राजनीतिपछि रेखा थापाको पाइला अब क्रिकेटमा, बनिन् सुपर च्याम्पियन्सको मालिक


४ चैत्र २०७५, सोमबार
Rekha

काठमाडौं, ४ चैत । चलचित्रसँगै आफूलाई सामाजिक अभियान्ताको रुपमा उभ्याइरहेकी अभिनेत्री रेखा थापा नयाँ–नयाँ काम गर्न रुची राख्छिन् ।

Rekha

चलचित्र क्षेत्रबाट एक पटक राजनीतिमा प्रवेश गरेकी रेखाले अहिले फेरि क्रिकेट क्षेत्रमा हात हालेकी छन् । उनले तत्कालीन माओवादी केन्द्र हुँदै राप्रपासम्म आए पनि उनको राजनीतिक करिअर भने माथि उठ्न सकेन् । तर अहिले उनी अब क्रिकेट टिमको मालिक बनेकी छन् ।

नेपालमा आयोजना हुने तय भएको पहिलो महिला टी–ट्वेन्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको टोली, मालिक र मार्की प्लेयर सार्वजनिक समारोहमा रेखा टिमको मालिक भएको सार्वजनिक गरिएको हो । अब उनको क्रिकेट क्षेत्रको पाइला भने कसरी अगाडि बढ्छ हेर्न बाँकी नै छ ।

आयोजक एन.सी.एल. स्पोट्स प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताका लागि टोली, मालिक र मार्की खेलाडी सार्वजनिक गरेको छ । यही प्रतियोगिताका लागि अभिनेत्री थापा काठमाडौं सुपर च्याम्पियन्सको मालिक बनेकी हुन् । आयोजकले जनाएअनुसार प्रतियोगितामा विराटनगर रोअरीङ लायोनेश, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरी चार टोली सहभागी हुनेछन् ।

काठमाडौंको स्वामित्व रेखाले लिएकी हुन् भने विराटनगर टोलीको स्वामित्व अनुप सक्सेना, भैरहवाको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदी, धनगढीको हरी खनालले लिएका छन् । आयोजकले प्रतियोगिताको मिति सारेको छ । चैतको एकदेखि ९ गत्तेसम्म आयोजना हुने भनिएको प्रतियोगिता सोही समयमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आगामी वैशाखको ७ देखि १४ गतेसम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता खेल्न आवेदन दिएका इच्छुक खेलाडीलाई उनीहरूको स्तरअनुसार ए, बी र सी गरी तीन क्याटेगोरीमा वर्गीकरण गरिएको छ । अक्सनमा सहभागी हुँदा यीमध्ये ए क्याटेगोरीका खेलाडीले न्यूनतम ४० देखि अधिकतम ७५ हजार, बी क्याटेगोरीका खेलाडीले न्यूनतम २५ देखि अधिकतम ५० हजार तथा सी क्याटेगोरीका खेलाडीले न्यूनतम १५ देखि अधिकतम २५ हजारसम्म पाउने छन् ।

यस्तै आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । जुन अहिलेसम्म नेपालमा आयोजना भएका महिला प्रतियोगितामध्येको सर्वाधिक पुरस्कार हो । यस्तै दोस्रो हुने टोलीले पाँच लाख प्राप्त गर्नेछ भने प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट ठहरिने एक–एक खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७