नेकपामा गुट र उपगुटको जालो, कुन–कुन नेताको छ गुट ?


२ चैत्र २०७५, शनिबार
OLI DAHAL NEPAL

काठमाडौं, २ चैत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुट उपगुटको जालोले घेरिन पुगेको छ । वरिष्ठ नेतादेखि मध्यम तहका नेताहरूसमेत गुट उपगुट बनाउन सक्रिय हुन थालेपछि पार्टी एकता प्रक्रिया पनि सकसमा पुगेको आजको राजधानी दैनिकमा समाचार छ ।

अहिले नेताहरु गुट बनाउन र आफ्नो स्वार्थसिद्ध पुरा गर्नमा नै केन्द्रित हुन थालेका छन् । जसका कारण मु्ख्य गुट, उपगुट हुँदै सहायक गुट समेत सिर्जना हुन थालेको पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता भएको १० महिना पुगिसकेको छ । यस अवधिमा गुट उपगुट तथा सहगुट हुँदै गुट बढ्ने क्रममा पनि वृद्धि आएको कार्यकर्ताको गुनासो छ । अधिकांश कार्यकर्ताले गुट उपगुटको स्वार्थकै कारण एकता अलमलमा परेको भन्दै आक्रोशसमेत पोख्न थालेका छन् ।

शीर्षस्थ नेतामाथि गुटलाई निराकरण गर्नभन्दा पनि उल्टै बढावा दिने काममा समेत तल्लीन हुन पुगेको आरोप लाग्दै आएको छ । गुट उपगुटकै कारण शीर्ष नेताहरूले आफू निकटलाई च्याप्ने र इतरलाई पाखा लगाउने योजनाका कारण भागबन्डामा समेत कुरा मिल्न सकेको छैन । चरम गुटबन्दीका कारण एकता प्रक्रियाको टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको नेताहरूले स्वीकार गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालका प्रमुख तीन गुट सक्रिय रहेका छन् । आफ्नो गुटको स्वार्थका कारण उनीहरूबीच भागबन्डा नमिलेका कारण पार्टी एकता झनै सकसमा पुगेको छ । शीर्ष तीन नेताका प्रमुख गुटका साथै अन्य उपगुटहरू पनि सक्रिय रहेकाले भागबन्डामा किचलो भई एकता टुंगो लाग्नमा ढिलाइ भएको पार्टी स्रोतले जनाएको छ ।

नेतापिच्छै उपगुटको जालो

वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, स्थायी कमिटीका सदस्य भिम रावल, मातृका यादव, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माका छुटाछुटै उपगुटले समेत एकता प्रक्रियामा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।

महासचिव रहेका विष्णु पौडेलको आफ्नो छुटै उपगुट अस्तित्वमा छैन । उनी अध्यक्ष एवं प्रधानमन्त्री ओली निकटका नेताका रूपमा सक्रिय छन् । प्रत्यक्षअप्रत्यक्ष रूपमा गुटगत स्वार्थकै कारण एकता प्रक्रियामा ढिलाइ भएको नेताहरूले समेत स्वीकार गरेका छन् ।

तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखी स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

पार्टीमा रहेका गुट एवं उपगुटका साथै एकता टुंगो लाग्न नसक्नुका अन्य सहायक कारण पनि रहेका छन् । भेनेजुएला प्रकरण, सिके राउत र सरकारबीचमा भएको ११ बुँदे सहमति, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारलाई प्रतिबन्ध लगाउनु, मन्त्री हेरफेर गर्ने प्रस्ताव, सरकारको काम प्रभावकारी हुन नसकी नेकपा नेताबाटै आलोचना हुनुलगायतका कारणले पनि एकता टुंगो लाग्नमा समस्या भएको छ । यी विभिन्न कारणले नेताहरूको ध्यान ती मुद्दामा केन्द्रित भएपछि पार्टी एकता टुंगा लाग्नमा समस्या भएको विश्लेषण नेकपाकै नेताहरूको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७