कर्मचारीलाई समायोजनको अन्तिम अवसर दिंदै सरकार, यसरी हुँदैछ स्वास्थ्यमा समायोजन तयारी


१ चैत्र २०७५, शुक्रबार
karmachari

काठमाडौं, चैत १ । सरकारले कर्मचारीलाई समायोजनको अन्तिम मौका दिने भएको छ । प्रदेश र स्थानीय तहमा समायोजन हुनका लागि सरकारले अन्तिम अवसर खुल्ला गरेको हो ।

karmachari

समायोजनपछि पनि अधिकांश कर्मचारी संघमै बस्न खोजेपछि त्यसको समाधानका लागि सरकारले प्रदेश र स्थानीय तह जान कर्मचारीलाई अन्तिम मौका दिन लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघमा समायोजन भएका कर्मचारीहरू कारणवस् प्रदेश वा स्थानीय तहमा जान चाहे भने उनीहरूलाई चाहेको ठाउँमा जान दिने नीति सरकारले बनाउने भएको छ ।

तर त्यस्तो अवसर कर्मचारीहरूले एक पटक मात्र पाउने छन् । अधिकांश कर्मचारी संघमा समायोजन भएपछि ठूलो संख्यामा प्रदेश र स्थानीय तहमा तत्काल कर्मचारीको अभाव हुने भएको छ । मन्त्रालयका सहसचिव केदार पनेरुले समायोजनको टुंगो लागिसकेपछि संघबाट प्रदेश या स्थानीय तहमा जान चाहेका कर्मचारीलाई एकपटक अन्तिम अवसर दिने विषयमा छलफल भइरहेको बताउँदै यसबारे मन्त्रालय सकारात्मक भएको बताउँछन् ।

उनी भन्छन्, ‘अधिकांश कर्मचारीको समायोजन संघमा भएपछि मन्त्रालय यस्तो सोचमा पुगेको हो ।’ उनी थप्छन्, ‘समायोजनपछि संघमा समायोजन भएका कर्मचारीहरू प्रदेश वा स्थानीय तहमा जान चाहे भने उनीहरूलाई एक पटक अन्तिम अवसर दिने सोच बनेको छ ।’

मन्त्रालयले समायोजनको विषयमा असन्तुष्ट कर्मचारीका गुनासा सुन्न सहसचिव रूपनारायण भट्टराईको संयोजकत्वमा एउटा टिम गठन गरेको छ । टिमसमक्ष समायोजनप्रति असन्तुष्ट कर्मचारीको गुनासो दिनहुँजसो आउने गरेको एक कर्मचारी बताउँछन् । स्रोत भन्छ, ‘संघमा समायोजन भएका केही कर्मचारी प्रदेश या स्थानीय तहमा फर्कन चाहेका छन् तर त्यो संख्या कम छ ।’

समायोजनप्रति गुनासो राख्ने कर्मचारीमध्ये अधिकांश कर्मचारी आफ्नो समायोजन घरपायक नभएको, समायोजन फारममा संघ रोजे पनि स्थानीय तहमा समायोजन गरिएको जस्तो गुनासो आउने गरेको मन्त्रालय स्रोत बताउँछ ।

अझै स्वास्थ्य क्षेत्रको समायोजन बाँकी नै छ । सरकारको कर्मचारी समायोजनको काम करिब–करिब अन्तिम चरणमा पुर्‍याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबारसम्म ५९ हजार ७ कर्मचारीको समायोजनको काम पूरा भएको जनाएको छ । समायोजन गरिएका कर्मचारीमध्ये अधिकांश कर्मचारी संघमा समायोजित भएका छन् ।

मन्त्रालयका अनुसार संघमा ३८ हजार ५०९, प्रदेशमा ९ हजार ५६२ र स्थानीय तहमा ९ हजार ४५९ कर्मचारी समायोजन भएका छन् । यसैगरी १ हजार ४७० कर्मचारी फाजिलमा परेका छन् । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको संख्या करीब बराबर रहेको मन्त्रालयले जानकारी दिएको छ । सरकारले समायोजन गर्न बाँकी रहेका कर्मचारीमध्ये अधिकांश स्वास्थ्य सेवाका छन् ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवाका २४ हजार कर्मचारीको समायोजन गर्न बाँकी छ । तीमध्ये करिब १४ हजार स्थानीय तहमा समायोजन हुने सम्भावना रहेको समायोजन महाशाखाका प्रमुख केदार पनेरुले बताएका छन् । स्वास्थ्य सेवामध्ये नवौं र दशौं तहलगायतका करिब २ हजार ७ सय कर्मचारीको समयोजन पूरा भएको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७