भूमाफियालाई कीर्ते कागज बनाई दिने आठ कर्मचारी पक्राउ


५ चैत्र २०७५, मंगलवार
pakrau

बाँके, ५ चैत । भूमाफियालाई कीर्ते कागजात बनाई दिएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा प्रहरीले बाँके र बर्दियाका आठ कर्मचारीलाई पक्राउ गरेको छ ।

pakrau

गए राति जिल्ला प्रहरी कार्यालयको बाँकेको टोलीले मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द, मालपोत कार्यालय बाँकेबाट हाल हुलाक कार्यालयमा सरुवा भएका अधिकृत पुष्पा श्रेष्ठ, भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमिराज पोखरेललाई पक्राउ गरेको हो ।

उनीहरुले सरकारी कागजात कीर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गराएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।

ती कर्मचारी शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको आशङ्का देखिएकाले केही दिनभित्रै सबै तथ्य बाहिर आउने उनको भनाई छ । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७