३ करोड ३५ लाख ठग्ने कानुन व्यवसायी केन्द्रिय कारागार चलान


४ चैत्र २०७५, सोमबार
Gopal Siwakoti

काठमाडाैं, ४ चैत । विभिन्न उच्च तहका व्यक्तिहरुबाट ३ करोड ३५ लाख ठगी गरेको अभियोग लागेका कानुन व्यवसायी गोपाल शिवाकोटी ‘चिन्तन’ केन्द्रिय कारागार चलान भएका छन्

Gopal Siwakoti

ल क्याम्पस खोल्ने नाममा पूर्व न्यायाधीश, समाजसेवी र पत्रकारबाट रकम ठगी गरेका उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी जगन्नाथ देवलस्थित केन्द्रीय कारागार (भद्रगोल जेल) चलान भएका छन् ।

गोपाल शिवाकोटी र बद्रीकुमार थापा मञ्जु श्री एजुकेसनल एकेडेमी प्रालिका सञ्चालक सदस्य थिए । त्यसको सम्पत्ति मासेर विश्वासघात गरेको दाबीसहित उनीविरुद्ध परेको जाहेरीका आधारमा मुद्दा चलेको थियो । शिवाकोटी र थापाको मिलेमतोमा ठगी गरेको जाहेरी उनीहरू दुवैविरुद्ध परेको थियो ।

प्रालिका नामको २ करोड १० लाख ३० हजार, कलेजको जग्गा बेच्ने बहानामा क्रेता रामकुमारी प्रसाईंसँग बैना बापत लिएको ६४ लाख ८५ हजार र थापालाई प्रालिका लागि जग्गा खरिद गर्न दिएको ६० लाख रुपैयाँसहित कुल ३ करोड ३५ लाख १५ हजार रुपैयाँ ठगीको बिगो कायम गरिएको छ ।

शिवाकोटीका साझेदार थापाले प्रालिका लागि जाउलाखेलमा जग्गा किन्ने भन्दै कम्पनीको खाताबाट ६० लाख रुपैयाँ लिएर जग्गा अर्कैको नाममा पास गरेको भेटिएको छ । जग्गा बेच्न थापाले प्रसाईंलाई झुक्याएर लिएको ६४ लाख ८५ हजार रुपैयाँ बैना लिएपछि अर्कैलाई बेचेको देखिएको छ । शिवाकोटीले पत्नी कमला सिटौला शिवाकोटी र थापाले पत्नी कल्पना बुढाथोकीको नाममा चलअचल सम्पत्ति जोडेको अभियोग समेत उनीहरूमाथि छ ।

प्रालिका संरक्षक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सर्वोच्चका पूर्वन्यायाधीश प्राडा.पवनकुमार ओझा अध्यक्ष थिए । सर्वोच्चकै पूर्वन्यायाधीश प्राडा. भरतबहादुर कार्की, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हरिहर दाहाल, विश्वकान्त मैनाली, पत्रकार निमकान्त पाण्डे, प्राडा. सुरेन्द्र कोइराला, समाजसेवी कृष्णहरि मैनाली, शिवाकोटी र थापासहित संस्थामा ५३ जना सेयर सदस्य छन् ।

मञ्जु श्री एजुकेसनल प्रालिका नामबाट ल कलेजका निम्ति जग्गा खरिद गर्ने निर्णय भएपछि आफू र थापाले रकम उठाएको बयान शिवाकोटीले अदालतमा दिएका छन् । एकेडेमीको रसिद बनाउने र छाप शिवाकोटीले प्रयोग गर्ने गरेको भन्दै अभियुक्तमध्येका शेयर सदस्य थापाले समेत शिवाकोटीलाई बयानमा पोलेका छन् ।

‘उनीहरू व्यावसायिक ठग रहेछन् । पहिले चिन्न सकिएन । मेरो मात्रै १ करोड १५ लाख ठगेका छन्’, शेयरहोल्डर मैनालीले भने, ‘जनही १ लाखदेखि डेढ करोडसम्म ठगेको जानकारीमा आएको छ ।’

मैनालीका अनुसार थापाले ५ करोडसम्म र शिवाकोटीले विभिन्न बहानामा ३ करोडसम्म ठगेको बताए । छानबिनमा विभिन्न व्यक्तिसँग उठाएको २ करोड १० लाख निजी प्रयोजनमा खर्च गरेको देखिएको छ । प्रसाईंले बैना गरेको जग्गा पछि राजेन्द्र शाक्यलाई बेचिएको छ ।

‘निज प्रतिवादीहरूकै बयानबाट मञ्जु श्री एजुकेसनल एकेडेमीलाई विभिन्न व्यक्तिबाट रकम उनीहरूले उठाएको देखियो । रकम उठाउने जिम्मेवारी प्रालिले निजहरूलाई दिएको देखिएन’, न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासबाट पूर्पक्षका लागि थुनामा पठाउने आदेशमा उल्लेख छ, ‘मञ्जु श्री एजुकेसनल एकेडेमी शैक्षिक संस्थाका लागि संकलित रकम अन्य सञ्चालक एवं शेयर होल्डरलाई जानकारी नदिई संस्थालाई आपराधिक विश्वासघात गरेको देखियो ।’

जग्गा किन्न बैना दिने प्रसाईं र सेयरधनी सुरेन्द्रप्रसाद कोइरालाको जाहेरीका आधारमा उनीहरू पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालत मुद्दा शाखाका अधिकृत टीकासिंह खत्रीले अभियोगपत्रसाथ पेस तथ्य प्रमाणका आधारमा शिवाकोटी र थापा कसूरदार देखिएकाले पूर्पक्षका लागि कारागारमा पठाइएको बताए । ‘उहाँहरू सेन्ट्रल जेलमै हुनुहुन्छ’, खत्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७