विभिन्न कार्यक्रमका साथ चौथो ‘अन्तर्राष्ट्रिय मुख स्वास्थ्य’ दिवस मनाउँदै


३० फाल्गुन २०७५, बिहीबार
53764522 2062216117165279 8453053511830077440 n


काठमाडौं, ३० फागुन । नेपाल डेण्टल साइन्स हाइजेनिष्ट एशोसिएसनले ‘चौंथो राष्ट्रिय मुख स्वास्थ्य दिवस’ विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

53764522 2062216117165279 8453053511830077440 n


आउँदो चैत २ गते देखि सप्ताहान्तसम्म मनाइने दिवसको उद्घाटन स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले उद्घाटन गर्नेछन् । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा मुखको स्वास्थ्यबारे जानकारी नहुँदा विभिन्न रोगको संक्रमण देखिने गरेको पाइए पनि सर्वसाधरणलाई मुख र दाँतको सरसफाइको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

शिक्षा, स्वास्थ्य चेतना अभावका कारण नेपालीहरुमा मुखको सरसफाइ दाँतको सफाइ गर्ने बानीको विकास हुन नसक्दा दाँतको समस्या, मुखका घाउ खटिराको समस्या देखिने गरेको छ । यति मात्र होइन खैनी, सुर्ती सेवन गर्ने बानीका कारण मुख, जिब्रोको क्यान्सर समेत हुने गरेको परिप्रेक्ष्यमा गुणस्तरीय जीवनयापनका लागि आवश्यक ज्ञान र चेतना विस्तारका लागि कार्यक्रम गर्न लागिएको हो । एशोसिएसनले वर्षेनी राष्ट्रियस्तरमा विश्व मुख स्वास्थ्य दिवस मनाउँदै आएको छ ।

एशोसिएसनको विभिन्न अध्ययनहरुले मुखको स्वस्थ राख्ने कुरामा हेल्चेक्र्याई गरिंदा विभिन्न स्वास्थ्य समस्या जटिल रुपमा बढ्दै गइरहेको पाइएको छ । मुखको स्वास्थ्य हरेक मानिसको आवश्यकतावोध गराउने र मुख स्वस्थ राख्ने सुविधा र पहुँच ग्रामीण तहसम्मका नागरिकमा पु¥याउन सरकारलाई नीति निर्माणमा बाटो देखाउनका लागि पनि कार्यक्रम आयोजना गरिंदै आएको एशोसिएसनका सचिव एवम् प्रवक्ता डेण्टल हाइजेनिष्ट निमागेल्बु शेर्पाले बताउँछन् ।


स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाललगायत अन्तर्राष्ट्रिय डेण्टल हाइजेनिष्टहरुले मुखको स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा विभिन्न नीति निर्माण तहका व्यक्तित्व, एशोसिएसनका प्रतिनिधि, कलेज प्रतिनिधि तथा मुखको स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यवसायी र विद्यार्थीहरुको सहभागिता रहने आयोजक एशोसिएसनका अध्यक्ष माइकल देवकोटाले जानकारी दिएका छन् ।
के हो मुख स्वास्थ्य ?
मुखको समस्या भन्नाले दाँत, गिजा, जिब्रो, तालु, गाला, चिउँडोलगायत मुख वरपरको सम्पूर्ण अङ्गको समस्या बुझ्नु पर्छ । मुख स्वस्थ नहुने मान्छे शारीरिक रुपमा पूर्ण स्वस्थ हुन सक्दैन । सामाजिक रुपमा आत्मविश्वासी पनि हुन सक्दैन । त्यसकारण उसको गुणस्तरीय जीवनयापनमा ह्रास आइरहेको हुन्छ ।
हिजो जे जस्तो भए पनि अब भने हामी मुख स्वास्थ्यबारे जानकार हुनैपर्छ । मुख तथा दाँतको समस्या र रोगहरुबाट मुक्ति पाउने बाटोतिर अगाडि बढ्नु पर्छ । विश्व मुख स्वास्थ्य दिवस मनाउनुको उद्देश्य पनि यहि हो । यो अभियानमा हामी सम्पूर्णले साथ दियौं भने मुख स्वास्थ्यको क्षेत्रमा एउटा नयाँ आयाम थपिने छ ।
मुख तथा दाँतलाई कसरी स्वस्थ राख्ने ?
१० खाने कुरामा ध्यान दिनुहोस् । गुलियो र दाँतमा टाँसिने खालका खानेकुरा केक, चकलेट आदि धेरै मात्रामा नखानुस् । गुलियो खाइसकेपछि मुख कुल्ला गर्ने, प्रशस्त पानी खाने र मिलेसम्म ब्रस गर्ने गर्नुहोस् । बजारमा पाइने प्रशोधित खानेकुरा चाउचाउ, विस्कुटभन्दा ताजा खानेकुरा, काँक्रो, गाँजर, मुला, स्याउ, हरियो सागसब्जीमा ध्यान दिनुस् ।
२० मुखको सरसफाईमा ध्यान दिनुहोस् । हरेक पटक खानेकुरा खाएपछि राम्रोसँग मुख कुल्ला गर्नुहोस् । दिनमा २ पटक फ्लोराइड युक्त टुथपेस्टले खाना खाइसकेपछि अनिवार्य रुपमा दाँत माझ्नुस् । दाँतको बीच–बीचमा अड्किएको फोहोरलाई डेन्टल फ्लसको सहायताले सफा गर्नुहोस् । जमेको र ब्रसले नजाने खालको फोहोर छ भने मेसिनको सहायताले दन्त चिकित्सक अथवा डेन्टल हाइजेनिष्टबाट सफा गराउनुपर्ने हुन्छ । साना नानीहरुको दाँत माँझ्न अभिभावकले सहयोग गर्नुपर्छ । दाँत नै नभएका स–साना केटाकेटी अथवा दाँत माँझ्न नमिल्ने खण्डमा पनि सफा कटन भिजाएर हरेक पटक खानापछि बच्चाको दाँत र गिंजा सफा गरिदिनु पर्छ ।
३० दाँत दुखेपछि मात्र उपचार गर्छु भन्दा धेरै ढिलो भइसकेको हुन्छ । दुखेर दाँतको उपचार गर्न जाँदा धेरै पैसा र समय मात्र खर्च हुन्छ । बढी दुखाइ र पीडा सहनुपर्ने हुन्छ । शुरुकै अवस्थामा निकै सजिलै रुपमा धेरै समस्याको समाधान गर्न सकिन्छ । त्यसैले ६–६ महिनामा दन्त स्वास्थ्यकर्मी वा चिकित्सकलाई दाँत र मुखको परीक्षण गराई उपयुक्त र आवश्यक उपचार गर्ने गर्नु पर्दछ ।
यति ३ टिप्सलाई ध्यान दिने हो भने दाँत तथा मुखसम्बन्धी ९० प्रतिशत समस्या समाधान र रोकथाम गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७