा आठ हजार हाराहारी नेता–कार्यकर्ता रहेको विवरण बुझाएको थियो ।

उच्च प्रहरी अधिकारीहरूका अनुसार चन्द समूह त्यसयता झनै ठूलो भएको र एमाले–माओवादी एकतापछि असन्तुष्टहरू त्यही समूहमा प्रवेश गरेको र केहीले बाहिरबाट सहानुभूति राखेको देखिन्छ । चन्द समूहले सात प्रदेशमा एक–एक ब्युरो र राजधानीमा उपत्यका ब्युरो बनाएर संगठनात्मक संरचना विस्तार गरेको प्रहरी अधिकारीहरूको बुझाइ छ ।

पछिल्ला एकाध महिनामै चन्द समूहले निजी क्षेत्र र सरकारी कार्यालयहरूबाट करोडौं चन्दा उठाएको प्रहरी अनुमान छ । खासगरी पश्चिम र मध्य पहाडका स्थानीय तहबाट चन्द समूहले ठूलो रकम चन्दा उठाएको देखिन्छ ।

एक उच्च प्रहरी अधिकारीका अनुसार चन्दा ऐन २०३० को पछिल्लो संशोधनले कसैले जोरजबर्जस्ती चन्दा उठाएको सूचनाका आधारमा मात्रै प्रहरीले कसैविरुद्ध कारबाही गर्न सक्दैन, चन्दा दिन बाध्य व्यक्तिले प्रहरीकहाँ निवेदन दिएपछि मात्रै पक्राउको अधिकार हुन्छ । ‘चन्दा दिने व्यक्तिले प्रहरीकहाँ भयका कारण पनि निवेदन दिन सक्दैन,’ ती अधिकारीले भने ।

चन्द समूहको चन्दा आतंकको तारोमा व्यवसायी, निजी शिक्षा क्षेत्र, बैंक र सहकारी, गैरसरकारी संस्थाहरू परेको रिपोर्ट प्रहरीकहाँ पुगेको छ । मंगलबार मात्रै प्रहरी प्रधान कार्यालयको सचिवालयमा पूर्वी नेपालका धेरैजसो जिल्लामा शाखा विस्तार गरेको एक सहकारीका प्रमुख कार्यकारी अधिकृतलाई चन्द समूहका कार्यकर्ताले चन्दा माग गरेको र नदिए सफाया गरिदिने धम्की दिएको सूचना आएको थियो । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘आर्थिक स्रोत हतियार किन्नमा प्रयोग हुन सक्छ । त्यस्तो भए चन्द समूहको हिंसा झन् सघन हुन सक्छ ।’

प्रतिबन्ध लगाउने निर्णय किन ?
शृंखलाबद्ध विस्फोटका घटना हुनुका साथै नख्खु विस्फोटमा एक जनाको ज्यान गएपछि चन्द समूहविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली कडा रूपमा प्रस्तुत भएका थिए । विखण्डनको नारा अघि सारेर आन्दोलनरत सीके राउतसँगको सम्झौता समारोहमा प्रधानमन्त्री ओलीले चन्द समूहलाई लुटेराको संज्ञा दिएका थिए ।

त्यही साँझ चन्द समूहले काठमाडौं, बसुन्धरामा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट गराएको थियो । पछिल्लो एक महिनामा मात्रै संघीय राजधानीमा दुई ठूला विस्फोट र दुईवटा विस्फोटन प्रयास भएका थिए ।

राजधानीभित्र र बाहिर शृंखलाबद्ध विस्फोट भएकै बेला प्रहरीले चन्द समूहले लक्षित गरेका व्यवसायी, नेता र उच्च पदस्थ व्यक्तिहरूको सूचना सरकारले पाएको देखिन्छ । स्रोतका अनुसार यस्तो सूचना प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको गुप्तचर विभागले पनि पाएको थियो र उक्त सूचना प्रधानमन्त्रीकहाँ र्पुयाइएको थियो । स्रोतका अनुसार सूचना पाएलगत्तै प्रहरीले राजधानीमा सुरक्षा सतर्कता बढाएको थियो ।

ललितपुरको नख्खुमा विस्फोट भएकै साता प्रहरीले धरानको पानमारा सडकखण्डमा चन्द समूहका कार्यकर्ता सन्दीप भनिने देवकुमार लिम्बूलाई नेपाली सेनाको मात्रै पहुँचमा रहेको भनिएको एम–१६ हतियारसहित पक्राउ गरेको थियो । सशस्त्र द्वन्द्वकालमा अमेरिकामा निर्मित एम–१६ नेपाली सेनाले किनेको थियो । यो घटनाले पनि चन्द समूहप्रति सेनाको चासो बढाएको थियो ।

फागुन २३ मा प्रहरीले चन्दको गृह जिल्ला कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित कार्यकर्ता दुर्गाबहादुर रोक्कालाई दुई थान एसएमजी, त्यसमा लाग्ने गोली ६८ राउन्ड र एक थान पेस्तोलसहित पक्राउ गरेको थियो । एकपछि अर्को विस्फोटका घटना र आधुनिक हतियार फेला परेपछि प्रधानमन्त्री कार्यालयले चासो बढाएको देखिन्छ ।

आतंक लेखाजोखा
प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांकले चन्द समूहको हिंसात्मक क्रियाकलापको ग्राफ हरेक वर्ष उकालो लागेको देखाउँछ । प्रहरी रकेर्डअनुसार २०७२–७३ यताका तीन वर्षमा प्रहरीले चन्द समूहबाट आठ थान हतियार बरामद गरेको छ । चन्द समूहले ११ विस्फोट गराएको छ ।

आगजनी र तोडफोडका ५२ घटना भएका छन् । २०७४–७५ मा मात्रै प्रहरीले ४३ थान सकेट बम, २ सय १५ वटा गोली र ११ वटा म्याग्जिन बरामद गरेको छ । वैशाखयता मात्रै चन्दका ४ सय ११ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले फागुनमा सबैभन्दा धेरै अर्थात् ७३ जना पक्राउ गरेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७