कोरियाली कम्पनीले नेपालमै कार बनाउने


२ चैत्र २०७५, शनिबार

काठमाडौँ, २ चैत । दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले नेपालमै ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले नेपालमा एसेम्बलिङ उद्योग स्थापना गर्न उक्त कम्पनीलाई अनुमति दिएको छ । आजको कान्तिपर दैनिकमा समाचार छ ।

सन् २००१ मा स्थापना मोट्रेक्स कोरियामा स्थापित कम्पनी मानिन्छ । यो कम्पनीलाई बोर्ड बैठकले १० अर्ब ५४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरी नेपालमा एसेम्बलिङ प्लान्ट स्थापना गर्न अनुमति दिएको हो । उक्त विदेशी लगानी रकम प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेयताको सबैभन्दा ठूलो हो ।

‘अबको १८ महिनामा उद्योग स्थापना गरिसक्ने उसको योजना छ,’ बोर्डका एक अधिकारीले भने, ‘उद्योग स्थापनाको सुरुको वर्षमा २ हजार र पछि २० हजारवटा ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।’ कार, ठूला सवारी साधन उत्पादन गर्ने उसको प्रस्ताव छ । ‘विद्युतीय सवारीलाई नै प्राथमिकता दिने उसको प्रतिबद्धता छ,’ ती अधिकारीले भने ।

एसेम्बल प्लान्ट रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा राख्ने तयारी छ । उसले एक सय बिघा जग्गा उपलब्ध गराइदिन बोर्डमा प्रस्ताव पेस गरेको छ । ‘कोरियाबाट आएका कम्पनीका लगानीकर्ताले मोतिपुर औद्योगिक क्षेत्रको अवलोकनसमेत गरिसकेका छन्,’ बोर्डका ती अधिकारीले भने, ‘मोतिपुरको ८ सय बिघा जग्गामध्ये एक सय बिघा सायद उसले पाउनेछ ।’

मोट्रेक्सले नेपाली साझेदारीकोही पनि लिएको छैन । ‘तीन महिनाअघि उसले प्रस्ताव पेस गरेको हो,’ ती अधिकारीले भने, ‘छलफल र वार्ताका लागि कम्पनीका अधिकारीहरू सोझै हामीकहाँ आएका हुन् । हामीले कम्पनीको बृहत् विवरण हेरेर, बुझेर लगानी स्वीकृति दिएका हौं ।’

यसअघि नेपालमा गोल्छा समूहको हुलास मोटर्सले नेपालमै ४ पांग्रे सवारी उत्पादन गरेको थियो । केही सवारी साधन उत्पादन गरे पनि सफलता हासिल हुन सकेन । अहिले हुलासले आफ्ना उत्पादन बन्द गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७