अब सुदूरका गीतमा पनि ‘र्‍याप’


४ चैत्र २०७५, सोमबार
rj

कञ्चनपुर, ४ चैत । ‘र्‍यापर’ तथा सङ्गीतकार राजेन्द्र भट्ट (मिष्टर आरजे) ले पछिल्लो केही वर्षयता सुदूरपश्चिमका देउडादेखि यहाँका मौलिकता झल्किने गीतहरुमा ‘र्‍याप’ मिसाउन थालेपछि यहाँको साङ्गीतिक बजार तातेको छ ।

rj

काठमाडौँमा रहेर र्‍याप तथा सङ्गीत दिँदै आएका कञ्चनपुरको दोधारा चाँदनीका र्‍यापर राजेन्द्र भट्टले विगत चार वर्षयता सुदूरपश्चिमको भाषा (डोट्याली) लाई र्‍याप विधाबाट बजारमा ल्याउँदै आएका छन् ।

‘र्‍याप सङ्गीतभित्रको एउटा रुचाइएको विधा हो’, उनले भने, ‘र्‍याप युवा पुस्तालाई पनि भाषागत ज्ञानको राम्रो माध्यम बनेको छ ।’ सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा हुँदै आएका साङ्गीगतिक गतिविधिहरुमा डोट्यालीमा प्रस्तुत हुने र्‍यापले बजार छाएको उनी बताउँछन् ।

‘पहिले र्‍याप गीतहरु धेरैले बुझ्दैन थिए, अहिले हरेक उमेरसमुह माझ र्‍याप गुञ्जिने वातावरण बनेको छ’, उनले भने, ‘हरेक मेला–महोत्सवमा युवा पिँढीले अहिले र्‍याप मिसिएको गीत तथा देउडाहरु खुबै मन पराएका छन, नेपाली र सुदूरपश्चिमेली गीतमा गरी ५० भन्दा बढी गीतमा र्‍याप दिएको छु ।’

सुदूरपश्चिमको भाषामा तयार पारिएको गीत ‘धौलीको ब्याँ’ बोलको गीतमा मिष्टर आरजेले दिएको
र्‍याप पछिल्लो समय निकै चर्चामा रह्यो । युवा गायक चेतन बोहराले गाएको उक्त गीतमा र्‍यापर भट्टले सुदूरपश्चिमकै भाषालाई र्‍यापको मसला बनाएका छन् ।

तेरा आसरामी बस्सा बस्यै, जवानी उसै जान्या भइग्यो ।’
‘तुँलाई मेरी आफ्नो बनाउँन्या सपना सप्नै रइँग्यो ।’
‘दिमाखको बत्ती जला, थोक्कै लाज माणिहाल बन’
‘दक्दीकन तेरो बैनीको चेलोलै बा भण्या भइँग्यो ।’

दुई बर्षअघि बजारमा आएको उक्त गीतले युट्युबमा पनि बजार तताउन सफल भएको थियो । त्यसैगरी केही दिनअघि मात्रै बजारमा ‘सुनका बाला’ बोलको गीत ल्याएर आरजेले गायनको शुरुवात गरेका छन् । आरजेले उक्त गीत सुदूरपश्चिमको देउडा शैलीमा रहेको बताए । ‘देउडा शैलीको उक्त गीत युट्युव ‘ट्रेन्डिङ्ग’ मा पर्ने पहिलो गीत पनि हो’, उनले भने, ‘बजारमा आएको चार दिनमै चार लाखभन्दा बढीले युट्युबमा हेरिसकेका छन् ।’

त्यसैगरी युवा गायक तथा मोडल चक्र बमले बजारमा ल्याएको सुदूरपश्चिमका थुप्रै गीतहरुमा पनि डोट्याली र्‍याप समावेश गरिएको छ । सुदूरपश्चिमका गीतहरुमा डोट्याली र्‍याप पस्किनेहरु आरजे र अराजक केशवले एकछत्र कब्जा जमाएका छन् । महेन्द्रनगरकै र्‍यापर अराजक केशवले दशकअघि साङ्गीतिक क्षेत्रमा सुदूरपश्चिमको भाषामा रहेको ‘जुनकिरी’ बोलको गीतमा र्‍याप दिएका थिए ।

सुदूरपश्चिमका गीतहरुमा दशकअघिदेखि नै र्‍याप को प्रचलन भित्रिए पनि पछिल्लो तीन वर्षयता भने निकै चर्चाको शिखरमा रहेको सुदूरपश्चिम प्रदेशका अग्रज गीतकार एवं सङ्गीतकार राजेन्द्र शाहको भनाइ छ ।

‘र्‍यापले यहाँको भाषा, संस्कृति उत्थानमा टेवा पुर्‍याएको छ’, सुदूरपश्चिम प्रदेशका देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ ले भने, ‘युवा पिँढी पनि यसबाट उत्साही छ ।’ विसं २०५५ देखि सुदूरपश्चिमको सङ्गीत क्षेत्रमा सक्रिय धामीले बजारमा ल्याएको ‘बड्डा आयो डिजेमा’ बोलको गीत पनि निकै चर्चित बनेको छ ।

‘देउडा गीतमा ल्याया हजुर ठाडी भागा गाँया ।’
‘आजभोलिका तन्नेरीलाई डिजे गीत ल्याँया हजुर, डिजे गीत ल्याँया ।’
‘भेटभयो जमक्क, क्याँइ हुन्छौं गमक्क,
नाँँच नाँच छमक्क ।’
‘अब बड्डो आयो डिजेमा’

त्यसैगरी सुदूरपश्चिममा विगत डेढ दशकदेखि सुदूरपश्चिमका देउडाहरुमा नृत्य निर्देशन गर्दै आएका भीम थापाले पछिल्लो समय यहाँका गीतमा र्‍याप मिसाउने क्रम बढेको बताए । ‘देउडा सुहाउँदो ‘र्‍याप’ गीतमा मिसिएपछि अझ प्रभावकारी हुन्छ’, थापाले भने, ‘ र्‍यापका नाउँमा विकृति भने नियन्त्रण गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७