मन्त्रिपरिषदले निर्णय गरी औपचारिक पत्र पठाए वार्ता बस्न तयार छौं : विप्लव

‘प्रतिबन्ध लगाएर वार्तामा बोलाउनुको औचित्य छैन’


१ चैत्र २०७५, शुक्रबार
biplaw

काठमाडौं, चैत १ । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले वार्ताका लागि गरेको आह्वान स्वागतयोग्य भए पनि औचित्य नभएको बताएको छ ।

biplaw

विप्लव नेतृत्वको नेकपा पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ ले सरकारले वार्ताका लागि गरेको आह्वान स्वागतयोग्य रहे पनि ढिला गरी आह्वान भएको बताएका छन् । बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि सधैँ तयार रहेको बताएका थिए ।

प्रवक्ता बाँस्कोटाले भनेका थिए, ‘हामी विप्लव समूहलाई दश औँला जोडेर रातो कार्पेट ओछ्याएर बिन्ती गर्छौँ हिंसात्मक गतिविधि छोडेर वार्तामा आउनुहोस् ।’

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आपराधिक गतिविधि गरेको भन्दै चन्द नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर वार्ताका लागि गरिएको आह्वान स्वागतयोग्य नै रहे पनि औचित्य भने नरहेको कार्कीले बताएका छन् ।

एकातिर प्रतिबन्ध लगाउने निर्णय गर्ने, अर्कोतिर वार्ताका लागि बोलाएको जस्तो गर्नु सरकारको द्वैध चरित्र भएको उनले बताएका छन् । आफूहरूलाई प्रतिबन्ध लगाएर सरकारले जबरजस्ती युद्धमा धकेल्न खोजेको उनले बताएका छन् ।

‘हामीलाई कहिल्यै पनि वार्ताका लागि औपचारिक रुपमा सरकारले बोलाएको छैन’ पोलिटब्यूरो सदस्य कार्कीले भन्छन्, ‘मन्त्रिपरिषद् बैठकले निर्णय गरेर वार्ताका लागि औपचारिक पत्र पठाए जहिल्यै पनि वार्ता गरेर समस्या समाधान गर्न हामी तयार छौँ ।’ वार्ताका लागि बोलाएको भनेर बाहिर हल्ला गरिएको भए पनि पार्टीलाई पत्र लेखेर औपचारिक रुपमा वार्ताका लागि सरकारले कुनै पहल नगरेको पनि उनले बताएका छन् ।

पार्टीले एकीकृत जनक्रान्तिको बाटो अंगालेर अघि बढेको भन्दै उनले स्वाधीन अर्थतन्त्रको विकास, निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार जस्ता व्यवस्था स्थापित नहुँदासम्म आफ्नो पार्टी लडिरहने पनि उनले बताए । यो राज्यसत्ता भंग गर्दै एकीकृत जनक्रान्तिमार्फत राज्यसत्ता स्थापित गर्ने अभियानमा आफूहरु अघि बढेको पनि कार्कीले जानकारी दिएका छन् ।

सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फिर्ता लिएर वार्ताका लागि औपचारिक पत्र पठाए त्यसका लागि आफूहरु पनि तयार रहेको उनले बताए । ‘हामी पनि देश समृद्ध बनाउने अभियानमा नै छौँ, नागरिकले दुःख नपाउन् भन्नेमा नै छौं,’ उनले भने, ‘तर त्यसका लागि सरकारले इमान्दार बनेर वार्ताको वातावरण तयार पार्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७