सरकारी कार्यालय नै मापदण्ड विपरीत


२ चैत्र २०७५, शनिबार
jhapa napi bibhag

झापा, २ चैत । झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्ष दिन बित्दा समेत कार्यालय सर्न सकेको छैन ।

jhapa napi bibhag

विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नापी कार्यालय सर्न नसकेको हो । विसं २०७२ भदौ २० गते शाह इञ्जिनियरिङ कन्सट्रक्सन ललितपुरले २०७३ साल पुस १९ गते निर्माण सम्पन्न हुने गरी नापी कार्यालयको भवन ठेक्कामा लिएको थियो ।

सोही अवधिमा निर्माण कार्य सम्पन्न नगरेको कम्पनीले दोस्रो पटक विसं २०७४ पुस मसान्तमा सक्ने गरी म्याद थप गरेको थियो । रु दुई करोड ३२ लाख ८९ हजार ८३१ मा सम्झौता भएको नापी कार्यालयको भवनको ठेकेदार कम्पनीले एक करोड ७५ लाख १७ हजार ७७५ भुक्तानी लिइसकेको नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताए ।

कार्यालयले पटक पटक सडक डिभिजन कार्यालय इलामलाई पत्र लेखी नवाँै पटकको बिल चेकजाँचका लागि अनुरोध गरेको कार्यालयको तथ्याङ्कमा देखिएको छ । सोही बिल फस्र्योट गर्नु अघि डिभिजन कार्यालयका इञ्जिनियर देवेश चौधरी र सुदीप पौडेलले प्रतिवेदन नै तयार पारी मापदण्डअनुसारको जस्ताको मोटाइ, अल्मोनियमको झ्याल ढोका, परापेट रेडिङ, विद्युत्को स्वीच नभएकाले सच्याउन अनुरोध गर्दै बिल सदर नहुने व्यवहोराका पत्र नापी कार्यालयलाई लेखेको थियो ।

नापी कार्यालयले पटक पटक ठेकेदार कम्पनीलाई पत्र लेखेर इञ्जिनियरले दिएको सुझावअनुसार कार्य गर्न अनुरोध गरे पनि हर हिसाब फस्र्यौट नगरेको बहानाबाजी गरेर कम्पनीले भवन जिम्मा नदिँदा समस्या भएको प्रमुख भण्डारीले बताए । उनले पछिल्लो पटक पत्रमा डिभिजन कार्यालय इलामले भद्रपुरमा रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनासँग समन्वय गरी निर्माणधीन भवनको कार्य अघि बढाउन पत्राचार गरेको बताए ।

‘सघन शहरी विकास तथा भवन निर्माण आयोजनाले समेत असहयोग गरेको कारण जीर्ण भवनमा बसेर काम गरिरहनुपरेको छ’, उनले भने, ‘पटक पटक पत्र पठाएर बिल चेकजाँच गरेर फिर्ता गर्न तागेता गरे पनि बेवास्ता गरेको कारण ठेकेदारलाई भुक्तानी दिन सकेनौँ ।

बजेट समेत गत वर्ष फ्रिज भएर गयो । उसले भवन नै हामीलाई हस्तान्तरण गरेको छैन । यता ठेकेदार कम्पनीका प्रमुख सञ्जीव शाहले भवन सम्झौताअनुसार नै बनिसकेको दाबी गर्दै भने, ‘बिल पेश गरेको एक वर्ष भयो भुक्तानी भएको छैन, हामीले पाउन रु ६० लाख छ भुक्तानी हुने बित्तिकै नापीलाई भवन जिम्मा लगाउँछौँ ।’

कम्पनी प्रमुख साहले शहरी विकास तथा भवन निर्माणको कार्यालयकै आँगनमा रहेको उक्त भवनको कुनै पनि काम तोकिएभन्दा बाहिर नगरेको बताए । शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख विदुर खड्काले अहिलेसम्म नापी कार्यालय र ठेकेदार दुवै पक्षले आफूलाई लिखित मौखिक कुनै जानकारी नगरेको बताए ।

उनले भने, ‘आगनमै कार्यालय छ हामीलाई मापदण्डअनुसार छ छैन हेरिदिनु प¥यो भनेर कोही आउनु भएको छैन आउनु भए तत्काल निरीक्षण गर्न तयार छौँ ।’ उनले नापी कार्यालय आफैँले अग्रसर भएर सो काम गर्नुपर्ने बताउँदै भने, ‘हामीबाट गर्ने काममा ढिलाइ हुने छैन ।’

ठेकेदार कम्पनीका प्रमुख सञ्जीव साहलाई फोनमार्फत र पत्रमार्फत नै कार्यालय खोलेर देखाउन अनुरोध गरिसकेको नापीका प्रमुख भण्डारीको दाबी छ । उनले ठेकेदार कम्पनीलाई भुक्तानी गर्न यस आर्थिक वर्षमा बजेटसमेत नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७