काभ्रे गोलीकाण्ड : विप्लव समूहका चार कमाण्डर पक्राउ, काठमाडौं ल्याइयो


६ चैत्र २०७५, बुधबार

काठमाडौं, ६ चैत । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडाबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका चार कमाण्डर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Biplaw 1

काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा मंगलबार बेलुका विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार कमाण्डर पक्राउ परेको प्रहरीले जनाएको छ । तर, पक्राउ परेका उनीहरुको नाम गोप्य राखिएको छ ।

पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेको प्रहरी उच्च स्रोतको दावी छ । पक्राउ परेका उनीहरु घाइते नरहेको जनाउँदै उनीहरुलाई काठमाडौं ल्याई सकिएको स्रोतले जानकारी दिएको छ ।

मंगलबार राति काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो गोली हानाहान भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा विप्लव समूहले हतियार बनाइरहेको सूचनाका आधारमा परिचालित भएको थियो ।

उनीहरुलाई पछ्याउने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ । काभ्रे घटना र पक्राउ परेका कार्यकर्ताबारे विप्लव समूहबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

गएको फागुन २८ गतेको मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई आपराधिक समूह घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीं पक्राउ गर्ने नीति लिएको छ ।

प्रतिवन्ध लागेयता काभ्रे घटनाअघि विप्लव समूहका १७ जना नेता–कार्यकर्ता पक्राउ परिसकेको प्रहरीले जनाएको छ । अहिले देशभर विप्लव समूहको गतिविधिमा सुरक्षाकर्मीले निगरानी बढाएको छ । यस्तै कालिकोटमा विप्लवलाई खोज्नका लागि नेपाली सेना गाउँ पसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७